बागमती प्रदेश अधिवेशन–जगदीश्वर नरसिंह केसीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय

लोकपथ
18.6k
Shares

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा संस्थापनइतर पक्षले नुवाकोटका जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार बसेको इतर पक्षको बैठकले केसीलाई सभापतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । कांग्रेस बागमती प्रदेश सभापतिका लागि पौडेल समूहबाट केसीसहित काठमाडौं जिल्लाका पूर्व सचिव राजुराज जोशी, काभ्रेका पूर्वसभापति मधु आचार्य, धादिङका पूर्वसभापति रमेश धमला, रामकृष्ण घिमिरे लगायत आकांक्षी थिए । काँग्रेसको प्रदेश अधिवेशनको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार हेटौडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै इतर समूहले महामन्त्रीमा पूर्व उद्योग राज्यमन्त्री कञ्चन बादी र मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल (माइकल​) लाई उठाउने निर्णय पनि गरेको एक नेताले जानकारी दिए ।

बागमती प्रदेश सभापतिमा देउवा पक्षबाट इन्द्रबहादुर बानिया र तेस्रो धारको तर्फबाट भीमसेनदास प्रधानपनि सभापतिको दौडमा रहेका छन् ।

को हुने केसी ?
काँग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ उनी दुई पटक संविधान सभा सदस्य बनेको थिए भने नुवाकोटमा ४ पटक जिल्ला सभापति भएर २० वर्ष नेतृत्व गरेका थिए । यस वर्षमात्रै उनी नुवाकोट काँग्रेसको नेतृत्वबाट बाहिरिएका थिए ।

स्पष्ट वक्ता उनको देशभर राम्रो जनसम्पर्क रहेको छ । ०६२–६३ सालको जनआन्दोलनका चर्चित कमान्डर समेत रहेका केसी नेबिसंघको पूर्व केन्द्रीय सदस्य तथा सरस्वती क्याम्पसको स्ववियू सचिब समेत बनेका थिए । बागमती प्रदेशमा उनको पक्षमा राम्राे माहोल रहेको नेता कार्यकर्ताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?