काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ ।
कम्प्युटर एसोसियसन नेपाल (क्यान)महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका थिए । वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेस अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ)मा क्यानमहासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममा भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर-एनजीओ) विधाअन्तर्गत जितेको हो ।
त्यस्तै, गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फरमेसन एन्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधितथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट वन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया