काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।
शुक्रबारदेखि चितवनमा हुन लागेको महाधिवेशनमा सुरक्षालाई मध्यनजर गर्दै प्रहरी एआईजी सहकुलबहादुर थापाको कमान्डमा एक हजारभन्दा बढी प्रहरी टोली खटिने नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए ।
महाधिवेशनमा सशस्त्र प्रहरीको टोली पनि हुनेछ । सुरक्षामा बागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने र समग्र कमान्ड एआईजी थापाले गर्नेछन् ।
यसैबीच, महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो ।
बिहान ९ देखि साँझ ५:३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया