तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

RSS
49
Shares

खलङ्गा । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।

जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात्रा गर्दा एक दिनमा सिञ्जा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जिल्लामा आउनुपर्ने बाध्यता भएपछि तीनै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । त्यो सबै क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । सिंजाको कनकासुन्दरी गाउँपालिकाले हालै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

हिमा र सिञ्जाले यसअघिदेखि नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए । राजस्वकर छुटसहित रु १० लाख ८१ हजारमा एम्बुलेन्स पालिकामा पुगेको कनकासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले जानकारी दिए । गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेका अनुसार अघिल्ला वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजस्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको बताए।

पालिकामा एम्बुलेन्स नहुँदा खलङ्गा एम्बुलेन्स मगाउनुपर्ने समस्या बिरामीले भोग्दै आएका थिए । यो वर्षदेखि त्यो समस्याबाट नागरिकले उन्मुक्ति पाएको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमा गाउँपालिका सिञ्जा अध्यक्ष देवलसिंह रावलले बताए ।

सदरमुकामदेखि टाढा रहेको पातारासी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा दिँदै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?