साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, होटल संचालकसहित १२ जना पक्राउ

लोकपथ
689
Shares

दाङ । आफ्नो साथीको `बर्थ डे´ मनाउन गएका घोराहीका एक युवकको मृत्युपछि दाङ प्रहरीले होटल संचालकसहित १२ जनालाई पक्राउ गरेको छ । साथीको जन्मोत्सव मनाउन होटलमा गएका युवकको शंकास्पद मृत्युपछि होटलको संचालकसहित उनका १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेका अनुसार जन्मदिन मनाउने क्रममा होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको हो । नियन्त्रणमा लिइएका युवाले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन ।

जन्मदिन मनाउन दिउँसो पुगेको बेला सो घटना हुँदा पनि होटल सन्चालकले प्रहरीलाई थाहा नदिएपछि प्रहरीले होटेल संचालकलाई पनि समातेको एसपी काफ्लेले बताए ।

पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा गएका थिए । प्रहरीको अनुसार पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो । मृत्यु शंकास्पद लागेकोले पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?