विश्व एड्स दिवस : नेपालमा के-के भए एचआईभी निवारणका प्रयास ?

काठमाडौं । आज डिसेम्बर १ अर्थात् ३४औँ विश्व एड्स दिवस । ‘इन्ड इन्इक्वालिटिज : इन्ड एड्स’ अर्थात् ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित विश्वभर यस वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाइँदै छ ।

सन् १९८८ देखि मनाउन थालिएको एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरू खुलेर गर्न आह्वान गर्दछ । रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरू बोकेर विभिन्न ¥याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआईभी एड्सका बारेमा जनचेतना फैलाउँदै नेपालमा पनि यो दिवस आज मनाइँदै छ ।

विश्वमा सन् १९८१ मा एचआईभीको पत्ता लागेको थियो । सन् १९८८ मा नेपालमा एचआईभीको प्रथम संक्रमण देखिएको हो । नेपालले सन् २००४ बाट निःशुल्क एन्टी रेट्रो भाइरल (एआरभी) वितरण सुरु गरेको थियो । विश्वमा ४० वर्षअघि र नेपालमा ३३ वर्ष पहिले सुरु भएको एचआईभी संक्रिमितको संख्यामा पछिल्लो समय भने कमी आउन थालेको छ ।

विश्वमा एचआईभी एड्सको अवस्था

विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित रिपोर्ट भएदेखि सन् २०२० को अन्त्यसम्म ७ करोड ९३ लाख व्यक्तिहरू एचआईभी संक्रमित भइसकेका छन् । त्यसैगरी ३ करोड ६३ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भइसकेको छ । सन् २०२० को अन्त्यसम्म संसारमा ३ करोड ७७ लाख व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ ।

सन् २०२० मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको छ । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थिए । त्यसैगरी सन् २०२० मा १ लाख ५० हजार बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ । सनु २०१० मा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो ।

सन् २०२० मा मात्रै करिब ६ लाख ८० हजार व्यक्तिहरूको एड्सबाट मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ४८ प्रतिशतले कम देखिन्छ । सन् २०१० मा १३ लाख मानिसहरूको एड्सबाट मृत्यु भएको अनुमान थियो । सन् २०२० सम्ममा कुल एचआईभी संक्रमित ३ करोड ७७ लाखमध्ये ७३ प्रतिशत अर्थात् २ करोड ७५ लाख मात्र एन्टीरेट्रोभाइरल (एआरभी) उपचारमा छन् ।

त्यसैगरी सन् १९०० देखि २०१५ सम्म कन्डमको प्रयोग बढ्नाले ११ करोड ७० लाख नयाँ एचआईभी संक्रमण रोकिएको तथ्यांकले देखाएको छ ।

यस्तो छ नेपालमा संक्रमणको तथ्यांक

सन् २०२० को अन्त्यसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ । त्यस्तै ७ सय ५४ व्यक्तिहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको छ ।

सन् २०१० मा २ हजार ६१ नयाँ संक्रमण अनुमान गरिएको थियो । यसका साथै सन् २०२० मा ८० बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन २०१० को तुलनामा ६३ प्रतिशतले घटेको छ । सन् २०१० मा २ हजार २ सय १५ बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो ।

सन् २०२० मा मात्रै ६ सय ३६ व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ५५ प्रतिशतले कम हो । सन् २०१० मा १ हजार ४ सय १३ व्यक्तिहरूको एड्सबाट मृत्यु भएको अनुमान थियो । सन् २०२१ को जुलाई महिनासम्म नेपालमा २० हजार ८ सय ८३ संक्रमितहरूले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् ।

कहिलेबाट सुरु भयो नेपालमा संक्रमण ?

एक त यौनजन्य क्रियाकलापका लागि अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरूका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे ।
समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरूले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरू अझै पनि समाजमा सुन्न सकिन्छ ।

नेपाल र भारतको खुला सीमा अनि मौसमी कामका लागि भारत तथा वैदेशिक रोजगारीका लागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले अनि ती युवाहरूलाई यौनजन्य संक्रमणलगायत एचआईभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कँदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरूमा यो संक्रमण जानअन्जानमा सार्न पुग्दथे ।

नेपालमा एक दशकअघिसम्म एचआईभी एउटा महामारीका रूपमा थियो । महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो–कोहीलाई पनि हुन सक्दछ । बिस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरूको सहयोग अनि लगानीका कारणले नेपालीहरूमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धि हुँदै गएर आजका मितिमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात् कन्सन्ट्रेड एपिडेमिक भएको छ ।

यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कुल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ ।

नेपालमा एचआईभी महामारीको प्रकार

नेपालको वर्तमान एचआईभीको अवस्थालाई केन्द्रीकृत महामारी अर्थात् कन्सन्ट्रेटेड इपिडेमिकको रूपमा परिभाषित गरिन्छ । यसको अर्थ एक वा सोभन्दा बढी एचआईभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशतभन्दा बढी तर सामान्य जनसंख्यामा संक्रमण दर १ प्रतिशतभन्दा कम हुनु रहेको छ ।

जोखिम समूह

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरू सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू रहेका छन् । त्यस्तै महिला तथा पुरुष समलिंगी, तेस्रोलिंगीहरू र रोजगारीका लागि विदेशिनेहरू पनि जोखिम समूहअन्तर्गत पर्दछन् । सन् २०२० मा सम्पन्न सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ ।

यसैगरी सन् २०१७ मा भएका सर्भेक्षणअनुसार महिला यौनकर्मीहरूमा २.२ प्रतिशत र पुरुष समलिंगीहरूमा ६.२ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ । त्यस्तैगरी नेपालको तराई क्षेत्र, सुदूपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा एचआईभी संक्रमितहरूको संख्या अत्यधिक देखिएको तथ्यांकमा उल्लेख छ ।

विद्यमान चुनौती र तिनको सम्बोधन

नेपालमा एचआईभी संक्रमित भइसकेका तर आफ्नो एचआईभी संक्रमणको अवस्थाको बारेमा थाहा नपाएका व्यक्तिहरूको संक्रमणको अवस्था थाहा पाउनु, तिनीहरूबाट अन्य व्यक्तिमा एचआईभी संक्रमण हुनबाट रोक्नु र संक्रमित भइसकेकाहरूलाई उपचार, हेरचाह तथा सहयोगको पहुँचमा ठूलो चुनौती रहेको छ ।

एआरभी उपचारमा भएका सबै एचआईभी संक्रमितहरूको भाइरल लोडको अवस्था परीक्षण गरी उपचारमा सहयोग पु¥याउनु आवश्यक छ । एचआईभी संक्रमित, प्रभावितहरूप्रतिको लाञ्छना तथा भेदभाव कम गर्न आवश्यक कानुन, नीति, नियम बनाई सोको कार्यान्वयन गर्नु अत्यावश्यक रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र एनसीएसीका निर्देशक डा. सुधा देवकोटाले बताइन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र एनसीएसीका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार शाहले एचआईभी संक्रमितहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै गलत भएकाले उनीहरू आफ्नो रोग लुकाउन बाध्य भएको बताए ।

९५ : ९५ : ९५ लक्ष्य

दिगो विकास लक्ष्य सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ गर्ने भनिएको छ । जसको अर्थ ९५ प्रतिशत एचआईभी संक्रमितहरूले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरूमध्ये ९५ प्रतिशतले शरीरमा भाइरसको भाइरलको लोड न्यून भएको हुने भनिन्छ । एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७–०७८ सम्म ९०ः९०ः९० लक्ष्य राखेको थियो । जसको अर्थ ९० प्रतिशत एचआईभी संक्रमितहरूले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरूमध्ये ९० प्रतिशतले शरीरमा भाइरसको भाइरलको लोड न्यून भएको हुने भनिएको थियो ।

नेपालमा एचआईभी निवारणका प्रयास

नेपाल सरकारले एचआईभी र एड्ससम्बन्धी जानकारीमूलक र सचेतनाका सन्देशहरू समावेश गर्दै आएको छ । विभिन्न माध्यमबाट एचआईभी र एड्ससँग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामग्रीहरू पनि प्रकाशन तथा प्रशारण गरिँदै आएको छ । एड्ससम्बन्धी उपचारका लागि देशका ७७ वटै जिल्लामा एचआईभी सेवा तथा परामर्श केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ ।

एचआईभीसँग नजिकका मुद्दाहरू अनि यसका बहुआयामिक प्रभावलाई कम गर्न नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र एनसीएसीले प्रयास गरिरहेको बताएको छ । विशेष रूपमा एचआईभी र यौन रोगका मुद्दाहरूमा काम गर्ने एचआईभी एड्ससम्बन्धी कार्यक्रम सरोकारवाला र साझेदारहरूको समन्वयमा सञ्चालन गर्दै आइरहेको छ । सो केन्द्रले संक्रमितहरूको नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले पनि संक्रमणमा नियन्त्रण भइरहेको जनाएको छ ।

सरकारले एचआईभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआईभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ । नेपालमा अहिले एचआईभी संक्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८ सय ८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्नेगरेको एनसीएसीका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट पवनकुमार साहले बताए । उक्त संख्या कुल संक्रमितको ६९ प्रतिशत हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र एनसीएसीका निर्देशक डा. सुधा देवकोटाले आफूहरू एचआईभी संक्रमितको क्षेत्रमा हरेक दिन काम गरिरहेको र सरकारको प्रयास पनि उपलब्धिमूलक रहेको बताइन् । साथै उनले समाजमा विद्यमान एचआईभी प्रतिको नकारात्मक धारणाको अन्त्य सँगै संक्रमितमाथि हुने विभेद र असमानता हटाउन सबैलाई आग्रह गरिन् । त्यसका लागि व्यक्ति, समाज, सरोकारवाला सबैको सहयोग र सहकार्य हुन आवश्यक रहेकोमा पनि उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?