नाइजेरियामा पनि भेटियो ओमिक्रोन भाइरस

लोकपथ
130
Shares

नाइजेरिया । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरुमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो बिरामी भेटिएका हुन् ।

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रुमध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटिफाले भने, ‘हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।’

उनले ती सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिए ।

‘ओमिक्रोन विश्वभरिको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नु पर्दछ’, उनले भने ।

नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र दुई लाख १४ हजार ११३ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

तर कतिपयले भने सरकारी अधिकारीहरुले दिएको विवरणभन्दा धेरैको मृत्यु भएको र त्योभन्दा धेरै सङ्क्रमित भएको दाबी गरेका छन् ।

कोरोनाभाइरसको परीक्षण निकै कम मात्रै भएकाले पनि सङ्क्रमित भएका र मृत्यु भएकाहरुको विवरण कम देखिएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?