पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भारतीय विदेशमन्त्रीको सम्बोधन, केके भने ?

लोकपथ
39
Shares

भारतका विदेशमन्त्री डा एस जयशंकरले नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले आज भिडियो सन्देशमार्फत सम्मेलनलाई सम्बोधन गरेका हुन् ।
उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका अनुभवहरूबारे छलफल गर्ने बहुमूल्य अवसर प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा नेपाल सरकारलाई बधाई दिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पनि सहभागी थिए ।

आफ्नो सम्बोधनमा विदेशमन्त्रीले २०१५ जुन २५ मा नेपालको पुनर्निर्माण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले भूकम्पपीडितको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका थिए । यसको एक चौथाइ स्वास्थ्य, सांस्कृतिक सम्पदा, आवास र शिक्षा क्षेत्रमा उपयोग गर्न अनुदान सहायताको रूपमा दिने प्रतिबद्धता जनाइएको थियो।

विगत पाँच वर्ष वा सोभन्दा बढी अवधिमा भारतले नेपाल सरकारले पहिचान गरेका विभिन्न प्राथमिकताका क्षेत्रहरू अन्तर्गतको प्रतिबद्धतालाई उल्लेख्य रूपमा पूरा गरेको उनको भनाइ थियो ।
विदेशरमन्त्रीले भारतीय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजि सञ्चालित घरको पुनर्निर्माण सम्पन्न भएको पनि बताए ।

उनले स्वास्थ्य, शिक्षा र संस्कृतिका बाँकी क्षेत्रका आयोजना पनि अघि बढिरहेको बताए। नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लाहरूमा ७० विद्यालय र पुस्तकालय, १ सय ३२ स्वास्थ्य सुविधा र २८ सांस्कृतिक सम्पदा क्षेत्रका आयोजनाहरूको पुनर्निर्माणको लागि भारत सरकारले आर्थिक सहयोग गरिरहेको छ ।

उनले विनाशको भग्नावशेषबाट आफ्नो जीवन र समुदायको पुनर्निर्माण गरेका नेपाली जनताको साहसको प्रशंसा गरे। उनले यस वाट सिकेका पाठ र पुनर्निर्माणको क्षमतालाई समग्र विकासको प्राथमिकतामा मूलप्रवाहमा ल्याइने भएकाले त्यस्ता समर्पित प्रयासबाट नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न हुन लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?