‘यो सम्झिने मन छ, म बिर्सु कसोरी’

यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ ए जाने नि निठुरी’…

गीतमा भनेझै आज सारा नेपालीले आज स्वरसम्राट नारायण गोपाललाई भनिरहेका छन् ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी, तिमी नै भनिदेउ ए‘ जाने नि निठुरी’ ।

मंसिर १९ अर्थात् आज नेपाली साङ्गीतिक क्षेत्रका दिग्गज व्यक्तित्व स्वरसम्राट नारायण गोपाल यस धर्तीबाट बिदा भएको आज ३१ वर्ष पूरा भएको छ । उनले उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा २०४७ साल मंसिर १९ गते आफ्नो अन्तिम सास फेरेका थिए ।

नारायण गोपालले आफ्नो जीवनकालमा १३७ लोकप्रिय गीत दिएका छन् । धेरै विधामा गित गाएका नारायण गोपाल माया प्रेमका गीत भने निकै चर्चामा रहेका छन् । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, झरेको पात झैँ भयो, ‘उजाड मेरो जिन्दगी’ ‘मलाई नसोध कहाँ दुख्छ घाउ, गित उनको सदाबाहार गीतहरु हुन् ।

नारायण गोपालले माया पिरती, आधुनिक, लगायत देश भक्तिका गीतहरुपनि नेपालीजनलाई उपहार दिएका छन्। उनको ‘जाग लम्क चम्क हे नौजवान हो’ आज पनि नेपाली जनको जनजिब्रोमा झुण्डिएको छ ।

गीतसँगै ‘नारायण गोपाल एकल साँझ’ले उनलाई आफ्नो जीवनकालमा निकै चर्चाको शिखरमा पुर्‍याएको थियो ।

राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रूपमा कार्यरत थिए । तत्कालिन राजपरिवारलाई पनि उनले आफनो स्वारले लठ्ठ पारेका थिए । उनको आवाज सुन्न राष्ट्रिय नाचघरमा राज परिवार समेत आउने गर्दथे।

नारायण गोपालका केही रोचक प्रसंगहरु :

खानाका शौखिन :

नारायण गोपाल खानाको निकै शौखिन थिए । उनलाई काँचो र साधेको मासु निकै मन पर्थ्यो । अमिलो पिरो मन पराउने गोपाललाई स्वर बिग्रने डरले धेरैलै धेरै अमिलो पिरो नखान अग्रह गरेपनि उनी निर्धक्क खाने गर्दथे ।

मदिरा र चुरोट : 

गायन क्षेत्रलाई गरे जस्तै नारायण गोपाल मदिरा र चुरोटलाई पनि माया गर्थे । उनले धेरै नै मदिरा र चुरोट पिउने गरेका थिए ।

यसरी पाए ‘स्वरसम्राट’को उपनाम : 

२०२८ सालमा पोखरामा एक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कवि भुपी शेरचनको पनि सहभागिता थियो । कार्यक्रमकै क्रममा कवि शेरचनले नारायणगोपाललाई स्वर सम्राट भनेर सम्बोधन गरेका थिए । त्यहि दिनबाट उनको उपनाम स्वर सम्राट रहन गएको हो ।

कलाकार हरिवंश आचार्यले आफ्नो आत्मकथा ‘चिना हराएको मान्छे’मा पनि नारायण गोपालसँगको धेरै प्रसंगहरु जोडेका छन् जसमध्ये एक हो राजदरबारमा गीत गाएको प्रशंग । तत्कालिन राजा विरेन्द्रले नारायण गोपाललाई बेलुका ७ बजे दरबारमा गीत गाउनका लागि बोलाएछन् । तर दरबारमा राजाले भनेको कुरा धेरै जनाको माध्यमबाट नारायण गोपालसँम्म आइपुग्दा ५ बजे राजाले गीत गाउन दरबारमा बोलाएको भन्ने खबर उनको कानमा परेछ ।

उनी आफ्नो तबल्चीसहित ५ बजे दरबार पुगे तर राजा आएनन् । ६ बज्दा पनि राजा नआएपछि नारायण गोपालले दरबारका द्वारपालहरुलाई नारायण गोपाल आएको थियो धेरैबेर कुर्दापनि राजा आउनु भएन त्यसैलै निस्कियो भन्दिनु । त्यसो भनेर उनी दरबारबाट बाहिरिएका थिए ।

नारायण गोपाल चोक : 

नारायण गोपालको निधनपछि उनको सम्झनामा उनका टोलबासीहरुले काठमाडौंको महाराजगञ्जमा उनको शालिक बनाएका छन् । उनको शालिक त्यहाँ राखेपछि उक्त ठाँउको नाम नै नारायण गोपाल चोक रहन गयो ।

विसं १९९६ मा काठमाडौंको किलागलमा बुबा आशा गोपाल र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा जन्मिएका नारायण गोपालले आफ्नो जीवनभर करिब एक हजारभन्दा बढी गीत रेकर्डिङ गराए। उनी सबैभन्दा सफल तथा ख्यातिप्राप्त नेपाली गायक हुन् । भौतिक रुपमा उनी यस संसारबाट बिदा भएपनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?