ओमिक्रोन प्रभाव : अमेरिकामा यात्राका नियममा कडाइ

लोकपथ
442
Shares

काठमाडौं । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ संक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् । न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको संक्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन संक्रमण देखिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्। उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ । बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?