ध्रुब थापाद्वारा नाडाको नेतृत्वका लागि प्यानल घोषणा

लोकपथ
70
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको बताए । पूर्व उपाध्यक्ष थापाको प्यानलले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नारासहित विभिन्न स्थानमा रहेका अटो मोबाइल्स व्यवसायीहरुसँग छलफल समेत गरेको थापाले बताए ।

उनले राज्यले नाडाले उठाएर लगेका कुराहरु सरकारले गम्भीरताका साथ नलिएको भन्दै आपत्ति जनाए । अध्यक्षका उम्मेद्वार थापाले व्यवसायको सम्भाव्यता अध्ययन गर्न नाडाले लगानी गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसको लागि विज्ञ टीम नै निर्माण गरेर अध्ययन गर्ने, तथ्यांक संकलन गर्ने र सरकारलाई यो क्षेत्रको महत्व र आवश्यक्ताको विषयमा बुझाउने बताए । उनले प्रदेशस्तरमा खुलेका संस्थालाई अधिकार सम्पन्न गर्ने, स्थानीय तहमा रहेका समस्या समाधानमा जुट्न सक्ने बनाउने र अटो क्षेत्रका कतिपय कर प्रदेश सरकारले लगाइरहेको भन्दै त्यसलाई नागरिक मैत्री बनाउन आफू निर्वाचित भइसकेपछि काम अघि बढाउने प्रतिवद्धता जनाए ।

उनले अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको दाबी गरे । थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बि. एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान र महिला प्रतिनिधिमा यमुना श्रेष्ठ रहेका छन् । नाडाको नयाँ नेतृत्वका लागि आगामी मंसिर २३ गते काठमाडौंमा हुने निर्वाचनमा हाल नाडाको उपाध्यक्ष रहनुभएका करण चौधरीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?