काठमाडौं । धनुषा, कैलाली, बर्दिया, नवलपरासी (पश्चिम) र रौतहटमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-७ क्षिरेश्वर मन्दिरस्थित सडकमा ना.१ ज ७३२८ नम्बरको विङ्गर र ज १ च १६७४ नम्बरको एम्बुलेन्स एक–आपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा एम्बुलेन्समा सवार सोही नगरपालिका-९ ईच्छापुर बस्ने ७० वर्षीय सोसिलाल यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक समेत ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-४ राजिपुर राधाकृष्ण मन्दिरस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१-००९ प २९०० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय धन बहादुर नेपालीको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी बर्दिया, मधुवन नगरपालिका-८ कुसुम्बाघाटस्थित सडकमा भे.१० प ३३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बासगढी नगरपालिका–६ बस्ने ३० वर्षीय महेश्वर अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सुनवल नगरपालिका-१० गैडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुवरको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-८ बैजनाथपुरस्थित सडकमा ना.५३ प ६११२ नम्बरको मोटरसाइकल र ना.४३ प ६२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुघटना हुँदा ना।५३ प ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–९ डुमरिया बस्ने २५ वर्षीय रामा शंकर साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया