किन खतरनाक मानिन्छ कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ?

लोकपथ
2.4k
Shares

काठमाडौं । कोभिडको महामारी विश्वमा फैलिएको लगभग दुई वर्ष भइसक्यो । यो अवधिमा कोरोनाका विभिन्न भेरिएन्टहरुले विश्व समुदायलाई फरक फरक समयमा उत्तिकै त्रासदी बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिडको हालै देखिएको नयाँ भेरिएन्ट ओमिक्रोनलाई ‘धेरै नै सङ्क्रामक र चिन्ताजनक स्वरूप’ रहेको जनाएको छ ।

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको यो भेरिएन्ट १० दिनमा २५ जनामा सङ्क्रमण भएको पाइएको थियो । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिएन्ट अहिले विभिन्न ७ मुलुकमा देखा परिसकेको छ । नेपालमा भने अहिले यो भेरिएन्टका सङ्क्रमित कोही पनि देखा परेका छैनन् वा पत्ता लागेको छैन । नेपाल सरकारले हालै अफ्रिकी मूलकबाट आएका व्यक्तिलाई दिने अन एराइभल भिसालाई रोक्का गरेको छ । यस्तै अफ्रिकी मुलुकबाट यात्रुहरू नल्याउन पनि एयरलाइन्सहरूलाई भनेको छ । ओमिक्रोन भाइरस पत्ता लागेपछि अहिले धेरै देशले दक्षिण अफ्रिकाबाट यात्रुहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ ।

अहिले देखा परेको ओमिक्रोन भाइरसमा धेरै नै उत्परिवर्तन (म्युटेसन) रहेको जनाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । ओमिक्रोनको सङ्क्रमण हुँदा पनि कोभिडकै जस्तै लक्षण देखिने गरेको छ ।

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन के हो ?

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोभिडको नयाँ भेरिएन्टको नाम ओमिक्रोन राखेको छ । यो भाइरस बि।१।१।५२९ अन्तर्गत फेला परेको हो । ओमिक्रोन दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागे पनि अहिले यो भाइरस बोत्सवाना, जर्मनी, हङकङ, बेल्जियम, ब्रिटेन र चेक रिपब्लिकमा पनि फेला परेको छ । ओमिक्रोन भाइरसबाट ग्रसित व्यक्तिमा देखिने लक्षण कोरोनाकै डेल्टा भेरिएन्टको जस्तै रहेको छ । समाचार अनुसार ओमिक्रोनको सङ्क्रमण अहिले ४० वर्ष मुनिका व्यक्ति जसले कोभिडविरुद्धको खोप नलगाएकामा बढी देखिएको जनाइएको छ ।

किन खतरनाक मानियो ओमिक्रोन

डब्लुएचओका अनुसार हालै देखा परेको कोभिडको ओमिक्रोन भेरिएन्टलाई हल्का रूपमा लिन नहुने बताएका छन् । तीव्र रूपमा सङ्क्रमण फैलिन सक्ने अनुमान गरिएको यो भेरिएन्टको पहिलो सङ्क्रमित ९ नोभेम्बरमा देखा परेका थिए । यो भेरिएन्ट कोभिडको डेल्टा भन्दा तीव्र रूपमा सर्ने अनुमान गरिएको छ । कोभिडविरुद्धको खोप लगाएका व्यक्तिमा पनि यो भेरिएन्टको सङ्क्रमण हुन सक्ने अनुमान विशेषज्ञहरूले गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यो भाइरस कतिको खतरनाक छ भन्ने विषयमा अहिले बताउन नसकिने जनाएको छ । तर यसमा पाइएको अनुबंशिकलाई हेर्ने हो भने यो अरू भेरिएन्टको कोभिड भन्दा बढी खतरनाक रहेको अनुमान गर्न सकिने जनाएको छ ।

ओमिक्रोनको लक्षण अरू भन्दा फरक छ ?

दक्षिण अफ्रिकाका चिकित्सकहरूका अनुसार ओमिक्रोनवाट सङ्क्रमित भएका व्यक्तिमा थकान, शारीरिक दुखाई, टाउको दुख्ने जस्ता लक्षणहरू देखिएको थियो । उनीहरू मध्ये कतिपयमा गन्ध र स्वाद पनि नभएको पाइएको छ । यो भेरिएन्टको सङ्क्रमण भएका कतिपयलाई अस्पताल भर्ना गर्न पनि नपरेको देखियो । तर यसमा गरिनु पर्ने चिन्ता भनेको जब यो भाइरसको सङ्क्रमणका लक्षणहरू परीक्षणबाट पत्ता नलागेमा सङ्क्रमित व्यक्तिमा खतरा अझ बढ्ने देखिन्छ ।

दक्षिण अफ्रिकाको राष्ट्रिय सरुवा रोग संस्थाका अनुसार ओमिक्रोनको लक्षण असामान्य रहेको छ । कतिपय सङ्क्रमितमा कुनै पनि किसिमको लक्षण नै देखिएको छैन । अहिले नै यो भाइरसको सङ्क्रमण भएको कुरालाई आरटी–पिसिआर टेस्ट वाट ओमिक्रोन भाइरसको भेरिएन्ट पत्ता लगाउन सकिँदैन । दक्षिण अफ्रिकाको ल्याबमै अहिले १ सय भन्दा बढी कोभिड सङ्क्रमितहरूको नमुना सङ्कलन गरिएको थियो । जसको नतिजा स्पष्ट रूपमा आउन सकेको छैन ।

कोभिड विरुद्धको खोपले रोक्न सक्छ ?

यदि कोभिड विरुद्धको खोप लिइएको छ भने यसले शरीरमा एन्टिबडी बनाएको हुनुपर्छ । तर कतिपय अवस्थामा बुष्टर डोल लिनु पर्ने अवस्थामा पनि हुन्छन् । डब्लुएचओले यो विषयमा अहिलेसम्म कुनै किसिमको जानकारी दिएको छैन । कोभिड विरुद्धको कुन खोप लगाएका लागि यो भेरिएन्टको खतरा कम हुन्छ भनेर उनीहरूले भन्न पनि सकिरहेका छैनन् । त्यसैले अहिले यो भाइरसको सङ्क्रमणबाट जोगिने उपाय भनेकै सुरक्षित रहनुलाई नै मानिएको छ । तर अक्सफोर्ड भ्याक्सिनका टिमले भने अहिले देखिएको भेरिएन्टलाई आफ्नो खोपले रोक्न सक्ने दावा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?