कुमारी बैंकको १९ करोड काण्ड : मुख्य योजनाकारलाई उन्मुक्ति दिन चलखेल

लोकपथ
897
Shares

काठमाडौ

पछिल्लो समय एक कलाकारको नामको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड ऋण लिएको घटनाले नयाँ मोड लिएको छ ।

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआबी)ले अनुसन्धान अगाडि बढाउँदै लगेपछि नयाँ–नयाँ रहस्य खुल्दै जाँदा घटनाले नयाँ मोड लिएको हो । सीआईबीले अहिले त्यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

सीआईबीले हालसम्म मुक्तिनाथ गौतम, यशकेकुमार महर्जन्, सोनु ठाकुर, कुसन प्रधान (बिरामी भएका कारण पक्राउ नगरिएको) र अजय चौरसियालाई पक्राउ गरेको छ ।

सोनु ठाकुर कुमारी बैंक वीरगञ्ज शाखाका ऋण अधिकृत हुन् । चौरसिया मूल्यांकनकर्ता हुन् । पक्राउ गरेका यी चार जनाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबी प्रवक्ता श्यामकुमार महतोले बताए ।

बैंकका सीईओ समेत तानिँदै

१९ करोड रुपैयाँ ऋण प्रवाह गर्दा वीरगञ्ज शाखाबाट न्युरोड शाखालाई पत्र लेखेर अनुमति लिएर सो ऋण प्रदान गरिएको अनुसन्धानमा खुलेको छ ।

ठूला खालका ऋण प्रवाह गर्दा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले हस्ताक्षर गरेपछि मात्रै प्रवाह हुन्छ । त्यसैले अनुसन्धानका क्रममा सीआईबीले बैंकका कार्यवाहक सीईओ अनुजमणि तिमिल्सिनालाई समेत तानेको छ ।

‘अनुसन्धानका क्रममा संलग्नता देखियो भने सीईओलाई पनि ल्याउनुपर्ने हुन्छ’, प्रवक्ता महतोले भने ।

यस प्रकरणका प्रधान र बैंकका कामु सीईओ अनुजमणि तिमिल्सिनाबीच नजिकको सम्बन्ध रहेको देखिएको छ । तिमिल्सिना सेन्चुरी बैंकबाट कुमारी आएका हुन् । उनलाई प्रधानले त्यहाँ भएको डलर काण्डबाट बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रधान र तिमिल्सिना दुवैले सँगै फिलिपिन्सबाट एमबीए समेत गरेका थिए । त्यसैले यिनीहरूको सम्बन्ध घनिष्ट छ । घनिष्ट सम्बन्ध भएकै कारण प्रदानले भनेको कुरा मान्छन्, कामु सीईओ तिल्सिना ।

त्यसैले प्रधानले भन्नेबित्तिकै ऋण दिए उनले । सीआईबीले तत्काल केही नखुलाए पनि कामु सीईओ तिमिल्सनामाथि पनि शंका गरेको छ । ठूलो कर्जा प्रवाह गर्दा बैंकले राम्रोसँग अध्ययन नगरी प्रवाह गरेको भन्दै तिल्सिनाथि अनुसन्धान भइरहेको छ ।

नक्कली कागजात पेस गरी कर्जा गएको खुलेपछि बैंकले हतारमा कर्जा सल्टाउनेतिर लागेको सीआईबीको अनुसन्धानमा खुलेको छ । नक्कली कागजपत्र बनाउनेलाई बैंकले कारबाहीको प्रक्रिया अगाडि बढाउनुको सट्टा अनुसन्धानलाई नै प्रभावित बनाउने काम भएको सीआईबीको ठहर छ ।

त्यसैले कामु सीईओ पनि अनुसन्धानको घेरामा रहेका छन् । अहिले किर्ते कसले गरेर ऋण निकाल्यो भन्ने कुरामा मुख्य अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीले सो कर्जा प्रकरणमा यही कात्तिक २३ गते बैंकका कामु सीईओ तिमिल्सिनालाई बोलाएर सोधपुछ गरेको थियो ।

मुख्य योजनाकारलाई किन उन्मुक्ति ?  

सीआईबीले प्रारम्भिक अनुसन्धानमा मुख्य योजनाकारका रूपमा कुसन प्रधानलाई ठह¥याएको छ । तर बिरामी भएको बहानामा प्रधानलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

‘कार्डियोको बिरामी भएका कारण अस्पतालमा छन्’, प्रवक्ता महतोले भने ।

उनी नेपाल फिलिपिन्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्वकार्यकारी सदस्य हुन् । साथै सेञ्चुरी बैंकका पूर्वसञ्चालक समेत हुन् ।
गायक योगेश अमात्यको जग्गाको नक्कली पुर्जा बनाई १९ करोड रुपैयाँ बैंकबाट निकालिएको थियो । उनको बारा विश्रामपुरमा भएको बिरुवाभूमि वनकाली कम्पनीको नामको १२ बिघा जग्गाको नक्कली कागजात बनाएर कुसन प्रधान, एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएका थिए ।

आफ्नो जग्गाको नक्कली पुर्जा बनाई ऋण लिएको जानकारी पाएपछि गायक अमात्यले सीआईबीमा उजुरी दिएपछि सो उजुरीलगत्तै सीआईबीले अनुसन्धान थालेको थियो ।

राष्ट्र बैंकले पनि अनुसन्धान थाल्यो 

बैंकबाट किर्ते कागजात बनाई ऋण प्रवाह भएको खुलेपछि नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान थालेको छ ।
‘स्थलगत निरीक्षणका लागि हाम्रो टिम गइसकेको छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने ।

एक सातामा प्रतिवेदन तयार हुने र त्यसैको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?