हिलोमा फक्रिएका दुई फूल : जो धेरैका लागि प्रेरणा बनेका छन्

विश्व अपाङ्गता दिवस ।

‘होस आउँदा वरिपरि आफन्तहरू थिए । अस्पतालमा लगिएको रहेछ । सुरुमा खुट्टा भाँचिएछ भन्ने लाग्यो । तर पछि थाहा भयो, खुट्टामा होइन मेरुदण्डमा चोट लागेको रहेछ’, अन्तर्राष्ट्रिय ओलम्पियन पौडी खेलाडी लक्ष्मी कुँवरले २०६३ को त्यो घटना सम्झिइन् ।

गुल्मीको रुरु गाउँपालिका २ घर भएकी लक्ष्मी कुँवर गाउँघरमा मेलापात, घाँसदाउरा, घरको काम गरेर स्कुल जानु पथ्र्यो । या भनौँ यो उनको दैनिकी थियो । त्यतिबेला उनी ९ कक्षामा पढ्दै थिइन् ।

सधैँझैँ बाख्रालाई घाँस काट्न अग्लो रुखमा चढेकी लक्ष्मीको त्यो नै घाँस काट्नुपर्ने अन्तिम दिन रहेछ । रुखको हाँगा भाँचियो । त्यसपछि के भयो उनलाई थाहा छैन ।

लक्ष्मी कुँवर, अन्तर्राष्ट्रिय ओलम्पियन पौडी खेलाडी

निकैपछि मात्र थाहा भयो उनलाई इस्पाइनल इन्जुरी भएको रहेछ । जसलाई कुनै पनि उपचारले निको गराउन सक्दैन ।

१६ वर्षको कलिलो उमेरमै दुवै खुट्टा नचल्ने भएपछि उनलाई धेरै मानसिक पीडा भयो । बाँचुन्जेल ह्वीलचियरको सहायता लिनुपर्ने भयो ।

लक्ष्मी डिप्रेसनमा पुगिसकेकी थिइन् । पढ्नको लागि केही सहयोगको आशासहित समाजसेवी पूर्णिमा लामाको साथमा उनी एउटा संस्थामा पुगिन् । ह्वीलचियरमा गाउँमा गएर पढ्ने सम्भावना नभएकाले त्यहीँ कतै अवसर मिलाइदिन आग्रह गरिन् ।

सहरमा बसेर पढ्न सक्ने उनको क्षमता पनि थिएन । त्यसो त औषधि उपचारमै पनि थुप्रै खर्च लागिसकेको थियो । पढ्ने चाहना हुँदाहुँदै पनि परिवारको आर्थिक अवस्था र गाउँको भौगोलिक अवस्थाले साथ नदिएपछि जीवन नै भारी लाग्न थाल्यो उनलाई ।

अन्ततः उक्त संस्थाकै पहलमा स्कलरसिपको व्यवस्था मिल्यो । उनको आत्मबल बढ्यो । उनले आफ्नो अपाङ्गतालाई स्वीकार्न थालिन् ।

तर, संस्थाबाट प्राप्त स्कलरसिपले उनको सबै खर्च पुग्दैनथ्यो । परिवारमा नपुग पैसा माग्ने र काठमाडौंमा कोठा लिएर एक्लै बस्ने निर्णय गरिन् उनले ।

काठमाडौंको ठाउँमा त्यो पनि अशक्त छोरीलाई एक्लै बस्न दिन जो–कोही अभिभावकले मान्दैन नै । लक्ष्मीको परिवारले पनि उनको कुरा मानेनन् । तर उनले जिद्दी गर्न छोडिनन् । अन्त्यमा उनी काठमाडौंको जोरपाटीमा कोठा लिएर एक्लै बस्न थालिन् ।

कोठा खोज्न पनि उनले निकै समस्या पर्‍यो । घरबेटीहरू यस्ती केटी कसरी बस्छौ ? कोठाभाडा कहाँबाट तिर्छौ ? कसरी सरसफाइ गर्छौ ? लगायत प्रश्नहरू गर्थे । तर उनी निराश भइनन् ।

१० कक्षामा पढ्दै गर्दा लक्ष्मीलगायतका केही साथीहरू मिलेर २०६६ सालमा ‘नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसियसन’ दर्ता गरे । उक्त संस्थाबाट आफू पनि खेल्ने, अरुलाई पनि खेल्न प्रोत्साहन गर्ने र खेलाउने काम सुरु भयो । त्यसपछि उनले बास्केटबल र पौडी खेल्न सुरु गरिन् ।

ब्राजिलमा भएको २०१६ को ओलम्पिक पौडी खेलमा नेपालको प्रतिनिधित्व गर्दै उनी सहभागी भइन् । त्यस्तैगरी कोरियामा भएको २०१४ को यसियन खेलमा पनि उनी सहभागी भइन् ।

‘नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसियसन’ अन्तर्गत उनी विभिन्न जिल्लामा बासकेट बल पनि खेलाउने गर्छिन् । जसको देशभरकै टिमक्याप्टेनको रूपमा जिम्मेवारी सम्हालेकी छिन् । उनी स्वीमिङका लागि ह्वीलचियरबाटै डाइभ हान्छिन् । हातले चालेरै सग्लाहरूसँग प्रतिस्पर्धा गर्नसक्ने उनी बताउँछिन् ।

खेलकुदको व्यस्ततामा पनि उनले पढाइलाई छाडिनन् । खेल खेल्दै उनले स्नातकसम्मको अध्ययन पूरा गरिन् ।

अनि आफूलाई झन् बलियो बनाएँ

‘अब यसले बाँचेर के गर्नु ?’, ‘कुन जुनीको पापले यस्तो भयो !’, ‘बाबुआमा मरेपछि कसले स्याहार्छ ?’, ‘बरु मरेको भए जाति हुन्थ्यो ।’ सुरुमा यस्ता धेरै कुराहरू सुन्नुपथ्र्यो समाजमा लक्ष्मीले ।

यही कुराले उनलाई बलियो भएर अगाडि बढ्न हिम्मत जाग्यो । आफ्नो खुट्टामा उभिएर समाजले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने दृढ संकल्पका साथ अगाडि बढिन् ।

‘त्यही समाजमा अलिकति दुःख र संघर्ष गरेर अगाडि बढ्छु र केही गरेर देखाउँछु भन्ने संकल्प लिएर अगाडि बढेकी छु’, उनले भनिन् ।

‘हिम्मत गरेँ र म सफल छु । मलाई गर्व छ आफूप्रति ।’ उनलाई हेर्ने मान्छेको सोचाइ र व्यवहारहरू अहिले एकदमै परिवर्तन भएको उनी बताउँछिन् । सबैले उनको प्रशंसा गर्छन् ।

‘आँट, इच्छा, धैर्यता र निरन्तरता भएपछि असम्भव केही रहेनछ’, उनी भन्छिन् ।

देशको झण्डासहित देशविदेश डुलेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् उनी । त्यति मात्र होइन उनी एउटा संस्थामा जागिर पनि गर्छिन् । विगत १४ वर्षदेखि नै उनले एक्लै जीवन चलाइरहेकी छिन् ।

खेल खेल्दै, जागिर गर्दै, पढ्दै उनले स्नातक उत्तीर्ण गरिसकिन् । अपाङ्गता भएको व्यक्ति भए पनि कुनै साङ्गभन्दा कम क्षमता र आत्मविश्वास छैन उनीमा ।

‘साङ्गसरह नै मैले काम गरिरहेकी छु । उनीहरूसरह नै अगाडि बढिरहेकी छु’, उनले भनिन् ।

अहिले अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम तथा पुनरुत्थानका लागि काम गर्छिन् । पढ्न इच्छुकहरूलाई पढाउने, मोटिभेट तथा काउन्सिलिङका काम गर्दै असंख्य अपाङ्गता भएका व्यक्तिहरूका हौसला बनिरहेकी छिन् लक्ष्मी ।

सरकारको उपेक्षा

सरकारले अपाङ्गता भएका खेलाडीहरूलाई उपेक्षा गरेको गुनासो गर्छिन् लक्ष्मी । सरकारले ओलम्पिक खेलेको खेलाडीलाई मासिक प्रोत्साहन भत्ता दिने भए पनि अपाङ्गता भएका खेलाडीहरूलाई दिन धेरै गाह्रो मान्यो ।

‘साङ्गले पनि ओलम्पिक नै खेलेको हो, अपाङ्ग खेलाडीले पनि आफ्नो क्षमताअनुसार ओलम्पिक नै खेलेको हो । नेपालको झण्डा बोकेर देशको प्रतिनिधित्व गरेकै हो । तर अपाङ्गता भएको व्यक्तिलाई चाहिँ किन छुटाउने ?’ लक्ष्मी भन्छिन् ।

ओलम्पिक भत्ता पाउनको लागि सरकारसँग धेरै संघर्ष गर्नुपरेको सुनाउँछिन् उनी ।

‘साङ्ग खेलाडीले पाउने ओलम्पिक भत्ता अपाङ्गले पनि पाउनुपर्ने माग राख्दै विरोध ग¥यौँ । त्यसपछि हामीले पनि पाउन थालेका छौं’, उनले भनिन् ।

नेपाल सरकारका जिम्मेवार व्यक्तिहरूले नै अपाङ्गता भएका खेलाडीहरूलाई उपेक्षा गरेकोमा लक्ष्मीलाई दुःख लागेको छ । अझै पनि अपाङ्गता भएका व्यक्तिले पनि खेल खेल्न सक्छन् र ? भन्ने किसिमका प्रश्न धेरै ठाउँमा झेल्नुपरेको उनी बताउँछिन् ।

अपाङ्गता भएका खेलाडीहरू लक्ष्मीसहित ४ जना छन् । जसले ओलम्पिक खेलेका छन् । एथ्लेटिक्सका बिक्रम राना दृष्टिविहीन हुन् । मैया विशंखेको एउटा हात छैन । उनी पनि एथ्लेटिक्स नै खेल्छिन् । एथ्लेटिक्सकै निर्मला ज्ञवाली छिन्, उनी पनि दृष्टिविहीन ओलम्पिक खेलाडी हुन् ।

हाम्रा संरचनाले हामीलाई अपाङ्ग बनाएको हाे

अपाङ्गमैत्री संरचना नहुनाले धेरै ठाउँमा समस्या झेल्नुपरेको लक्ष्मी बताउँछिन् । कपडा फेर्नदेखि उनलाई ह्वीलचियरमा पौडी खेल्ने स्थानसम्म जानै समस्या हुन्छ । उनलाई आफूू अपाङ्ग भएको भन्दा पनि हाम्रा संरचनाले आफूलाई अपाङ्ग बनाएको लाग्छ ।

‘सौच गर्न ह्वीलचियर छिर्ने सौचालय छैन । विद्यालय, विश्वविद्यालयहरूमा पनि ह्वीलचियर जाँदैन । प्रत्येक सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री छैनन’, उनले भनिन् । खेलमैदानहरू पनि अपाङ्गमैत्री नभएको र अपाङ्गता भएका व्यक्तिहरूलाई छुट्टै व्यवस्था नगरिएको प्रति उनको गुनासो छ ।

सरकारले यस्तो गर्नुपर्छ

जसरी साङ्ग व्यक्तिहरूलाई खेल क्षेत्रमा बजेट तर्जुमादेखि धेरै व्यवस्थाहरू छन्, त्यसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि विशेष प्राथमिकतासहित बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

‘प्रत्येक चोटीको स्वीमिङ अभ्यास गर्न कम्तीमा ३०० रूपैयाँ तिर्नुपर्छ । हरेक दिन ३०० रूपैयाँ तिरेर कसरी अभ्यास गर्ने ?’, उनी प्रश्न गर्छिन्, ‘म देशको झण्डा बोकेर ओलम्पिक खेल्न जान्छु तर आफ्नो पैसा तिरेर स्वीमिङ प्राक्टिस गर्नुपर्छ अनि कसरी जित्ने ?’

सरकारलाई यस्ता कुरा बुझिदिन आग्रह छ लक्ष्मीको ।

 

‘अपाङ्गता भएकाहरूहरूको बाँच्ने प्रेरणा बन्ने मन छ’

सीता सुवेदी, शास्त्रीय नृत्यांगना

चितवन मेघौलीकी सीता सुवेदीको जन्म सामान्य परिवारमा भयो । बुबाआमा खेती किसानी गर्थे । घरमा सघाउनु पथ्र्याे । उनको बाल्यकाल स्कुल जाने, आउने र घरमा बुबाआमालाई सघाउने गरेर नै बित्दै थियो । नाच्ने गाउने रहर पनि त्यति बेलादेखि नै थियो ।

बाल्यकाल खुसीसाथ बित्दै थियो । उनको जीवनमा एउटा बज्रपात हुन पुग्यो । जुन कल्पनाभन्दा धेरै टाढाको कुरा थियो ।

२०५७ मा ११ वर्षको उमेरमा खुट्टामा क्यान्सर लागेर एउटा खुट्टा काटियो । त्यति मात्र होइन डाक्टरले उनकी आमासँग छोरी नबाँच्ने समेत भने । एउटा खुट्टा काटिएकी छोरी अब बाँच्दिन भनेको सुन्दा आमाको मनमा के बित्यो होला ? नाचेर जीवनमा केही गर्ने लक्ष्य बोकेर हिँडेकी सीतालाई खुट्टा काट्दा कस्तो भयो होला ?

‘जीवन भोग्दै जाँदा बाँच्नुको आधार पनि देखियो, औचित्य पनि भेटियो ।’

‘मैले अब मेरो बाँकी जिन्दगी छ भन्ने नै बिर्सिएछु’, उनले भनिन्, ‘अब बाँँच्नुको आधार र औचित्य छैन भन्थेँ तर जीवन भोग्दै जाँदा बाँच्नुको आधार पनि देखियो । औचित्य पनि भेटियो ।’
डाक्टरले भनेका सबै कुरा आमाले उनलाई सुनाइन् । तर सीतालाई विश्वास लागेन । उनलाई जीवनमा अगाडि बढ्छु भन्ने नलागे पनि आफू बाँच्न सक्छु भन्नेमा चाहिँ पूरा विश्वास थियो । अन्ततः उनको आत्मविश्वासले जित्यो । उनी बाँचिन् ।

खुट्टा काटिएको २ वर्षसम्म उनी विद्यालय जान सकिनन् । उनलाई सबैभन्दा गाह्रो त त्यतिबेला भयो जब उनी वैशाखी टेकेर विद्यालय गइन् । पहिलो दिन विद्यालयका सबै विद्यार्थीहरू वरिपरि झुम्मिएर हेर्न आए । उनलाई एकदमै असजिलो महसुस भयो ।

कक्षामा सँगै बस्ने कोही भएनन् । उनी एक्लै बस्थिन् । साथीहरूमा त्यतिबेला क्यान्सर रोग सर्छ भन्ने भ्रम रहेछ । त्यतिबेलाको मनोविज्ञानले उनलाई कोतरिरहन्थ्यो । साथीहरू मसँग किन नबसेको होला भन्ने सोच्थिन् ।

दुःख त त्यतिबेला लाग्यो

परिवार र समाजले हेर्ने दृष्टिकोणमा आएको परिवर्तनले उनलाई हरेक समय बिझाउँथ्यो । उनलाई दुःख त त्यतिबेला लाग्यो जब आफ्नै बुबाले समेत स्वीकार्न सकेन ।

उनी भन्छिन्, ‘अपाङ्गता भएकाहरूलाई सबैभन्दा पहिले आफ्नो परिवारले स्वीकार्नु पर्छ कि ऊ अरुभन्दा भिन्न छैन । ऊ पनि आफ्नो सन्तान हो अथवा मेरो परिवारको सदस्य हो भनेर ।’

उनको बुबालाई छोरी अपाङ्ग भएपछि गाउँसमाजमा कसरी मुख देखाउनु भन्ने भयो । त्यसैले सीतालाई बाहिर ननिस्कन र घरभित्रै बस्न भन्थे । उनलाई बुबासँगै विद्रोह गर्नुपर्‍यो ।

समाजले सग्लो छोरीलाई अपाङ्ग बनाएको भन्दै कुरा काट्ने गर्थे । अब कसले हेर्छ कसले स्याहार गर्छ ? कठै विचरा ! भन्थे । यस्ता कुराले उनलाई असहज हुन्थ्यो ।

…अनि संसारलाई जितेँ

उनी बुबालाई जितेर बाहिर निस्किन्थिन् । एक न एक दिन केही गर्छु भन्ने अठोट थियो मनमा । एउटै खुट्टाले नाच्न सुरु गरिन् । एकदिन नाच सिक्न गएको बेला गुरुको कुराले उनलाई नराम्ररी झस्कायोे । अरु दुई खुट्टाले नाचेर त केही गर्न सकेका छैनन्, तिमी एउटा खुट्टाले नाचेर के गर्छौ ? भन्दै तुच्छ व्यवहार गरे ।

त्यसपछि उनी त्यहाँ जान छोडिन् । तर पनि उनले हार मानिनन् । नाच्ने गाउने इच्छा मनमै राखेर उनले पढाइलाई निरन्तरता दिन थालिन् ।

विसं २०६३ सालमा १२ कक्षा उत्तीर्ण भएपछि उनी काठमाडौं आइन् । जहाँ उनको कोही पनि थिएनन् । त्यसपछि सुरु भयो सीताको जीवनको अर्को संघर्ष । उनले सोचेको भन्दा पनि धेरै कठिनाइहरू भोग्नु पर्‍यो । उनले काम गर्ने सिलसिलामा पढाइलाई केही वर्ष छोड्नु पर्‍यो । भाइबहिनीलाई समेत काठमाडौं ल्याएर पढाइन् ।

त्यसको धेरै वर्षपछि उनले पुनः पढाइलाई निरन्तरता दिइन् । उनले अहिले नेपाली विषयमा स्नात्तकोत्तर पास गरेर संगीतमा पनि स्नात्तकोत्तर गर्दै छिन् ।

उनले अपाङ्गता भएका अरुलाई पनि विभिन्न गाउँ, जिल्ला धेरै ठाउँमा पुगेर सहयोग गरेकी छिन् । सीता अहिले धेरैको प्रेरणा बनेकी छिन् । अपाङ्गता भएका आफ्ना छोरा छोरीलाई घरभित्र मात्रै सीमित राख्न हुन्न रैछ भन्ने पाठ सिकाएकी छिन् ।

हरेक क्षेत्रमा एउटा लगाव परिश्रम र निरन्तरता हुनुपर्ने रहेछ भन्ने उनको अनुभव छ ।

‘आफ्नो शरीर हो आफैँले सन्तुलन गर्न सकिन्छ’, उनले भनिन्, ‘संगीत एउटा औषधि हो । मेरो खुसी पनि यहीभित्र छ ।’

पहिले हेयको दृष्टिले हेर्ने त्यही गाउँ, त्यही समाजले हेर्ने दृष्टिकोणमा आकाशपातलको फरक छ । अब यत्तिकै जाने त हो नि यसको जिन्दगी भन्ने किसिमको समाजको कटाक्ष अहिले सुन्न पर्दैन उनले ।

‘अपाङ्गता भएकाहरूहरूको बाँच्ने प्रेरणा बन्ने मन छ ।’

उनी सधैँ सार्वजनिक यातायातमा आवतजावत गर्छिन् । म अपाङ्ग हुँ मलाई सिट छोड्दिनुुस् भनेर उनी कहिल्यै भन्दिनन् । मान्छेको सोचमा परिवर्तन आउनुपर्छ, आरक्षणको कोटाले केही गर्दैन भन्ने उनको विचार छ ।

जीवनको इच्छा के छ भनेर सोध्दा उनी भन्छिन्, ‘अपाङ्गता भएकाहरूहरूको बाँच्ने प्रेरणा बन्ने मन छ’ ।

कलानिधि इन्दिरा संगीत महाविद्यालयमा कथक नृत्य सिक्दै गरेकी उनलाई देश तथा विदेशका विभिन्न स्थानमा हुने कार्यक्रमहरूमा नृत्यांगनाका रूपमा बोलाइन्छ । शास्त्रीय एकखुट्टे नृत्यांगनाको रूपमा देश तथा विदेशमा पनि चर्चित छिन् ।

‘भोलि कसलाई के पर्छ थाहा छैन । कोही पनि आफ्नो रहरले अपाङ्गता भएका हुँदैनन् । भोलि तपाईँ हामी जो पनि असहज परिस्थितिमा पुग्नुपर्ने हुन सक्छ, भविष्य कसैले देखेको छैन । त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई कसैले पनि अपहेलना नगरौँ’, उनले भनिन् ।

अपाङ्गता भएकाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन परिवार, समाज, सरोकारवाला सबैको साथ चाहिने र सबैको मानसिकता परिवर्तन हुन जरुरी रहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?