काठमाडौं । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका विभिन्न शिव मन्दिरहरुमा दीप प्रज्वलन गरी आज (शुक्रवार) चतुर्दशीका दिन शतबीज छर्दै बालाचतुर्दशी मनाइएको हो ।
त्रयोदशीको दिन बेलुकादेखि दिवङ्गत पितृका नाममा अखण्ड दीप प्रज्वलन गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ । यस अवसरमा काठमाडौं उपत्यकाको पशुपति, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर, गोकर्णेश्वर र सन्तानेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा शतबीज छर्ने प्रचलन रहेको छ ।
पशुपतिनाथ मन्दिरमा देशभरका भक्तजनहरु शतबीज छर्न र दर्शन गर्न आउने भएकोले आज अत्याधिक भीड रहेको छ । शतबीज भनेको सयथरि बीउ भएपनि अहिले सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ । यसैगरी, शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुने, भगवान शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्र पशुपतिनाथ मन्दिर परिसरमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने शास्त्रोत्त कथन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया