एमाले महाधिवेशन : महासचिवमा महासंग्राम, को बन्ला ओलीको उत्तराधिकारी ?

काठमाडाैं I दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि आफूले कसैलाई पनि अगाडि नसारेको बताए ।

‘महासचिवमा अहिले कसैलाई मन पराएको छैन । जो छानिन्छ उसैलाई मन पराउँछु’, ओलीले भने, ‘सहमति हुन्छ भने राम्रो, हुँदैन भने कसैलाई करकाप गर्दिनँ । कसैको अवसरमा भाँजो हाल्दिनँ । मेरो नजरमा सबै नेता उस्तै हुन् ।’

अध्यक्ष ओलीको यो अभिव्यक्तिसँगै एकताको महाधिवेशन भनिएको एमालेको १०औँ महाधिवेशन चुनावतर्फ उन्मुख भएको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

यतिबेला अध्यक्ष ओलीको उत्तराधिकारी को बन्लान् भन्ने जिज्ञासा र चर्चा चुलिएको छ । एमालेमा अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ हो । दशौँ महाधिवेशनमा महासचिव बन्न सफल व्यक्ति र सो पदका दाबेदार नै ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि दाबेदार हुन् । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै सर्वेसर्वा पद थियो ।

सोही कारण अहिले पार्टीको महासचिव बन्न एमाले नेताहरूको दौडधुप बढ्दो छ । एमालेमा अहिले तीनवटा मनोविज्ञान क्रियाशील छन्ः संस्थापन पक्ष, माओवादी छाडेर आएका र संस्थापनसँग १० बुँदे सहमति गरी एमालेमा फर्किएका नेताहरू । यी तीनवटै मनोविज्ञानलाई पदाधिकारीमा समेट्नुपर्ने चुनौती ओलीसामु छ ।

महासचिवका दाबेदार र आकांक्षीहरू

दशौँ महाधिवेशनबाट एमालेले एक जना महासचिव चयन गर्नेछ तर आकांक्षीहरू भने आधा दर्जन नाघेका छन् । शंकर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ महासचिवका दाबेदारहरू हुन् । हालका सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट पनि महासचिव पदका आकांक्षी हुन् भने योगेश भट्टराई सचिव पदमै दोहोर्‍याउने मुडमा छन् ।

एमालेको महासचिवका लागि सशक्त दाबेदार हुन्, स्थायी कमिटी सदस्य शंकर पोखरेल । अध्यक्ष ओलीको विश्वासिलो पात्र उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ छ । दाङ निवासी ५९ वर्षीय पोखरेल जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता पनि हुन् ।

नवौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित उनी ०७४ को निर्वाचनमा प्रदेश सदस्यमा निर्वाचित भए । उनी लुम्बिनी प्रदेशनका निवर्तमान मुख्यमन्त्री हुन् । पोखरेलको कार्यक्षेत्र लुम्बिनी भए पनि ओलीलाई अप्ठ्यारो पर्दा उनी रातारात काठमाडौँ आइपुग्थे । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पढ्ने क्रममा स्वास्थ्यमा अप्ठ्यारो परेपछि ओलीले पोखरेललाई पढ्न लगाएका थिए ।

तर पोखरेलका प्रतिस्पर्धीका रूपमा ओलीनिकटकै उपमहासचिव विष्णु पौडेल छन् । पौडेल पनि ओलीका विश्वासपात्र हुन् । यस कारण पोखरेललाई चयन गर्न ओलीलाई सकस परिरहेको छ ।

अर्कातिर पोखरेललाई मन नपराउने खेमा पनि एमालेमा सक्रिय छन् । माओवादीबाट आएका र विगतमा माधव नेपालको गुटमा रहेका नेताहरू पोखरेललाई रुचाउँदैनन् । उता पृथ्वी सुब्बा गुरुङ पनि पोखरेलविरुद्ध उभिने तम्तयारीमा छन् ।

महासचिव पदका अर्का दाबेदार हुन्, विष्णु पौडेल । पौडेल, एमालेको नवौँ महाधिवेशनमा ओली समूहबाटै उपमहासचिव पदमा निर्वाचित भएका हुन् । पौडेलले तत्कालीन एमाले र माओवादी एकता भई बनेको नेकपाको महासचिव पदको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पार्टी एकतामा समेत उनले प्रभावकारी भूमिका निभाएका थिए ।

शालीन स्वभावका पौडेल ओलीका विश्वासपात्र हुन् । ओलीले आफ्नो कार्यकालमा दुवै पटक पौडेललाई अर्थमन्त्री बनाएका थिए । पौडेललाई पनि शंकर पोखरेलकै चिन्ता छ । किनकी ओलीसँग पौडेलभन्दा पनि पोखरेल नजिक छन् । नेता, कार्यकर्ताबीच समन्वयकारी भूमिका खेल्न अब्बल नेता हुन्, पौडेल ।

यस्तै एमाले महासचिव पदका अर्का दाबेदार हुन्, ६३ वर्षीय सुरेन्द्र पाण्डे । नवौँ महाधिवेशनमा माधव नेपालको समूहबाट महासचिवमा प्रतिस्पर्धा गरेका उनी ईश्वर पोखरेलसँग ६ मतले मात्रै पराजित भएका थिए ।

एमालेको प्रचार विभागले सार्वजनिक गरेको एक भिडियो सन्देशमा पाण्डेले भनेका छन्, ‘अघिल्लो महाधिवेसनमा टेक्निकल गेममा महासचिव हारेँ, तर म त्यो पदमा डिजर्भ गर्छु । यसपालि महासचिवभन्दा तल उठ्ने कुरा हुँदैन । महासचिव वा त्योभन्दा माथिको जिम्मेवारीचाहिँ पार्टीभित्रको आवश्यकता र समयले तय गर्नेछ ।’

पाण्डेले लामो समय माधव नेपाल समूहमा रहेर राजनीति गरे । तर गत भदौ २ मा नेपाल समूह अलग्गिए पनि पाण्डे भने एमालेमै बसे । ओलीले संसदमा विश्वासको मत लिन खोज्दा तत्कालीन वरिष्ठ नेता नेपालसहितका सांसदहरूले संसद् बहिष्कार गरे । तर पाण्डेले ओलीलाई विश्वासको मत दिनुपर्ने अडान राखेका थिए । उनले ओलीविरुद्ध राष्ट्रपति कार्यालयमा र सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएनन् । नेकपा एसको महासचिव पदको ‘अफर’ अस्वीकार गरेका थिए । यावत कारण पाण्डेप्रति ओलीको सहानुभूति रहेको छ ।

यद्यपि पाण्डे विगतमा नेपाल–खनाल समूहका नेता भएकाले पोखरेल र पौडेलसामु उनी फिक्का देखिन्छन् । पोखरेल र पौडेलको बाझाबाझको अवस्थामा मात्रै पाण्डेलाई चिठ्ठा पर्ने देखिन्छ । महाधिवेशनको व्यवस्थापनमा उनी सक्रिय भएर लागेका छन् ।

एमाले महासचिवका आकांक्षी हुन्, प्रदीप ज्ञवाली । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित ज्ञवाली उपमहासचिवको दाबेदार भए पनि उनको ध्यान महासचिवतिरै छ । मिजासिलो स्वाभावका ज्ञवाली पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक हुन् ।

ज्ञवालीलाई ओलीले पार्टी प्रवक्ताको जिम्मेवारी मात्रै दिएनन् परराष्ट्रजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी समेत दिए । ओलीले उनलाई यस पटक उपमहासचिवमा व्यवस्थापन गर्ने कुरा राजनीतिक वृत्तमा चर्चा छ ।

महासचिव पदका अर्का दाबेदार हुन्, हालका उपमहासचिव घनश्याम भुसाल । एमालेभित्र वैचारिक नेताका रूपमा परिचित भुसालले अध्यक्षमा उम्मेदवारी दिने चर्चा पनि छ । यद्यपि भुसालले महासचिव पद पाउने सम्भावना न्यून छ । किनकि उनीप्रति ओलीको दृष्टिकोण सकारात्मक छैन ।

चुनावी मैदानमा उत्रिनु परे भुसाल महासचिव नभएर अध्यक्ष पदमा उम्मेदवारी दिने मुडमा छन् । विगतमा माधव नेपाल गुटमा रहेका उनी १० बुँदे सहमति गरेर एमालेमा फर्किएका हुन् । सहमतिमा महासचिव वा उपाध्यक्ष पद पाए स्वीकार्ने मनस्थितिमा छन् भुसाल ।

यस्तै महासचिवका अर्का दाबेदार हुन्, हालका सचिव पृथ्वी सुब्बा गुरुङ । उनले महासचिवमा आफ्नो दाबी रहेको कुरा सार्वजनिकरूपमै बताइसकेका छन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङ अध्यक्ष ओलीले आफूलाई राम्रै स्थान दिनेमा आशावादी छन् ।

यसका साथै गोकर्ण विष्ट र भीम आचार्य पनि उपमहासचिव वा महासचिवका दाबेदारमध्येमा पर्छन् ।

एमालेमा महासचिव पद शक्तिशाली हुने र आगामी अध्यक्षको दाबेदार भएकाले उनीहरू तारन्तार ओलीनिवास बालकोट धाइरहेका छन् । उनीहरू मात्रै होइन अन्य पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यका दाबेदारहरू समेत नियमितजसो बालकोट धाइरहेका छन् । सभा समारोहहरूमा अध्यक्ष ओलीको चर्चा गर्नेदेखि सञ्चारमाध्यमहरूमा छाउने क्रम समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?