सुदूरपश्चिममा दूर–चिकित्सा सेवा लागू हुने

लोकपथ
247
Shares

धनगढी। देशभरमै सुदूरपश्चिममा दूर–चिकित्सा सेवा लागू हुने भएको छ । दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन प्रदेशको सेती प्रादेशिक अस्पताललाई केन्द्रस्थल बनाई सो सेवा लागू हुन लागेको हो ।

अहिले दुर्गम क्षेत्रमा विशेषज्ञहरुसँग फोनमार्फत सेवा उपलब्ध गराउँदै आए पनि अब प्रविधिमार्फत जटिल अवस्थाको बिरामीलाई सोही क्षेत्रमा रहेका टोलीबाट उपचार गर्न सहज बनाइन लागेको जनाईएको छ ।

सो सेवा लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग मातहात रहेको उपचारात्मक महाशाखाको आयोजनामा भएको दुर–चिकित्सा सेवा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खडकाले सेवालाई प्रभावकारी रुपमा अगाडी बढाउन मन्त्रालय तयार रहेको बताए ।

‘अहिले पनि दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच छैन । त्यहाँ भएका जनशक्तिले जटिल उपचार गर्न सक्दैनन’ उनले भने –‘प्रादेशिक अस्पताललाई केन्द्रित गरी सोही अस्पतालमा रहेका विशेषज्ञहरुसंग प्रविधिको प्रयोग गरि सेवा सुविधा प्रदान गरिनेछ ।‘

आईसीसीआरका प्रतिनिधी राम भण्डारीले प्रदेशका अधिकाँस जिल्लामा इन्टरनेटको पहुँच नभएको बताए ।

‘यस प्रदेशमा इन्टरनेटको द्रुत गति छैन । ल्यापटपमा काम गर्न गाह्रो छ’ उनले भने –‘संघ-संस्थाको आग्रह नेपाल टेलिकमले मानेन । अब सरकारलेनै यही प्रविधि अपनाउने हुँदा सरकारले आग्रह गरे सहज हुने छ ।’ उनले अहिले अस्पतालमा इन्टरनेट जडानमै महँगो खर्च रहेको बताए । उनका अनुसार दूर–चिकित्सा सेवा लागू सुरु गर्न दुई हजार पाँच सय शुल्क लाग्ने गरेको बताए ।

प्रदेशमा सबैभन्दा समस्या भनेको आमा र बच्चामा जटिल समस्या हुँदै आएको छ । उनले डँडेल्धुरामा आमा र बच्चाको उपचार गर्न संस्थाले अलग्गै अस्पताल स्थापना गरेको बताए । ‘यहाँ जटिल समस्या भनेको आमा र बच्चाको हो । उनीहरुको सहज उपचारका लागि हामीले डडेल्धुरा अस्पतालभित्रै अलग्गै अस्पताल स्थापना गरेका छौं’ उनले भने ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर जगदिश जोशीले प्रदेश सरकारले सो सेवा लागु गर्न तयार रहेको बताए ।

‘सेती प्रादेशिक अस्पतालमा ट्रमा र विपद जोखिममा परेका विरामीका लागि उपचार गर्न तयार रहेको छ’ उनले भने –‘अब सेतीमात्र नभई महाकाली, टिकापुर र डडेल्धुरा अस्पतालमा पनि विशेषज्ञ चिकित्सकहरु भर्ना गरिने छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयले सेती प्रादेशिक अस्पतालले सो सेवा लागु गर्न तयार रहेको बताए । उनले सेवामा खटिएका चिकित्सक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता तथा सेवा सुविधा उपलब्ध गराउन सरकार तयार हुनुपर्ने बताए ।

‘हामीले निर्देशिका पढेका छौं । कुरा सहि हो तर, खटिएका व्यक्तिलाई के–कति सुविधा तथा प्रोत्साहन भत्ता दिने भन्ने स्पष्ट छैन’ उनले भने ।

महाशाखा प्रमुख पवनजंग राय माझिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महाशाखाका फार्मेसी प्रमुख भरतमणि मरठाले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?