ट्राफिक महाशाखाको सफलता : एक महिनामै २३ वटा चोरीका मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण

लोकपथ
56
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।

महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैँसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकीमार्फत ती मोटरसाइकल बरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिए।

सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

यस आर्थिक वर्ष ०७८/७९ मा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागि पठाएको समेत महशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?