२ माघ २०७८, आईतवार

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

२०७८,कार्तिक,२९,सोमवार ०८:०१

180
Shares

दमौली । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।

दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् । यसैगरी व्यासले पनि सोही अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति प्रकाशित गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।

आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो ।
कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजाराँैको सङ्ख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।

आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ । मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।

कृषकको गुनासो : बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने, “नगरपालिकाले कृषकलाई हेरेन ।”

व्यास नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा गुनासो राख्दै उनले थपे, “गत असार १२ गते नगरपालिकामा आएर अनुरोध गरेँ, बाँदरले दिएको दुःखका बारेमा जानकारी गराएँ, तर कुनै सुनुवाइ भएन ।” वर्षाले धान नष्ट हुँदा सरकारले क्षतिपूर्ति दिने सुनेपनि बाँदर आतङ्कबाट पीडित कृषकलाई नगरपालिकाले सम्बोधन नगरेको उनको गुनासो थियो । न्यौपानेले असारमा लगाउनुपर्ने धानको बीउ भदौमा मात्र पाएको, समयमै आलुको बीउ नपाएको गुनासो पनि राखे ।
उनले विकास निर्माणमा पनि व्यास–५ र ६ लाई उपेक्षा गरिएको आरोप लगाए । “हामीलाई त नगरपालिका छ र भन्ने अनुभूति नै छैन, विकासमा प्राथमिकतामा परेको छैन, मादीपारिको दुई वडालाई हेला गरिएको छ”, उनले भने । व्यास –२ का तेजबहादुर विश्वकर्माले घर निर्माणका क्रममा पहुँचवालाले मापदण्ड पालना गर्न नपर्ने तर पहुँच नहुनले सबै मापदण्ड पालना गर्नुपरेको गुनासो राखे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले फोहरमैला व्यवस्थापन, घरनक्साको मापदण्ड, विकास निर्माण, कृषकका समस्यालगायतका विषयमा गुनासो राखेका थिए । नगरवासीको गुनासो सम्बोधन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले फोहरमैला व्यवस्थापन, विकास निर्माणलगायतमा नगरपालिका गम्भीर भएर लागिपरेको बताए ।

उनले फोहरमैलाको दीर्घकालीन व्यवस्थाका लागि व्यास–४ र १० को बीचमा पर्ने रानीपानी वनमा वातावरणीय अध्ययन भएको बताउँदै राष्ट्रिय वन भएकाले मन्त्रिपरिषद्बाट स्वीकृत गराउन बाँकी हुँदा ढिलाइ भएको उल्लेख गरे । उनले बाँदर पीडितलाई राहत दिँदा थेगिनसक्नुहोला भनेर राहत दिन नसकिएको जनाउँदै भने, “व्यासका अधिकांश वडामा यसको समस्या छ, थेगिनसक्नु होला भनेर राहत दिन सकेका छैनौँ, तर केही सम्बोधन भने अवश्य गर्छौं ।” न्यौपानेले विकास निर्माणमा सबै वडालाई प्राथमिकता दिइएको बताउँदै समानुपातिक रुपमा वडामा बजेट विनियोजन गरिएको बताए ।

प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधानका कारण नगरपालिकाले नेपाल पत्रकार महासङ्घ तनहुँको सहकार्यमा सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, विभिन्न वडाका अध्यक्ष, शाखाका प्रमुखले गुनासोको सुनुवाइ गरेका थिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,२९,सोमवार ०८:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका

कास्की । पर्यटकीय शहर पोखरा खेलकुद गतिविधिमा देशकै अग्रणी स्थानमा पर्दछ । यहाँ हरेक साता प्रतियोगिता हुने गर्दछन् । रंगशालामा

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६