वाम एकताको कोर्स कम्लिट, एमाले–माओवादी एकता घोषणा

काठमाडौं । एकता गर्ने भनिएको ९ महिनापछि एमाले र माओवादीबीच एकता घोषणा गरिएको छ । गत असोज १७ गते दुई पार्टीबीच चुनावी गठबन्धन गरिएको थियो भने निकट भविष्यमा एकता गर्ने भनिएको थियो । 

सोहिअनुसार विभिन्न चरणको छलफल हुँदै आज राष्ट्रियसभागृहमा एक कार्यक्रमका बीच एकता घोषणा गरियो ।  एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ  भने  अध्यक्ष प्रचण्ड र केपी ओली नै रहेका छन् । पार्टीको चुनाव चिन्ह सूर्य राखिँदा केन्द्रीय समिति भने ४४१ सदस्सीय बनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीका २०० सदस्य अटाएका छन् । यसैगरी  स्थायी कमिटी ५४ सदस्सीय बनाइँदा एमालेका २६ र बाँकी माओवादीका रहेका छन् ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रम भंग भएको बताएका छन् । अब कम्युनिष्ट पार्टी नफुट्ने भन्दै उनले भने, ‘अक्सिजन र हाइड्रोजन मिलेर पानी बन्यो, अब पानीमा अक्सिजन र हाइड्रोजन छुट्याउन सकिँदैन । अब माओवादी केन्द्र र एमाले मिलेर नयाँ पार्टी बन्यो, अब यहाँ एमाले र माओवादी केन्द्र छुट्याउन सकिँदैन ।’ यसैबिच प्रधानमन्त्री तथा नवगठित नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब विकासको गतिमा अगाडि बढेको बताएका छन् । उनले भने, ‘अब कम्युनिष्ट अगाडि बढ्यो, देश अगाडि बढ्यो ।’ सरकारसँग यसअघि एक्लै बहुुमत नभएकोमा अब पार्टीको एक्लै बहुमत भएको, ६ वटा प्रदेशमा मिलिजुली सरकार रहेकोमा अब एक्लै बहुमत रहेको, पपुलर भोटमा एक्लै बहुमत रहेको, स्थानीय तहहरुमा एक्लै बहुमत रहेको सम्झाउँदै उनले भने, अब कसैले हल्लाउन र ढाल्न नसक्ने गरी एकल बहुमत छ । उनले भने, ‘कांग्रेसहरु आत्तिनु पर्दैन ।’ स्याउको रुखबाट पात झर्न थालेपछि रुख म¥यो कि भन्ने मान्छेहरुले पनि स्याउ लटरम्म फल्न थालेपछि यथार्थ कुरा थाहा पाई स्पष्ट हुने बताउँदै प्रम ओलीले भने, ‘अब कम्युनिस्ट आन्दोलनमा नो विन्टर सिजन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?