‘गोला प्रथा प्रणाली आउँदैमा प्रधानन्यायाधीशको दाह्रा नंग्रा गएको मान्नु हुन्न’

लोकपथ
182
Shares

काठमाडौं । नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने आरोप लगाएका छन् ।

आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताए । न्यायपरिषदबाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत आफू अनुकूलको काम गर्नसक्ने उनको भनाई छ । गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ ।

अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताए । उनले भने – ‘अहिले न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई त हटाउने काम गर्न खोजिएको छ । तर विचौलियाहरुलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषदबाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेको छ, कानुनविपरीतमा । त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्ला, उसले खान पाउने तरिका त अर्को छँदै छ । त्यसकारणले गर्दा यो रोक्नका लागि उसलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिँदैन तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब नङ्ग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन । अर्को चपाउने दाँत छ । सरुवा काजमार्फत न्यायाधीशहरुलाई थर्काउने काम भइराखेको हुन्छ । न्याय प्रशासन र न्याय सम्पादनमा जबसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहन्छ ।’

उनले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल कहाँ र संसदमा पनि जाने भन्दै त्यहाँ जानु अघि नै राजीनामा दिन चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?