१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन् । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरे ।
शिक्षामन्त्रीले बालबालिकाहरुलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए ।
‘बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको छ, मन्त्री खतिवडाले भने, ‘आउने वित्तिकै विद्यार्थीेले खोप पाउँछन् ।’
मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए । १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुदधको खोप लगाउनुपर्ने छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् । ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया