सुदूरपश्चिम प्रदेश : देउवापक्षकै पाँच जना सभापतिमा आकांक्षी

लेखक र साउदको हस्क्षेप बढ्दा बढी उम्मेदवार

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका पाँच जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रदेशमा मंसिर १६ गतेदेखि हुनलागेको प्रदेश प्रथम अधिवेशनमा छ जनाको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकोमा वर्तमान पार्टी सभापति देउवा पक्षका पाँच जनाको उम्मेदवारी रहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही(अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्वराज्यमन्त्री शाह रामचन्द्र पौडेल पक्षका हुन् भने अन्य पाँचै जना उम्मेदवार देउवा पक्षका हुन ।

प्रधानमन्त्री देउवाले अहिले प्रदेश सभापतिका लागि कुनै पनि हस्तक्षेप नगरे पनि प्रदेशमा देउवाकै विश्वासपात्र मानिएका नेता रमेश लेखक र एनपी साउदको हस्तक्षेप बढेको पार्टीका नेताहरू बताउँछन् ।‘पार्टी सभापतिले अहिले कुनै पनि उम्मेदवारलाई बसाउने वा निर्वाचनमा प्रतिस्पर्धा गर भनेर कसैलाई केही भन्नुभएको छैन’ एक नेताले भने, –‘यहाँ आफू बलियो हुन वडादेखि प्रदेशसम्मै नेता लेखक र साउदको दबदबा रहेको छ ।’

नेता साउद र लेखककै उम्मेदवारहरू प्रतिस्पर्धामा हुँदा देउवापक्षका उम्मेदवारहरूलाई मिलाउन पार्टीलाई गाह्रो भएको छ ।
प्रदेश सभापति आकांक्षीमा रहेका अर्जुनजंग सिंह भने यी नेताहरूलाई मान्दैनन् । देउवासँग सिधै सम्पर्कमा रहेका उनी अहिले प्रदेश सभापतिका आकांक्षी हुन् । प्रदेशसभा सदस्य बोहराको भने बलियो उम्मेदवारी देखिएको छैन । ‘म पनि प्रदेश सभापतिका लागि आंकाक्षी छु’, उनले भने, ‘पार्टीबाट सहयोग मिले उम्मेदवारी दिनेछु । हेरौँ अवस्था के हुन्छ ।’

अर्जुनजंग शाही
अर्जुनजंग सिंह 

प्रदेश सभापतिका लागि बलियो उम्मेदवार मानिएका कैलाली जिल्ला पार्टी सभापति नरनारायण शाह हुन् । उनले अहिले सभापतिका लागि बलियो कसरत गरिरहेका छन् । प्रदेशमा लेखकभन्दा एनपी साउदका प्रतिनिधिहरू अधिकांश छन् । ‘प्रदेशमा लेखकभन्दा एनपी साउद बलियो देखिएका छन्’ उनले भने, ‘तर पनि पार्टी सभापतिमा कसले बाजी मार्छ भन्ने अहिले भन्न सकिने अवस्था छैन ।’

प्रदेशमा साउद र लेखकसँगै देउवाका विश्वास पात्र मानिएका बिरबहादुर बलायरको पनि प्रदेश सभापति उम्मेदवार विजयी गराउन ठूलो सहयोग आवश्यक रहेको देखिएको छ ।

‘बलायरले कुन नेतालाई सहयोग गर्छन् । त्यही प्यानल विजयी हुने देखिएको छ’, उनले भने ।

महामन्त्री नपाए प्रदेश सभापति लडाउँछौ : अछाम जिल्ला

देउवा पक्ष बलियो रहेको अछाम जिल्लाले प्यानलभित्र आफ्नो जिल्लाका प्रतिनिधिलाई महामन्त्री दिनुपर्ने माग गरेको छ ।
७१ जना प्रतिनिधि रहेको अछामबाट महामन्त्रीमा पञ्चदेवल नगरपालिकाकी उपप्रमुख अम्बीका चलाउनेलाई अघि सारिएको छ ।

‘हामीले चलाउनेलाई महामन्त्रीमा उम्मेदवार बनाउने गरी छलफल गरेर आएका छौँ’, अछाम जिल्ला पार्टी प्रवक्ता वेदप्रकाश तिमिल्सेनाले भने, ‘प्यानलभित्र महामन्त्री नपाए उनी पनि प्रदेश सभापतिका दाबेदार हुनेछन् ।’

एनपी साउदको पकड जिल्ला रहेको अछाममा महामन्त्री नपाए एकलौटी मत चलाउनेलाई दिने घोषणा गरेको उनले बताए ।

अछाम क्षेत्र नम्बर २ मा बलबहादुर कुँवर, ओमप्रकाश विष्ट, रामबहादुर शाहीबाहेक सबै देउवा प्यानलका प्रतिनिधि रहेका छन् भने क्षेत्र नम्बर १ मा नृप साउद, राजेन्द्र शाह, भुवनेश्वरी शर्मा, तपेन्द्र खडका, अर्जुन ताम्राकार, हर्ष भट्ट, टीकाराम खनाल, कृष्ण कुँवर रामचन्द्र पौडेलतिर रहेका छन् भने राजन कुुँवर गगन थापातिर रहेको जनाइएको छ ।

अछामका अन्य प्रतिनिधि देउवा प्यानलमा रहेका छन् ।

यसकारण उम्मेदवारी

विचार र सिद्धान्तका दृष्टिले सदृढ संगठन मेरो लक्ष्य : नरनारायण शाह मनु (कैलाली)

कैलालीका लगातार दुई पटक सभापति भइसकेका नरनारायण शाहले आफूसँग जित्नका लागि पर्याप्त मतसंख्या रहेको दाबी गर्दै भनेका छन्, ‘म स्वाभाविक उम्मेदवार हुँ ।’

उनले प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र (पाँच संसदीय निर्वाचन क्षेत्र र १० प्रदेश सभा निर्वाचन क्षेत्र) भएको कैलालीका अधिकांश प्रतिनिधिको समर्थन आफूलाई रहेको र अन्य जिल्लाबाट समेत ठूलो संख्यामा समर्थक प्रतिनिधिहरू विजयी भएकोले आफू जित्ने दाबी गरे ।

शाहले सुदूरपश्चिम प्रदेश कांग्रेसलाई विचार र सिद्धान्तका दृष्टिकोणले सुदृढ, वैचारिक रूपमा सबल कार्यकर्ता तथा गुटबन्दीको न्यूनीकरण आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।

उनले भने, ‘यो (प्रदेश समिति) पार्टीको इतिहासमा नितान्त नौलो अभ्यास र संरचना हो । त्यसैले स्वाभाविक रूपमा थुप्रै चुनौती छन् । पार्टीमा विचार र सिद्धान्त, इतिहासबारे पर्याप्त प्रशिक्षण छैन । त्यसैले कम्तीमा वर्षको तीन महिना कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्छ ।’


शाहले थपे, ‘युवाहरूलाई बढीभन्दा बढी प्रशिक्षित गरेर पार्टीलाई चलायमान बनाउने ठोस कार्यक्रममा मेरो ध्यान केन्द्रित हुनेछ ।
उनले हरेक संरचनामा ५० प्रतिशत युवा र ५० प्रतिशत अनुभवी पाका कार्यकर्ताहरू समेट्ने आफ्नो लक्ष्य रहेको बताए ।

२०५० सालमा कैलालीबाट कांग्रेसको क्रियाशील सदस्य बनेका शाह छोटो समयमा पार्टीको जिल्ला सभापतिमा पुग्ने नेता हुन् ।

२०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा पार्टीको सहसचिव बनेका थिए ।
उनी १२औँ महाधिवेशनमा कैलाली जिल्ला सभापति निर्वाचित भएका थिए भने १३औँ महाधिवेशनमा पनि पुनः जिल्ला सभापतिमा विजयी भएका थिए ।

म सर्वस्वीकृत उम्मेदवार हुँ: अर्जुनजंग बहादुर सिंह (बझाङ)

बझाङबाट दुई पटक सांसद, एक पटक सहायकमन्त्री र राज्यमन्त्री तथा राजदूत रहिसकेका अर्जुनजंगबहादुर सिंह पनि आफू कुनै अन्य पदको बार्गेनिङका लागि नभई स्वभाविक रूपमा प्रदेश सभापतिको उम्मेदवार रहेको बताउँछन् ।

‘मेरो झण्डै चार दशकको कांग्रेसको राजनीतिक यात्रा र लामो अनुभवले म यो पदको (प्रदेश सभापति) स्वाभाविक र सर्वस्वीकृत उम्मेदवार हुँ’, उनले भने, ‘सबै साथीहरूसँग छलफल गरेर नै मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।’
उनले एकताबद्ध सुदूरपश्चिम कांग्रेस आफ्नो लक्ष्य रहेको बताए ।

अर्जुनजंग सिंह

२०३६ सालमा नेविसंघको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका सिंह २०३८ सालमा संघको केन्द्रीय सदस्य र ०४२ सालमा केन्द्रीय उपाध्यक्ष रहेका थिए । २०४० सालमा बझाङ जिल्लाको कांग्रेस सचिव बनेका उनी २०४८ र ०५६ मा बझाङबाट निर्वाचित सांसद, ०५६ मा सहायकमन्त्री, ०६८ मा परराष्ट्र राज्यमन्त्री र ०७४ मा राजदूत बनेका थिए ।

उनले २०३८ सालदेखि प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी साढे तीन वर्ष जेल जीवन बिताएको बताए ।

मेरो उम्मेदवारी अपरिहार्य नै बनेको छ : गोविन्द बहादुर शाह (अछाम)

अछामबाट दुई पटक सांसद निर्वाचत तथा एक पटक राज्यमन्त्री बनिसकेका गोविन्दबहादुर शाह आफूले पार्टीका वरिष्ठ नेताहरू, समकालीन साथीहरू र युवाहरू सबैसँग सरसल्लाहबाट प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेको बताए ।

उनले आफूमा प्रदेश कांग्रेसलाई गोलबद्ध र सुदृढ बनाउन सक्ने क्षमता रहेको दाबी गरे । ‘विचार र सिद्धान्तले प्रशिक्षित कार्यकर्ता पंक्ति निर्माण मेरो पहिलो काम हुनेछ । कांग्रेसमा अहिले मूल्यांकन प्रणाली निकै कमजोर रहेकोले त्यसमा सुधार मेरो काम हुनेछ । त्यसैगरी, साधारण कार्यकर्तादेखि केन्द्रीय नेताहरू सबैको सम्मान गर्ने संस्कारको विकास मेरो दायित्व हुनेछ ।’

उनले एक्काइसौँ शताब्दीको चुनौती सामना गर्ने आधुनिक र संगठित पार्टी निर्माण आफ्नो लक्ष्य रहने बताए ।
२०३६ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका शाह २०३८ सालमा डोटी क्याम्पस इकाइको सभापति र स्ववियु सभापति, ०४३ सालमा त्रिवि एकाइको उपसभापति, ०४८ र ०५६ मा अछामबाट निर्वाचित सांसद, ०५६ मा सञ्चार राज्यमन्त्री बनेका शाह २०५१ को मध्यावधि र २०६४ को संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका थिए ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा दर्जनाँै पटक जेल जीवन बिताएको बताउँदै उनले भने, ‘मेरो लक्ष्य छ, सुदूरपश्चिम प्रदेशलाई कांग्रेसको मजबुत किल्ला बनाउने ।’

कांग्रेसका आम कार्यकर्तालाई उद्यमशीलतासँग जोड्छु : हिमबहादुर रावल (कैलाली, क्षेत्र नम्बर २)

केन्द्रीय तहका नेताहरू कोही प्रदेश सभापतिमा उम्मेदवार बनेको खण्डमा बाहेक आफू स्वाभाविक उम्मेदवार बन्ने बताउने कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले विगतको महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरिसकेका छन् ।
उनी भन्छन्, ‘मैले बार्गेनिङका लागि उम्मेदवारी घोषणा गरेको होइन । कोही केन्द्रीय नेता नै सभापतिको उम्मेदवार बन्नुहुन्छ भन्ने सोच्न सकिएला, होइन भने म सशक्त उम्मेदवार हुँ ।’

उनले कांग्रेसलाई २०४८ सालअघिको जस्तै बलियो बनाउने आफ्नो लक्ष्य रहेको बताए ।‘२०४८ सालदेखि पटक–पटक सुदूरपश्चिम प्रदेशका जनताले कांग्रेसलाई केन्द्रीय सत्तामा पु¥याए । अहिले पार्टी निकै लथालिङ्ग अवस्थामा छ । यसलाई पुनर्जीवन दिने हामी सबैको लक्ष्य हुनुपर्दछ ।’
उनले कांग्रेसका आम कार्यकर्तालाई उद्यमशीलतासँग जोड्ने गरी आफूले काम गर्ने बताए । उनले भने, ‘मैले साथीहरूसँग मिलेर कर्मभूमि समाजमार्फत पार्टीका क्रियाशील सदस्य, महिला, दलित सबैलाई उद्यमसँग जोड्ने कार्यक्रम अघि बढाइसकेको छु ।’

उनले पार्टीलाई सांगठानिक रूपमा सशक्त, आम कार्यकर्तालाई उद्यमी बनाउँदै चलायमान गर्ने र आउँदो स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई विजय गराउने आफ्नो कार्ययोजना रहेको बताए ।
२०४८ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेका रावलले आर्थिक क्षेत्रका विभिन्न निकायमा रहेर काम गरिसकेका छन् । उनले नेपाल एयरलाइन्सको निर्देशक, विशाल बजार कम्पनीको अध्यक्षसहित विभिन्न आर्थिक संस्थामा उच्च पदमा रहेर काम गरेका छन् ।

२०४८ सालअघिको मजबुत कांग्रेस निर्माण लक्ष्य : पुष्पकुमार शाही (डोटी)
सुदूरपश्चिम प्रदेश कांग्रेसको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नेमध्ये सबैभन्दा कान्छा (४० वर्ष) पुष्पकुमार शाही पनि आफ्नो उम्मेदवारी स्वाभाविक रहेको दाबी गर्छन् । लामो समय नेपाल विद्यार्थी संघमा जिल्लादेखि केन्द्रसम्म जिम्मेवारी बहन गरेका शाहीले भने, ‘म लगातार दुई पटक महाधिवेशन प्रतिनिधि भइसके । नेविसंघमा केन्द्रीय उपाध्यक्ष बनिसके । अब मैले पार्टीको केन्द्रीय सदस्य अथवा प्रदेश सभापतिमा लड्नुपर्छ भनेर साथीहरूसँग छलफल गरेर यो पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

उनले पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा कांग्रेस निकै कमजोर बनेको बताए । उनले भने, ‘आजका दिनमा प्रदेशका १६ संसदीय क्षेत्रमा एउटा मात्रै सिट कांग्रेसले जितेको अवस्था छ । पार्टीको अवस्था खस्किँदो छ । म सुदूरपश्चिममा कांग्रेसलाई २०४८ सालअघिको जस्तै बलियो पार्टीका रूपमा फर्काउन चाहन्छु ।’

शाहीले पार्टीका आम कार्यकर्ताहरूको क्षमता, स्वाभिमान र क्रियाशीलतालाई मूल्यांकन गरेर क्षमताअनुरूपको जिम्मेवारी दिने प्रणालीको विकास गर्ने बताए ।

उनले आफ्नो योजना बुँदागत रूपमा प्रस्तुत गरे । उनले नयाँ पुस्ताको जोसजाँगर र पुरानो पुस्ताको अनुभव र बलिदानलाई समायोजन गरेर पार्टीलाई अघि बढाउने बताए । २०५१ सालमा स्कुले विद्यार्थी हुँदाखेरी नै नेविसंघ विद्यालय एकाइको अध्यक्ष बनेको बताउने शाही ०५७ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति, ०६३ सालमा त्रिविवि एकाइ उपाध्यक्ष, २०६४ सालमा नेविसंघको केन्द्रीय सदस्य र २०७३ सालमा संघको केन्द्रीय उपाध्यक्ष रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?