तीन महिनमा वस्तु आयात १२.७ प्रतिशतले घट्यो

RSS
91
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, हवाईजहाज तथा पाटपुर्जा, अन्य मेसिनरी तथा पाटपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी दुई खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

आव २०७७/७८ को तीन महिनामा कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

सो अवधिमा चालु खाता ३४ अर्ब ३६ करोड रुपैयाँले बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाख रुपैयाँले बचत छ । सो अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई तीन अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई दुई अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ६८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९९ करोड रुपैयाँ थियो ।

त्यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोड रुपैयाँले बचत छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँ बचत थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाख रुपैयाँ बचत रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाख बचत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?