शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ विमोचन

RSS
98
Shares

काठमाडौं । लेखक शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा कांग्रेसका युवानेता गगनकुमार थापाले उक्त पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा नेता थापाले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको पुस्तक विमोचनले महाधिवेशनमा छलफल र बहस हुने बताए । उनले कांग्रेस कसले सुधार्छ भन्दा पनि कांग्रेस सुध्रिएन भने के हुन्छ भन्ने प्रश्नचिह्न खडा भएको बताए ।

नेता थापाले आगामी निर्वाचनमा कांग्रेस क्रियाशील सदस्यता र कांग्रेसलाई यसअघि भोट हालेका बाहेक १५ लाख व्यक्तिलाई कांग्रेससँग जोड्ने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने उल्लेख गरे । पार्टी स्थापनाको समयमा कांग्रेसमा स्वस्फूर्त कार्यकर्ता थपिए पनि पछिल्लो समय पार्टीप्रति जनताको वितृष्णा पैदा हुँदै गएको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले विधानको अक्षरश पालना, नियमित बैठक, समसाययिक विचार र वित्त व्यवस्थापन गर्ने नेतृत्वले मात्र कांग्रेस सुधार गर्न सक्ने बताए । ‘पार्टी सुध्रिए राजनीति सुध्रिन्छ, राजनीति सुध्रिए देश सुध्रिन्छ’, उनले भने ।

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले विचार, सङ्गठन र नेतृत्वको सम्मिश्रणबाट पार्टी चल्नुपर्ने बताए । विचार र नीति शून्य भयो भने पार्टी बिग्रिने उनको भनाइ थियो । उनले कसले सुधार्छ कांग्रेसभन्दा पनि कसले बिगार्यो कांग्रेस भन्नेबारे खोज्नुपर्ने बेला भएको बताए ।

नेपाली कांग्रेस लुम्बिनीका नवनिर्वाचित सहमहामन्त्री निमा गिरीले विधानको प्रयोग संस्थागत गर्ने नेतृत्व कांग्रेसलाई आवश्यक रहेको बताए । कांग्रेसभित्र महाधिवेशनको समयमा किन क्रियाशील सदस्यता विवाद हुन्छ यसलाई समयमा नै टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस बर्दियाका पूर्वसभापति सञ्जय गौतम, नेविसंघका महामन्त्री युवराज पाण्डेयलगायतले पार्टीको क्रियाशील सदस्यता वितरणमा जिल्ला सभापतिलाई अधिकार नदिँदा अहिलेको अवस्था आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?