शेखर कोइराला : राजनीतिक परिवर्तनको संवाहक

लोकपथ
1k
Shares

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका शेखर कोइराला अहिले सभापतिका लागि उम्मेदवारी दिने भएका छन्। उनले १३ औं महाधिवेशनमा शशांकलाई अघि बढाउनुपर्ने भएकोले आफू पछि हटेका थिए। अहिले उनले सभापतिमा उम्मेदवारी दिने भएपछि शशांकले पनि साथ दिने भएका हुन्। तर, केहीले भने शेखरलाई नयाँ उम्मेदवार भएको भन्दै आलोचना गरिरहेका छने भने अधिकांशले नयाँ अनुहार पार्टी नेतृत्वमा आउन लागेको भन्दै उत्साहित पनि बनेका छन्।

वीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका पुत्र हुन्, डा. शेखर कोइराला। राजनीतिमा ०४७ साल पछिमात्रै सक्रिय भए पनि ठूला राजनीतिक परिवर्तनहरुमा डा. शेखरले विशेषतः सन्देशवाहकको भूमिका खेल्दै आएका थिए। बीपी कोइरालालाई ०१७ साल पुस १ गते राजा महेन्द्रले अपदस्थ गर्दा शेखर कोइराला १० वर्षका थिए। बाल्यावस्थामै भएका कारण उनले ०१७ साल र त्यसपछिका पञ्चायतविरोधी संघर्षहरुमा खासै भूमिका खेल्न पाएनन्।

पञ्चायत स्थापना भएको दुई दशकपछि नेपालबाट डाक्टरी पढ्न दिल्ली पुगेको युवकलाई भारतीय जनता दलका तत्कालीन अध्यक्ष चन्द्रशेखरले आफ्ना एक सहायक मार्फत् घरमा बोलाएका थिए। ती युवकलाई लिएर चन्द्र शेखर तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईकहाँ पुगे। ‘यिनै हुन्, शेखर कोइराला, जो काठमाडौँ जानेछन्’, चन्द्रशेखरले प्रधानमन्त्री देसाईलाई भनेका थिए।

केहीबेरमा मोरारजीका सहायक दुईवटा खाम लिएर आइपुगे। एउटा खाममा काठमाडौं जाने हवाइ टिकट थियो, अर्कोमा चाहिँ नेपालमा नजरबन्दमा रहेका पूर्वप्रधानमन्त्री वीपी कोइरालालाई लेखिएको चिठी थियो।

उनी काठमाडौं आएर उक्त चिठी बीपीलाई दिए, बीपीले उनलाई सोधे, अब कहिले फिर्ता जान्छौ? ‘केही काम छ भने बस्छु, नत्र मलाई पढ्न फर्किनु छ’ शेखरले वीपीलाई जवाफ दिए।

‘बीपीले शेखरलाई भने, उसोभए एउटा नोटबुक र पेन किनेर ल्याऊ, म जजसलाई भेट भन्छु, उसलाई गएर भेट र उनीहरू के भन्छन् टिपोट गरेर ल्याऊ।’

वीपीको यस्तो निर्देशनपछि शेखर तत्कालै दिल्ली फर्केनन्। काठमाडौंमै बसेर उनले त्यस बखत नाम चलेका हस्तीहरूलाई भेटे गरे। र वीपीले भने झैँ उनीहरुको सन्देशवाहकको काम गरे। उनी आफूले भेटेका मान्छेहरुले भनेको कुरा टिपोट गर्थे र वीपीलाई लगेर सुनाउँथे।

शेखरले अब पढ्नका लागि दिल्ली र्फकन्छु भन्दा वीपीले उनलाई गिरिजालाई खोज्न र उनको सन्देश सुनाउन लगाए। डा. शेखरले दिल्ली फर्किए र गिरिजालाई फरबेजगञ्जमा भेटेर वीपीको सन्देश सुनाए।’

गिरिजालाई भेटेर वीपीको सन्देश सुनाएपछि उनले शेखरलाई फेरि काम अर्‍हाए। उनले ०३६ सालको आन्दोलन बन्द गर्नुपर्छ भनेर लेखेर पठाए। त्यही समय विसं ०३५ साल चैत २२ गते पाकिस्तानी पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैनिक सरकारले भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजायँ गरेको थियो। यो खबरले नेपालको पञ्चायती व्यवस्थामा ठूलै खैलाबैला मच्चिएको थियो । शेखर निरन्तर बीपीको सन्देशबाहक बनिरहेका थिए।

भुट्टोलाई गरिएको सजायँको विरोधमा काठमाडौँमा विद्यार्थीहरूले जुलुस निकालेका थिए। जुलुसले उग्र रूप लिँदा तत्कालिन शाही नेपाली वायुसेवा निगमको नयाँ सडकमा रहेको भवनमा पनि क्षति पुग्यो। जुलुस नियन्त्रण गर्न प्रहरी परिचालन गरियो।

पाकिस्तान सरकारविरुद्ध सडकमा उत्रिएका विद्यार्थी नेताहरूले यो आन्दोलनको प्रयोग पञ्चायती व्यवस्था विरूद्ध गरे। उनीहरुले नेपालमा बहुदलीय व्यवस्थाको माग सशक्त रूपमा अघि सारे।

जेठ महिना लाग्दै गर्दा आन्दोलन देशका विभिन्न भागहरूमा फैलिसकेको थियो। ०३६ साल जेठ ९ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था र बहुदलबीच जनमत संग्रह गराउने घोषणा गरे। ०३७ सालमा जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्था विजयी भयो। वीपीले जनमत संग्रहको परिणाम स्वीकार गरे। त्यसको दुई वर्षपछि ०३९ सालमा क्यान्सरका कारण वीपीको निधन भयो।

पञ्चायतको अन्त्य भई ०४६ सालमा बहुदलीय व्यवस्था आउँदा डा. शेखरले दोस्रोपटक महत्वपूर्ण क्षणमा महत्वपूर्ण व्यक्तिहरूको ‘म्यासेन्जर’ को भूमिका खेल्ने मौका पाए। यो मौका डाक्टर नभएको भए उनले शायदै पाउने थिए।

डा. शेखरले भारतीय प्रधानमन्त्रीलाई कोशी अञ्चल अस्पतालको क्षमतावृद्धिका लागि सहयोग गर्न आग्रह गरे। तर, जवाफमा चन्द्रशेखरले भने, ‘मागना है तो हमारे मित्र, वीपी के नाम से मेडिकल कलेज मागो।’

केही समय पाल्पाको मिसन अस्पतालमा काम गरेपछि भारतमा उच्च शिक्षाको पढाइ सिध्याएर डा. शेखर बिराटनगरको कोशी अस्पतालमा काम गर्थे। बहुदल आउनुअघि उनले खुलेर बहुदलको समर्थनमा क्याम्पेनिङ गरे। बहुदल आउने बेलाको जनआन्दोनका समयमा उनी कोशी अस्पतालमै कार्यरत थिए।

जनआन्दोलनमा डा. शेखरले खुल्लारुपमा सक्रिय भूमिका नखेले पनि भित्री रुपमा पार्टीलाई निकै ठूलो सहयोग पुर्‍याए। भारतमा बस्दा खेलेको म्यासेन्जरको भूमिकाले डा. शेखरलाई राजनीतिमा मात्रै होइन, विकास निर्माणमा पनि मद्दत गर्‍यो।

औद्योगिक नगरी विराटनगरमा ०४७ साल फाल्गुन ३ गते शुक्रबारका दिन विशेष चहलपहल थियो। प्रजातन्त्र प्राप्तिमा विशेष योगदान पुर्‍याएको शहरमा एकजना विशेष पाहुना आउँदै थिए। उनी थिए भारतका तत्कालीन प्रधानमन्त्री चन्द्र शेखर, जसले ०३६ सालमा डा. शेखरलाई वीपीको पत्रवाहक बनाएका थिए ।

विराटनगरमा चन्द्र शेखरको अभिनन्दन कार्यक्रममा बोल्दै डा. शेखरले भारतीय प्रधानमन्त्रीलाई कोशी अञ्चल अस्पतालको क्षमतावृद्धिका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर, जवाफमा चन्द्रशेखरले भने, ‘मागना है तो हमारे मित्र, वीपी के नाम से मेडिकल कलेज मागो १’

भारतमा चन्द्र शेखरको कार्यकाल छिटै नै समाप्त भयो। तर, उनले आफूले गरेको वाचा भुलेनन्। भारतमा चाँजोपाँजो चन्द्र शेखरले मिलाए। यता नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई डा. शेखरले सन्देश दिए कि वीपीका नाममा मेडिकल कलेज खोल्न भारत तयार छ।

केही महिनामै युद्धस्तरमा काम शुरू भयो। प्रपोजल तयार पारियो। नेपालतर्फको जिम्मेवारी डा. शेखर कोइरालाले पाए र बीपीको नाममा अस्पताल स्थापना भयो। त्यसैगरी द्वन्द्व कालमा पनि गिरिजा र प्रचण्डलाई मिलाउने काममा पनि शेखरको भूमिका निकै महत्वपूर्ण छ।

माओवादी जनयुद्ध ०५८ सालतिर उत्कर्षमा पुगेको थियो। कम्युनिष्टहरूलाई सधैँ हेयको दृष्टिले हेर्ने गिरिजाको मन एकाएक परिवर्तन भयो र उनी माओवादीहरूसँग आफैं वार्ता गर्ने निर्णयमा पुगे। गिरिजाको मन परिवर्तन हुनमा तत्कालीन राजा ज्ञानेन्द्रको पेलाइ निमित्त कारण बनेको थियो।

माओवादी नेतृत्व भारतमा रहेको र भारत आउजाऊ गर्दा अरूले शंका गर्लान् भनेर गिरिजाले आफ्ना भतिज शेखरलाई प्रयोग गरे। त्यसपछि विस्तारै आफ्ना विश्वास पात्र कृष्णप्रसाद सिटौला र ‘भारतले पत्याएका’ अमरेशकुमार सिंहलाई समेत गिरिजाले शेखरका साथमा लगाए।

डा. शेखर सिलसिलामा भारत आउजाउ गरिरहने भएकाले उनीमाथि तत्कालीन सरकारले शंका गर्ने ठाउँ थिएन। उनी खुलेर राजनीतिमा लागिसकेका थिएनन्। शेखरको मावली घर र दाजुको घरसमेत भारतमै भएकाले उनका लागि दिल्ली खासै ‘दूर’ थिएन।

डा. शेखरले गिरिजा र प्रचण्डवीच ‘म्यासेन्जर’को भूमिका निर्वाह गरे। ०६२ मंसिर ७ मा १२ बुँदे सम्झौता हुँदा गिरिजासँगै डा. शेखर दिल्लीमा थिए। काठमाण्डौँबाट निस्कँदा गिरिजाले आफू स्वास्थ्य परीक्षणका लागि डा. शेखरलाई लिएर दिल्ली गएको बताएका थिए। गिरिजा केहीबेर दिल्लीस्थित नेपाली दूतावासमा रोकिएका थिए। र, त्यहाँबाट माओवादीको सम्पर्कमा पुगेका थिए।

शेखरले यसरी पञ्चायतीविरोधी आन्दोलन होस्, प्रजातन्त्र पुनस्र्थापना होस् अथवा पछिललो सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउने कुरामा होस्, शेखरको भूमिका र उनले पुर्याएको योगदान भने अतुलनीय र अविष्मरणीय रहेको छ। उनको यही भूमिकालाई मध्यनजर गर्दै अबको कांग्रेसको नेतृत्वमा शेखरलाई जिताउनुपर्ने आवाजहरु पनि बुलन्द बन्दै गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?