लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान : कसरी र किन मनाइँदै छ ?

काठमाडौं । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर ९ देखि २४ गते) सम्म मनाइने अभियान आजदेखि देशभर विभिन्न कार्यक्रम गरी सुरु भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यस वर्षका लागि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । त्यस्तै ‘अरेन्ज द वल्र्ड : भोइलेन्स अगेन्स्ट विमेन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथै विश्वभर यो अभियान मनाइँदै छ ।

यस कारण मनाउन सुरु गरियो
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मूलतः लैंगिकताको आधारमा हुने सबै किसिमका हिंसा, अपराध, अन्धविश्वास, कुरीति, अपराध, बहिष्करण र वञ्चितीकरणलाई अन्त्य गर्ने उद्देश्यले मनाउन थालिएको हो । यसका साथै यस अभियानले महिला, पुरुष र तस्रोलिंगीहरूबीच हुनेगरेका सबै किसिमका विभेद र असमानतालाई हटाउने लक्ष्य बोकेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार बालबालिका, किशोरी, वयस्क, वृद्धा सबै उमेरका महिला र सबै लिंगका मानिसहरूलाई बिनाभेदभाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउनका लागि अभियानले सहयोग गरेको छ । समाजमा जागरण ल्याउने उद्देश्यले १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । यसर्थ लैंगिक हिंसारहित समतामूलक समाजको निर्माण गर्नका लागि यो अभियान सुरु गरिएको हो ।

कहिलेदेखि मनाउन सुरु गरियो ?
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन तरुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि सन् १९९१ बाट विश्वव्यापी १६ दिने अभियान मनाउन थालिएको हो ।

नेपालमा कहिलेदेखि सुरु भयो ?
लिंगका आधारमा हुने सबैखाले हिंसाविरुद्ध हरेक महिला तथा बालिकाहरूको मानव अधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रूपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि मनाउन सुरु गरिएको थियो ।

यस अवधिमा देशभर नै लैंगिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिँदै आइएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ मंसिर २ को निर्णयअनुसार हरेक वर्ष मंसिर ९ गतेलाई महिला हिंसाविरुद्धको अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
संघीय सरकारका मन्त्रालय, सातै प्रदेश, ७ सय ५३ वटै स्थानीय निकायहरूले लैंगिक हिंसाविरुद्ध अन्तरक्रियात्मक तथा सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी यो अभियान मनाइँदै छ । विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान सञ्चालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

राष्ट्रव्यापी रूपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेशसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको योजना छ । देशभर लैंगिक हिंसाका घटना वृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा घरबाटै हिंसा अन्त्य गर्न सुरु गर्ने सम्बन्धमा केन्द्रित बनाइएको पनि मन्त्रालयको भनाइ छ ।

यसरी गरौँ लैंगिक हिंसाको अन्त्य
लैंगिक हिंसा महिलाको मात्र समस्या मात्र नभएर हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । नेपालको संविधानले लैंगिकलगायत सबै विभेदको अन्त्य गर्ने संकल्प राखेको छ । नेपाल सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।

राष्ट्रिय महिला आयोगले महिलाहरूको हक अधिकार सुनिश्चित गर्दै महिलाविरुद्ध हुने कुनै पनि प्रकारका हिंसा तथा विभेदको पूर्ण रूपमा अन्त्य गर्न प्रतिबद्ध हुन सबैलाई आग्रह गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले सरकारका विभिन्न निकायहरूले गर्ने लैंगिक हिंसाविरुद्धका अभियानमा प्रहरीले पनि सहयोग, सहकार्य र समन्वय गर्ने बताएका छन् ।

हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

लैंगिक हिंसाको निदान संविधान र कानुनबाट मात्र सम्भव नहुने महिला अधिकारकर्मीहरूले बताएका छन् । समाजमा महिलालाई हेर्ने सोच र दृष्टिकोणमा परिवर्तन आवश्यक भएको र सकारात्मकताका लागि आफूबाटै परिवर्तनको सुरुवात गरिनु आवश्यक रहेकोमा उनीहरू जोड दिन्छन् । यसका साथै लैंगिक हिंसापीडितको मानव अधिकार संरक्षण गर्न व्यक्ति, परिवार, समाज र सम्बन्धित निकाय सबै संवेदनशील हुन जरुरी रहेको पनि अधिकारकर्मीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?