चितवनमा ४ दिन : पानीको प्यासदेखि महँगीको मारसम्म

पहिलो दिन

नेकपा एमालेको १०औँ महाधिवेशनको रिपोर्टिङका लागि ९ मंसिरमा चितवनतर्फ लाग्यौँ । बाटोमा एमालेको झण्डावाला सवारीसाधनहरू कुनै अगाडि, कुनै पछाडि, कुनैचाहिँ विपरीत दिशाबाट आउँदै । लाग्थ्यो एमालेको स्कर्टिङमा हामी चितवन जाँदै छौँ ।

चितवन जतिजति नजिकिन्थ्यो स्वागतद्वार र बिजुलीको खम्बामा झण्डाहरू उत्तिकै बाक्लो मात्रामा देखिन्थ्यो । नारायणगढको नारायणी किनार पुगेर महाधिवेशनको तयारीका विषयमा रिपोर्टिङ गर्ने हाम्रो योजना थियो । तर, सवारीको जाम र कोठाको जोरजामले हाम्रो योजनामा ब्रेक लाग्यो ।

करिब ४ बजेतिर नारायणगढ पुग्यौँ । झण्डै एक सय ५० किमि बाइकको यात्राले थकित ज्यान र पोकापन्तुरा बिसाउनु हाम्रो पहिलो प्राथमिकता थियो । कर्मथलोबाट जन्मथलो पुगेर झोला बिसाएर आमाले तयार पारेको खाजा खाएजस्तो कहाँ सजिलो हुन्थ्यो र । थकित ज्यान र पोकापन्तुराको भारी बोकेरै हामी कोठा खोज्न हिँड्यौँ ।

महाधिवेशनका कारण सौराहा र नारायणगढका होटलहरू पहिले नै प्याक भइसकेको समाचार आइरहेका थिए । तैपनि बास त बस्नु नै प¥यो । करिब आधा दर्जन होटल चहारेपछि बल्लतल्ल एउटा होटलमा कोठा भेट्टायौँ । त्यो पनि जम्माजम्मी एउटा । कोठा कस्तो थियो भनेर वर्णन गर्दा आफ्नै बदनाम होला भन्ने डर !

बत्तीबिनाको बाथरुम, वर्षाैँदेखि थन्किएको टीभी, प्वालवाला झुल, ढुसीले ढाकेको साँगुरो ठाउँ । अझ होटलवाला भन्दै छन्, ‘तपाईँहरू बस्नुहुन्छ कि अरुलाई दिऊँ ?’

कोठा खोज्दाखोज्दै ७ बजिसकेको थियो । त्यो कोठा पनि छोड्यो भने अरु कोठा पाउने आश मरिसकेको थियो ।

‘नखाऊँ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाको अनुहार’ भनेझैँ भयो ।

साहुजीले बाथरुममा बत्ती र चप्पल ल्याइदिए । रुम फ्रेसनर ल्याएर ढुसी हटाइ दिए । सिरक, तन्ना फेरिदिए । धन्न पानीचाहिँ काठमाडौँमा जस्तो धारा बन्द गर्दै चलाउनुपर्नै अवस्था रहेनछ । थकित ज्यानलाई पे्रmस बनाएर भोको पेट भर्न निस्कियौँ । सामान्यतः काठमाडौँका राम्रै होटलमा पनि चिकेन खाना २५० रुपैयाँमा पाइन्छ । तर यहाँ सादा खाना दुई सय, चिकेन खाना तीन सय ।

दोस्रो दिन

महाधिवेशन उद्घाटनको दिन हामी सबेरै नारायणी किनारतर्फ लाग्यौँ । लायन्स चोकबाट मुख्य सडक हुँदै अघि बढ्यौँ । हुस्सुले खासै टाढाको दृश्य देखिँदैनथ्यो । त्यति सबेरै एमाले कार्यकर्ताहरू झण्डा बोकेर कार्यक्रमस्थलतर्फ लागिसकेका थिए । कार्यक्रमस्थलबाट केही समय लाइभ गरेर हामी नास्ता खोज्दै बजारतर्फ लाग्यौँ ।

झण्डै ८ बजिसक्दा पनि बजार खासै खुलेको थिएन बजार । एउटा पसलमा चाहिँ बिहानै मःम पाकिसकेको रहेछ । गाउँ–गाउँबाट आएका कार्यकर्ताहरू मःम खाएर भोक मेट्दै थिए । यति सबेरै यस्तो चिसो पनि साहुजी असिनपसिन देखिन्थे ।

करिब आधा घण्टा गल्ली चहारेपछि बल्ल एउटा पसलमा पुरी तरकारी भेट्यौँ । नास्ता गरेर कार्यक्रमस्थल फर्किँदा त्यहाँ भिड बढिसकेको थियो । हामी मिडियाका लागि बनाइएको स्टेजमा गयौँ । झापादेखि कन्चनपुरसम्मका पत्रकार साथीहरूले भरिएको थियो मञ्च । पत्रकार साथीहरू कोही कार्यक्रम रेकर्ड गर्दै त कोही प्रत्यक्ष प्रशारणमा ।

कार्यक्रम सुरु हुनै लाग्दा स्वयंसेवक साथीहरू खतरानाक सूचना लिएर मिडियाको स्टेजमा चढे । उनीहरू भन्दै थिए, ‘यहाँ भारी धेरै भयो, स्टेज भाँचिन लाग्यो ।’

क्यामेरापर्सनबाहेक अरुलाई स्टेजबाट ओर्लिन आग्रह गर्दै थिए उनीहरू । तर पत्रकारबाहेकका कोही पनि थिएनन् त्यहाँ ।

स्वयंसेवकले पटक–पटक खरो बोलेपछि एक जना साथीले जवाफ नै दिए, ‘यस्तो ठूलो चौरमा एउटा राम्रो मञ्च बनाउन नसक्ने अनि तपाईँहरूकै प्रचार गर्न आएका पत्रकारलाई नबस भन्ने ?’ मित्रले कडै दिए क्यार ! स्वमंसेवक साथी आपैm मञ्चमा झरे ।

ठेलमठेल भिड । हामी बसेको मञ्चबाट नियाल्दा मान्छेको भिड आँखाले भ्याउँदैनथ्यो । मञ्चवरिपरि मात्रै होइन नारायणीपारि पनि भाषण सुन्ने व्यवस्था गरिएको थियो । त्यहाँ पनि भिड उत्तिकै थियो । निकै टाढा रहेको पुलमा समेत मान्छेको भिड ठूलो थियो ।

गाउँबाट आएका साथीहरूले ‘कार्यक्रम सक्यो कि बाँकी छ ?’ भन्दै तारन्तार फोन आउँथ्यो । एम्बुलेन्स समेत अड्किएको बाटोमा साथीहरूको बस छिचोल्ने कुरै भएन । बस रोकेर डेढ घण्टा हिँड्दा पनि कार्यक्रमस्थलमा आउन सकेनन् । बेलुका फोन गरेर भन्दै थिए, ‘बेकारमा एक हजार रुपैयाँ भाडा मात्रै तिरियो ।’

नेताहरू आकर्षक मञ्चमा कुर्समा थिए, कार्यकर्ताहरू बगरमा । त्यही बगरमा कोही उभिएर कोही थचक्क बसेर दिलन बिताए उनीहरूले । कोही बदम चपाउँदै थिए, कोही घरबाटै ल्याएको जस्तो रोटी ।

मिडिया मञ्चमा खाने पिउने त परको कुरा, ब्याट्री चार्ज गर्ने मल्टिप्लग समेत थिएन । न किन्न जान सजिलो । बाहिर निस्के फर्किएर स्टेजमा आउने सम्भव नै थिएन । बिहान खाएको पुरी, तरकारी र चियाको भरमा दिनभर उभियौँ । नेताहरूको भाषणले पेटको भोक नमेटिने रहेछ ।

साथीहरू भन्दै थिए, ‘नेताहरू टन्न खाएर कार्यक्रममा ढिला आउने, हामीचाहिँ एकछाकी बस्नुपर्ने ।’

सुत्दै साथी (जितेन्द्र श्रेष्ठ)सँग गफियौँ । बिचरा ती दूरदराजबाट आएका सोझा कार्यकर्ताको हालत के भयो होला !

नेतानिकटका केही पत्रकार, नेता, कार्यकर्ताले दाम पनि पाए होलान् । खाने बस्ने राम्रा ठाउँ पनि पाए होलान् । तर आफ्नै खर्चमा कार्यक्रममा जानेहरूको हरिबिजोक थियो ।

तेस्रो दिन

एमालेले उद्घाटनसत्र नारायणी किनारमा र बन्दसत्र सौराहाको होटल सेभेनस्टारमा राखेको थियो । त्यसकारण तेस्रो दिन हामी सबेरै त्यतातिर लाग्यौँ । पोकापन्तुरा बोकेर कार्यक्रमस्थल जाने कुरा भएन । त्यसकारण हामी होटल खोज्नतिर लाग्यौँ ।

त्यहाँ पनि करिब आधा दर्जन होटल चहा¥यौँ । कतिपयले त नारायणगढ, मुग्लिनसम्म कतै पनि कोठा पाइँदैन भनेर अत्याइदिए । एकातिर कोठा पाउनै मुस्किल, अर्काेतिर छोइनसक्नु भाडा ।

होटल खोज्दै जाँदा एक जनाले अर्काे होटलमा फोन गरेर कमिसनमा होटल स्वीट सफारीमा कोठा मिलाइदिए । बन्दसत्र ८ बजे सुरु हुने भनिए पनि झण्डै ८ घण्टापछि सुरु भयो ।

नेता कार्यकर्तालाई समय कटाउन निकै सकस भएको पायौँ । कोही हात्तीचोक र गैडाचोकमा फोटोसेसन गरिरहेको अवस्थामा भेट्यौँ, कोही कोट किन्दै थिए त कोही किताब ।

बन्दसत्र हलभित्र उकुसमुकुस गर्मीले होला केही प्रतिनिधिहरू निदाइरहेका थिए । पत्रकारहरू कोही मिडियासेन्टरमा त कोही हलभित्र । बन्दसत्रमा आएका एक जना त बहोस भएर भुइँमै ढले ।

बन्दसत्रको पहिलो दिन झन्डै दुई घण्टा विदेशी अतिथिहरूले सम्बोधन गरे भने त्यति नै समय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे । ओलीले सम्बोधन गरिरहँदा हलभित्रभन्दा बाहिरको माहोल रोचक देखिन्थ्यो । ओलीको सम्बोधनलाई फोनमा कैद गर्ने र लाइभ गर्नेहरूको भिड थियो ।

चौथो दिन

बन्दसत्रको सबैभन्दा महत्वपूर्ण दिन अर्थात् एमालेको नयाँ नेतृत्व चयन हुने दिन ।

बिहान ब्रेकफास्टका लागि गैडाचोकस्थित एक होटलमा पुग्यौँ । टपरीको चना, प्लाष्टिक कपको चिया र एउटा अण्डाको मूल्य एक सय रुपैयाँ । काठमाडौँमा भए बढीमा ६० रुपैयाँ तिरे पुग्थ्यो ।

साहुजीलाई महँगीको विषयमा जिज्ञासा राख्दा जवाफ आयो, ‘१०÷२० रुपैयाँ बढाउँदा केको महाधिवेशन लाग्नु ?’ पछि थाहा भयो, महाधिवेशनका लागि भनेर छुट्टै मेनु नै बनाएका रहेछन् । सादा खाना २५० र चिकेन खाना ३८० रुपैयाँ ।

बन्दसत्र बिहान १० बजेबाटै सुरु हुने भनिए पनि समयमा भएन । प्रतिनिधिहरू कोही जंगल सफारी गर्न पुगे भने कोही नाचगानमा रमाए । कतिपय प्रतिनिधि सञ्चारकर्मीलाई नै बन्दसत्र कति बेला सुरु हुन्छ भनेर सोधिरहेका थिए ।

अध्यक्ष ओलीले केन्द्रीय समितिको सूची प्रस्ताव पेस गर्ने कुराले प्रतिनिधिहरूमा भोट हाल्न नपाउने चिन्ता छाएको थियो । कतिपय प्रतिनिधि भोट हालेर त्यही दिन घर फर्किने योजनाका साथ झोला बोकेरै बन्दसत्र चलिरहेको होटल सेभेनस्टारमा आएका थिए । समय घर्किँदै गएसँगै उनीहरू गाँस र बासको चिन्ता बढ्दै गएको थियो । होटल परिसरमा देउडा र एमालेको गीतमा नाचगान चलिरह्यो ।

महाधिवेशनका लागि सौराहा पुगेका धेरैले सास्ती पाए, व्यापारीले भने प्रशस्त कमाए । जीप सफारीका लागि सामुदायिक बनमा प्रतिव्यक्ति एक हजार र निकुञ्जमा दुई हजार रुपैयाँसम्म लिएको पायौँ । बन्दसत्रको पहिलो दिन जीप सफारीमा पनि नयाँ रेकर्ड कायम भएको रहेछ ।

त्यो दिन १६० वटा जीप जंगल प्रवेश गरेको पाइयो । हात्ती सफारीका लागि टिकट नै थिएन । भारतबाट ल्याइएका हात्तीहरू लकडाउनसँगै फिर्ता लगिएपछि मेला महोत्सवका लागि हात्ती सफारीका हात्ती नपाउने रहेछ । सार्वजनिक सवारीसाधनदेखि एक्का समेतको भाउ बढेको पायौँ ।

महाधिवेशनका कारण थारु संग्रहालयदेखि वनयजन्तु ओखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रमा समेत अवलोकनकर्ताहरूको भिड बढ्यो । सूचना केन्द्रका कर्मचारी विष्णुबहादुर लामाले अवलोकनकर्ताको संख्या दोब्बरले बढेको बताए ।

अरुबेला १० हजार रुपैयाँ हाराहारीको टिकट बिक्री हुने गरेकोमा महाधिवेशन सुरु भएदेखि दैनिक करिब २५ हजार रुपैयाँको टिकट बिक्री भएको लामाले बताए ।

बजार घुमेर बन्दसत्रस्थल पुग्दा करिब दिउँसो साँढे ४ बजेतिर नेता विशाल भट्टराईले बन्दसत्र साँझ ७ बजे मात्रै सुरु हुने बताए । कार्यक्रम सुरु हुने सूचनाले हौसिएका प्रतिनिधिहरू समय घर्किएसँगै सुस्ताउन थाले । साँझ ७ बजे बन्द सत्र सुरु भएन, बरु कार्यालय सचिव शेरबहादुर तामाङले राति ८ बजेबाट बन्दसत्र सुरु हुने सूचना ल्याए ।

त्यसपछि प्रतिनिधिहरू खाना खान निस्किए । हामी पनि सौराहाको रात्रिकालीन बजार नियाल्न निस्कियौँ । सौराहा त सेकुवा र सुकुटीमय पो हुँदोरहेछ । जाता हेर्‍यो उतै सेकुवा पालिरहेको दृश्य । बफ एक झिरको २५० रुपैयाँ, चिकेन ३५० रुपैयाँ, पोर्क ४०० रुपैयाँ ।

त्यो पनि होटलपिच्छे फरक–फरक मूल्य । चाउचाउ एक प्याकेटको ३५ रुपैयाँसम्म । ‘खाए खा नखाए घिच’ भनेजस्तो ।

हामी खाना खाएर बन्दसत्रस्थलमा आयौँ तर अझै पनि नेताहरू आएका रहेनछन् । दिनभर बन्दसत्र कुरेर बसेका प्रतिनिधिहरू हाइ काढ्दै बसे ।

करिब ९ बजेर ४५ मिनेट जाँदा अध्यक्ष ओली बन्दसत्रको हलमा प्रवेश गरे । त्यतिबेला हलमा ‘वी लभ यु ओली बा’, ‘पार्टी फुटाउने मतियार होसियार’ जस्ता नाराहरू लाग्यो । राति १० बजे अध्यक्षमण्डलको बैठक बस्यो ।

बैठक सकेर ओली हलमा प्रवेश गर्दा दिन घर्किसकेको थियो अर्थात् १२ गते हुनुपर्ने बन्दसत्रको १३ गते पुगिसकेको थियो । ओली करिब पौने एक बजे बन्दसत्र हलमा प्रवेश गरे ।

ओलीले धमाधम ३०१ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ५० जनाको नाम वाचन गरे । कतिपयको नाम दोहोरियो, कतिपयको नाम छुट्यो । आफ्नो नाम नपरेपछि व्यवसायी दुर्गा प्रसाइँ जंगिदै बाहिर निस्किए ।

सिन्धुलीबाट आएकी उमा कोइराला धुरुधुरु रोइन् । अध्यक्ष मण्डलकै सदस्य गोमा देवकोटादेखि राधा ज्ञवाली समेतको नाम केन्द्रीय समितिमा परेन ।

ओलीले पटक–पटक भीम रावललाई उपाध्यक्ष बसेर सहयोग गर्न आग्रह गरे तर उनले इन्कार गर्दै भने, ‘म यति अगाडि बढिसकेको छु कि मलाई फर्किन गाह्रो छ ।’

यतिबेला ओलीको पक्षमा र रावलको विपक्षीमा चर्काे नाराबाजी नै चल्यो । त्यसपछि ओलीले पदाधिकारीको नाम सुनाउँदै असन्तुष्टहरूलाई मनोनयन दर्ता गर्न अनुरोध पनि गरे ।
त्यतिबेला करिब बिहानको साढे ३ बजेको थियो ।

‘भोक, प्यास, निदको हन्डर मात्रै खाएर पुग्दैन हामीलाई ‘पैसा पाउने भएर गएको’, ‘मासुभात खान गएको’ जस्ता अनेकन आरोप पनि खानुपर्छ’, त्यहाँ केहीले भन्दै थिए ।

हामीले यात्रा माेड्नु थियाे । हामी त्याे भिड छिचाेल्दै काडमाडाैँ फर्कियाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?