भोलि सर्वोच्चको बेन्च बहिस्कार गर्ने नेपाल बारको घोषणा (विज्ञप्तिसहित)

लोकपथ
84
Shares

काठमाडौं । नेपाल बार एसोसियसनले शुक्रबार (भोलि) सर्वोच्च अदालतका सबै बेन्च बहिस्कार गर्ने चेतावनी दिएको छ ।

आज सर्वोच्चमा भएको आन्दोलनको क्रममा कानुन व्यवसायीमाथि धरपकड भएपछि बारले भोलि बेन्च बहिस्कार गर्ने घोषणा गरेको हो ।

बारका महासचिव लीलामणी पौडेलले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएका हुन् ।

‘आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आबद्ध सम्पूर्ण एकाइहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।०७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८।०७।२६ गते विहान ९ः३० बजे नै सम्पूर्ण कानुन व्यवसायीहरुलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौँ’, जारी विज्ञप्तिमा भनिएको छ ।

बिहीबार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा गएका कानुन व्यवसायी र प्रहरीबीच धरपकड हुँदा कानुन व्यवसायीहरु घाइते समेत भएका छन् ।

धरपकडका क्रममा नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्वकेन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराईलगायतका कानुन व्यवसायीहरु घाइते भएको नेपाल बारले जनाएको छ ।

 

प्रेश विज्ञप्ति

नेपाल बार एशोसिएशनले यहि २०७८ कार्तिक १४ गते देखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्ट्राचारको पृष्ठपोषक प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको राजिनामा माग गरि निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरि आएकोमा प्रधान न्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक वल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्व केन्द्रिय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराई लगायतका कानून व्यवसायीहरु घाइते हुनु भएको छ ।

प्रधान न्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिन चाहान्छौँ । आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।०७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्धामा वहस पैरवी नगर्ने, वेञ्च वहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नवस्न र भोलि मिति २०७८।०७।२६ गते विहान ९ः३० वजे नै सम्पूर्ण कानून व्यवसायीहरुलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौँ ।

अधिवक्ता

लीलामणि पौडेल

महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?