जसको जीवन बाँसुरीको धुनसँगै गुञ्जायमान छ

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन सकिन्छ ।’

नेपालको पहिलो पुस्ताका बाँसुरीवादक जेबी लामा आफ्नो सुरुवाती र अहिलेको समयलाई तुलना गर्नुपर्दा यसो भन्छन् ।

नेपाली गीत रेकर्डिङको सुरुवाती चणदेखि नै बाँसुरी बजाउँदै आएका लामा ६८ वर्षको उमेरमा पनि उत्तिकै ऊर्जाका साथ बाँसुरी बजाइरहेका छन् ।

औपचारिक रूपमा २०३५ देखि नेपाली गीतमा बाँसुरी बजाउँदै आएका उनको व्यस्तता अझै उस्तै छ । बिहानैदेखि उनी स्टुडियो र अन्य विभिन्न कार्यक्रममा पुग्छन् ।

अहिले उनी बाँसुरीवादनको ४३ वर्षे यात्रामा छन् । यति लामो यात्रामा उनले कहिल्यै थकानको महसुस गरेका छैनन् ।

‘आफ्नो रहरको क्षेत्र भएर होला जति बजायो उति नै आनन्द र रमाइलो लाग्छ’ उनी भन्छन्, ‘बरु यत्तिकै बस्नुपर्‍यो भनेचाहिँ छटपटी हुन्छ । ’

२४/२५ वर्षको उमेरमा काठमाडौं आएका उनले ३/४ महिनामै रेडियो नेपालको करार सेवामा प्रवेश गर्ने अवसर पाए । जहाँ २२ वर्ष बितेको पत्तै पाएनन् ।

सानैबाट संगीतमा रुचि राख्ने लामाले बाँसुरी बजाउन गाउँघरमै सिके । काठमाडौं आएपछि त गोपालनाथ योगी र गोपाल योञ्जनको प्रेरणा पाए । संगीत सिक्ने र बुझ्ने मौका पाए ।

‘सानैदेखि बजाउँदै आए पनि अलि बुझ्न थालेपछि झन् मजा पनि आयो’, उनी भन्छन्, ‘बाँसुरी बजाउन थालेपछि आफूले इज्जत पनि पाएको महसुस भयो, जसले मलाई अगाडि बढ्न प्रेरणा मिल्यो ।’

अहिले धेरै बाजा कम्प्युटरबाटै बजाउन सकिन्छ । तर बाँसुरी भने लाइभ नै बजाउने र सुन्नेहरूको जमात बाक्लिँदै गएको छ ।

जेबी लामा मात्र होइन हिजोआज त नेपालमा बाँसुरीमै आफ्नो जीवन खोज्नेहरूको संख्या बाक्लिँदै गएको छ ।

नेपालमा व्यावसायिक बाँसुरीवादन

व्यावसायिक बाँसुरीवादनलाई हेर्ने हो भने यसको इतिहास धेरै पर छैन । नेपाली संगीतसँगसँगै बाँसुरीवादनको पनि विकास भएको हो । जेबी लामा र प्रेमलाल औतारी यसका प्रत्यक्ष साक्षी छन् । जो नेपालमा व्यावसायिक बाँसुरीवादनको पहिलो पुस्ताको प्रतिनिधित्व गर्छन् । यस अर्थमा कि नारायणगोपाल, बच्चु कैलाशका पालादेखि हालसम्म पनि उनीहरू बाँसुरीको धुन निकालिरहेका छन् ।

त्यसो त धनबहादुर गुरुङ, नगेन्द्र राई, गोपालदेव घतानी, सञ्जिव मैनाली, उमेश पण्डितलगायतले पनि अहिले नेपालका अधिकांश गीतमा र स्टेजमा बाँसुरी बजाउँदै आएका छन् ।

राम्रोसँग सिकेर व्यावसायिक रूपमा नै बाँसुरी बजाउँदै आएका यी अधिकांश बाँसुरीवादक आफ्नो कर्ममा सन्तुष्ट छन् ।

एउटा गीतबाट १ हजारदेखि १५ सयसम्म आम्दानी

अहिले एउटा गीतमा बाँसुरी बजाएको एक हजारदेखि १५ सयसम्म पर्छ । यही हिसाब गर्ने हो भने पनि औसतमा दिनको १० वटा गीतमा बाँसुरी बजाउँदा १० देखि १५ हजार आम्दानी हुने देखिन्छ । यो भनेको अवसर पाउँदा महिनाको ३ लाखभन्दा माथि हो ।

नयाँ पुस्तामा बाँसुरीको लोकप्रियता बढेसँगै बाँसुरी सिकाउने ठाउँहरू भरिँदै आएका छन् । यसले बाँसुरी सिकाउनेका लागि पनि राम्रो अवसर दिएको छ ।

धेरै विद्यालयले अहिले बाँसुरी सिकाउने कक्षा राखेका छन् । राम्रो सिकेकालाई विद्यालय पनि आर्थिक हिसाबले राम्रो अवसर बन्दै आएको छ ।

विभिन्न कार्यक्रममा हुने लाइभ प्रस्तुति पनि अहिले आम्दानीको बलियो स्रोत बनेको छ ।

विभिन्न मेला, पर्व, विवाह, उत्सवलगायतका सबै ठाउँमा अहिले बाँसुरीले राम्रो स्थान पाउँदै आएको छ ।

अहिले युट्युब पनि बाँसुरीवादकका लागि आम्दानीको स्रोत बनेको छ ।

होटल, रेस्टुरेन्ट, दोहोरी साँझ, गजललगायतका ठाउँमा पनि सांगीतिक माहोल बढेसँगै बाँसुरीवादकका लागि समेत राम्रो प्लाटफर्म बन्दै आएको छ ।

आधुनिक प्रविधि वरदान साबित

आधुनिक प्रविधिले अन्य क्षेत्रमा जस्तै बाँसुरीवादन र यसको विकासमा पनि धेरै ठूलो टेवा पुर्‍याएको छ । करिब ४० वर्षदेखि बाँसुरी सिक्दै र सिकाउँदै आएका वरिष्ठ बाँसुरीवादक जीवन आले आफ्नो कला देखाउन आधुनिक प्रविधि वरदान साबित भएको बताउँछन् ।

धनबहादुर गुरूङ, नगेन्द्र राई, गाेपाल घतानी, सञ्जिव मैनालीलगायत धेरै राम्रा बाँसुरीवादक जन्माइसकेका आलेले लोकपथसँग कुरा गर्दै भने, ‘पहिला हाम्रो पालामा अवसर पाउनै गाह्रो थियो, अहिले त त्यस्तो छैन, प्रविधिले हामीलाई धेरै कुरा दिएको छ ।’

अस्ट्रेलियाबाट तुल घले, अमेरिकाबाट इमान थापा, कोरियाबाट रबित मगर, जापानबाट मनु थापा र मलेसियाबाट राज किराँत सुनुवार नगेन्द्र राईसँग बाँसुरीको कक्षा लिँदै ।

प्रविधिकै कारण विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड र लकडाउनको समयमा समेत सिक्ने र सिकाउने कार्यमा बाधा भएन । अनलाइनकै माध्यमबाट भए पनि आफ्ना कक्षा निरन्तर अघि बढिरहेको उनले बताए ।

प्रविधिले नै थोरै समयमा धेरै गीतमा बाँसुरी बजाउन सकिने भएकाले बाँसुरीवादकलाई आर्थिक रूपमा समेत सबल बनाएको बताउँछन् जेबी लामा । पहिले एउटा गीतमा बजाउन लाग्ने समयमा अहिले १० वटाभन्दा बढी गीतमा बजाउन सकिने उनको अनुभव छ ।

लामा मात्र होइन, धनबहादुर गुरुङ पनि प्रविधिकै कारण अहिले बाँसुरीलाई बुझ्न र सुन्नेहरू बढ्दै गएको बताउँछन् ।

‘अहिले प्रविधिले बजाउने, सिक्ने, सिकाउने र सुन्नेका लागि समेत धेरै सहज बनाइदिएको छ’, उनले भने, ‘युट्युबलगायतका सामाजिक प्लेटफर्महरूले अहिले सबैलाई सहज बनाएको छ, हाम्रा पालामा यस्तो अवसर थिएन ।’

प्रविधिले अरु धेरै कुरालाई जस्तै कलाकारिता क्षेत्रलाई पनि सहज बनाएको बाँसुरीवादक नगेन्द्र राईको पनि बुझाइ छ । प्रविधिको विकासले गर्दा नै आफ्नो कला देखाउनलाई प्लाटफर्म खोज्न कहीँ धाइरहनु नपर्ने उनले बताए ।

‘प्रविधि हाम्रै हातमा छ, सही ढंगले प्रविधिको सदुपयोग गर्न सके हाम्रो लागि ठूलो अवसर छ’, उनले भने, ‘तर यो सबै हामी आफैँमा भर पर्छ ।’

नयाँ पुस्ताको उत्तिकै आकर्षण

बाँसुरीवादनमा अहिलेका नयाँ पुस्ता पनि उत्तिकै आकर्षित भएका छन् । सबैखाले गीतमा बाँसुरी लगभग अनिवार्य भएकाले गीतमा भोकलपछि बाँसुरीमा नै प्रमुख र महत्वपूर्ण रहेको दाबी गर्छन् जीवन आले ।

बोक्न सजिलो र सहज बाजा भएकाले दिनानुदिन बाँसुरीको लोकप्रियता बढेको बुझाइ १० वर्षदेखि बाँसुरी उत्पादन र व्यापार गर्दै आएका रविन्द्र अधिकारीको छ ।

तर, जे कुरा पनि छिटो र हतारमा खोज्ने गर्दा सही प्रतिफल पाउन गाह्रो भएको लामो समयदेखि संगीत सिकाउँदै आएका राईको बुझाइ छ ।

उनले भने, ‘हतार र छिटो भन्ने कुरा म्युजिकल विशेषता होइन, संगीत भनेको धेरै ठूलो कुरा भएकाले धैर्य नै सबैभन्दा ठूलो कुरा हो ।’

अहिले विद्यालयमा समेत बाँसुरी सिकाउन थालिएकाले पनि नयाँ पुस्ता यस क्षेत्रमा बढी आकर्षित भएको हुनसक्ने उनले बताए ।

बाँसुरी मात्र नभएर संगीतको जुनसुकै विधा सिक्न आउने नयाँ विद्यार्थीलाई दृढ इच्छाशक्ति र धैर्यता लिएर आउन उनको सुझाव छ ।

सुज्ञान साधनालय मैतीदेवीमा नगेन्द्र राई बाँसुरीको कक्षा लिँदै ।

संगीत गुरुकुलकाे खाँचाे

संगीत भनेको साधना भएकाले यसमा धेरै साधना र धैर्यको आवश्यकता रहेको बाँसुरीवादक राईको बुझाइ छ । १८ वर्षयता बाँसुरी सिक्दै आएका उनी नेपाली बाँसुरीवादनमा चर्चित छन् । उनले अमर गुरुङ, फत्तेमानको लाइभदेखि हालको आधुनिक रेकर्डिङ अनि शास्त्रीय प्रस्तुतिमा निरन्तर बजाइरहेका छन् ।

औसतमा दिनको १० वटाभन्दा बढी गीतमा बाँसुरी बजाउँदै आएका उनी बाँसुरीलाई मनोरञ्जन मात्र नभएर संस्कारको रूपमा विकास गर्नुपर्ने बताउँछन् ।

‘बाँसुरीवादनलाई मनोरञ्जन मात्र नभएर संस्कारको रूपमा विकास गर्नुपर्छ’, उनले भने, ‘अझ यसको सम्बन्ध मोक्षसँग छ, यसको सिकाइलाई फराकिलो बनाउँदै लैजान संगीत गुरुकुलको आवश्यक छ । ’

नगेन्द्रले आफूहरू संगीत गुरुकुलको परिकल्पनामा लागेको र धेरैतिरबाट सपोर्ट भएकाले छिटै सार्थक पार्ने कुरा पनि लोकपथलाई बताए ।

 

‘म्युजिकल माइन्ड’

यही कुरामा अलि फरक बुझाइ छ बाँसुरीवादक धनबहादुर गुरुङको । सफलता मिल्नका लागि धैर्यता त महत्वपूर्ण छँदै छ, तर त्यसका लागि म्युजिकल माइन्ड हुन अत्यन्त जरुरी रहेको उनको बुझाइ छ ।

‘म्युजिक भनेको सोचेर हुने कुरा होइन, यो सर्टिफिकेट चल्ने विधा पनि होइन, यसका लागि म्युजिकल माइन्ड हुन अत्यन्तै जरुरी छ’, उनले भने ।

जीवन आलेले पनि यही कुरालाई जोड दिए । लोकपथसँग कुरा गर्दै उनले भने, ‘धैर्यताबिना कुनै क्षेत्रमा पनि टिक्न सकिन्न, म्युजिकमा त झन् कल्पनै नगरे हुन्छ । ’

उनले हतारमा उपलब्धि खोज्ने धेरै आउने र जाने गरेको तर धैर्य गर्नेले राम्रै अवसर पाएको बताए ।

शास्त्रीय संगीत अर्थात् मेरुदण्ड

बाँसुरीवादनमा आफ्नो भविष्य खोज्ने हो भने शास्त्रीय संगीत सिक्न जरुरी छ । शास्त्रीय संगीतले अरु जुनसुकै संगीत गाउन र बजाउन बलियो आधार बनाउने धारणा छ जीवन आलेको ।

उनले भने, ‘कुनै पनि किसिमका गीत गाउन वा बजाउन शास्त्रीय संगीत सिक्न जरुरी हुन्छ । यसले आफ्नो कलालाई माझेर बलियो बनाउँदै जान्छ ।’

अहिले नेपालमा मात्र नभएर भारतमा समेत गएर बाँसुरी सिक्नेहरूको संख्या बढ्दै छ । यसले प्रतिस्पर्धा झनै बढाउँदै लगेको छ ।

प्रतिस्पर्धात्मक बजारमा आफूलाई अरुभन्दा फरक र बलियो बनाएर अभ्याउन पनि शास्त्रीय संगीत अनिवार्य सिक्नुपर्ने धारणा राख्छन् धनबहादुर गुरुङ ।

हरेक किसिमले आफूलाई निखार्दै लैजान र संगीतको गहिराइ बुझ्न शास्त्रीय संगीत सिक्न जरुरी रहेको नगेन्द्र राई बताउँछन् ।

सुरुमा केही अप्ठ्यारो लागे पनि धैर्य गरेर शास्त्रीय संगीत सिक्नेले नै राम्रो अवसर पाएको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?