बुटवलमा देखिएको विभिन्न समस्या समाधान गर्न सरोकार भएकाले दबाब दिएका छन् । उनीहरुले खानेपानी, सडक र चुरेको पहिरोको समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
बुटवलको विकास निर्माणमा भएको ढिलासुस्तीसम्बन्धी विभिन्न सङ्घसंस्थासँग आज नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले गरेको छलफलमा सरोकार भएकाले नीतिगत त्रुटि हुँदा त्यसको मार सबैलाई परेको बताए ।
बुटवलका वरिष्ठ होटेल व्यवसायी माधव नेपालले कामको ठेक्का लिने ठेकेदारले लापर्वाही गर्दा कारबाही हुने नीतिगत संयन्त्र भए मात्रै समस्याको समाधान हुने बताए । शिक्षक तथा समाजसेवी लोकनाथ उपाध्यायले सडकको अवस्था जर्जर भएका कारण यसको मार सडक छेउछाउमा बस्ने नागरिकलाई भएको उल्लेख गरे । रुपन्देही उद्योग सङ्घ बुटवलका अध्यक्ष माधव पौडेलले सडकका कारण बुटवलको पहिचान र प्रतिष्ठामा आँच आएको बताए ।
नेपाल औषधि व्यवसायी सङ्घ बुटवलका अध्यक्ष सुरज भट्टराईले धुलाम्मे सडकका कारण बुटवल अस्पताल लाइनमा रहेकालाई बढी सास्ती भएकाले स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने बताए । पश्चिम नेपाल बस व्यवसायी सङ्घका उपाध्यक्ष जीवन बञ्जाडेले सडक र खानेपानीको समस्या समाधानमा सबैको साझा धारणा निर्माण हुनुपर्ने बताए । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले बुटवलमा देखिएका समस्यालाई सम्बन्धित कार्यालयलाई अल्टिमेटम दिएर सङ्र्घषका कार्यक्रम सञ्चालन हुने बताए ।
जिफन्टले चुरे पहाडको पहिरोले ज्योतिनगर, आर्दशनगर, लक्ष्मीनगर, जितगढीलगायतका क्षेत्रमा पारेको असरका सम्बन्धमा सङ्घीय, स्थानीय र प्रदेश सरकार उदासीन भएको आरोप लगाएको छ । त्यस्तै बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्म करिब छ किलोमिटर सडक र झुम्साको खानेपानी बुटवल ल्याउने योजना अलपत्र हुँदा बुटवलमा खानेपानीको समेत समस्या देखिएको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया