गण्डकी सडक मानवमुक्त प्रदेश घोषणा

लोकपथ
351
Shares

काठमाडौं । गण्डकी प्रदेश सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आज पोखरामा आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गरे ।

प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको सरकारले जनाएको छ । सडक मानव व्यवस्थापनका लागि प्रदेश सरकारले मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । यसका लागि प्रदेश सरकारले आश्रममा रहेकालाई प्रतिव्यक्ति मासिक  तीन हजार उपलब्ध गराउनेछ ।

सडकमा आश्रित मानिसको उद्धार गरी मानव सेवा आश्रममा राखेर सडक मानवमुक्त बनाउने योजना छ । अहिले मानव सेवा आश्रमले गण्डकीका चार जिल्लामा सेवा सञ्चालन गर्दै आएको छ । ती केन्द्रमा हाल ४०० जना आश्रित छन् । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार भौतिक विकास मात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत क्रियाशील रहेको बताए ।

पर्यटकीय नगरी पोखरामा सडकमा आश्रित मानवका कारण नकारात्मक सन्देश गइरहेको र अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताए । उनले भने, “हामी बाटोघाटो पनि बनाउँछौँ, त्यसका अतिरिक्त सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेका छौँ ।” मन्त्रालयले कोरोनबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?