नेपाली फिल्मले गुमाएको मौका

काठमाडाैं । सामान्य समयमा हलवालाहरूले बलिउड र हलिउड फिल्मको पक्षपोषण गरे, नेपाली फिल्मको शो घटाइयो, नेपाली फिल्मको टिकट मागेका दर्शकलाई विदेशी फिल्मको टिकट थमाइदिए, समीक्षा गर्दा फिल्म डुबाउने प्रपञ्च गरे भनेर आरोप लगाउँदै रोइलो गर्ने नेपाली निर्देशक/निर्माता कोरोना मत्थर भएर जनजीवन सामान्य हुँदा कुना पसेका छन् ।

हलमा फिल्मको महोल नभएका कारण उनीहरू यतिबेला साइड लागेका छन् । अघिपछिको दशैँमा फिल्म लगाउन भालेजुधाइ गर्ने निर्माता यस पटक माहोल हुँदा पनि शंकाका कारण खालीहात बसे । जब कि निर्माण सम्पन्न भएर प्रदर्शनको लागि ठिक्क भएका ४६ वटा फिल्महरू थिए । सस्तो बजेट र कमसल खालका फिल्म आए, जुन फण्डामा रमाए र आए/नआएको पत्तै भएन ।

‘डाँडाका वर पीपल’, ‘धुम ४’ लगायतका फिल्महरू कहिले लागे कहिले उत्रिए दर्शकले मेलोमेसो नै पाएनन् ।

नेपालमा फिल्मको माहोल बनाउन भन्दै वितरक मनोज राठीले बलिउड फिल्म ‘सूर्यवंशी’ नेपाल ल्याए । फिल्म ल्याउँदा उनको भनाइ थियो, ‘फिल्मको माहोल बनोस् भन्ने एक मात्र उद्देश्य हो मेरो ।’

अहिले आफ्नो उद्देश्य पूरा भएको राठी बताउँछन् । फिल्मले साढे २ करोडभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ ।

‘साढे २ करोड ग्रस कलेक्सन गरिसकेको छ । लागेको ठाउँमा अकुपेन्सी राम्रोे छ । देशभर १०० वटा हलहरूमा लगाएका थियौँ, राम्रो नेपाली फिल्म आयो भने त्यसले पनि धेरै ठूलो व्यापार गर्छ’, राठीले लोकपथसँग भने, ‘राम्रो छ, फिल्म क्षेत्र पुरानो लयमा फर्कियो, अब फिल्महरू चल्छन् ।’

फिल्मको माहोल देखेर बल्ल निर्माताहरू आफ्ना फिल्म लगाउने मुडमा छन् । ‘चपली हाइट ३’ पुस २ गतेबाट प्रदर्शनमा आउँदै छ ।

फिल्मका निर्माता अर्जुनकुमार भन्छन्, ‘अगाडि त लकडाउन नै थियो । कतिबेला लकडाउन हुन्छ थाहा थिएन । पब्लिसिटी ग¥यो ग¥यो फेरि लकडाउन गर्दिन्छ सरकारले । पब्लिसिटी खर्च खेर जान्छ त्यसैले प्रदर्शन रोक्यौँ, अहिले माहोल ठीक छ । कोभिडलाई सबैले पचाइसक्नुभयो अब के गर्ने ?’

फिल्मको माहोल बनेको कुमारको भनाइ थियो । दशैँ तिहारको मौका चुकाउनुभयो नि भन्ने लोकपथको प्रश्नमा कुमारले भने, ‘दशैँमा हामी हलमा थियौँ तर हलमा मान्छे थिएनन्, दशैँको समयमा हामीलाई पब्लिसिटीको समय पनि पुग्दैनथ्यो ।’

फिल्म समीक्षक सामिप्यराज तिमल्सेना ठूला ब्यानरका राम्रा फिल्मले दशैँ तिहारका मौका मिस गरेको बताउँछन् ।

‘विगतमा हिन्दी फिल्ममा दर्शक आए भन्दैमा नेपाली फिल्ममा दर्शक आउँछन् भन्ने ग्यारेन्टी हुन्नथ्यो । हाम्रो फिल्मले जुन किसिमको विश्वास जित्नुपर्ने हो त्यो सीमित ब्यानरहरूमा छ’, तिमल्सेनाले लोकपथसँग भने ।

कबड्डी सिरिज, छक्का पन्जा सिरिज, ‘जात्रै जात्रा’, ‘नाइँ नभन्नु ल’ लगायतका फिल्मले मात्र दर्शक तान्ने ल्याकत राख्छन् । मौका मिस ग¥यो दाबाबका साथ भन्न नसके पनि, कुन फिल्ममा दर्शक आउँछन् कुनमा आउँदैनन् भनेर साधारणतया ठोकुवा गर्न नमिल्ने तिमल्सेना बताउँछन् ।

‘कामै नलाग्ने फिल्महरू पनि दशैँ तिहारको बिदामा हाउसफुल भएको विगत पनि छ । त्यो हिसाबले अलिअलि मौका मिस ग¥यो भन्न मिल्छ । बलिया ब्यानरका राम्रा फिल्मले मिस ग¥यो भन्न मिल्छ । दशैँमा ‘डाडाँको वर पीपल’ लागेको हो नि । तिहारमा पनि धुम ४ लागेको छ, तर, चलेन । हामीले विश्वास जितिसकेका छैनौँ’, उनले थपे ।

२ वर्षको अवधिमा फिल्मी पर्दाबाट टाढा रहेका दर्शकको फिल्म हेर्ने बानीमा पनि परिवर्तन आइसकेको छ । ओटीटी प्लेटफर्म, पाइरेसीलगायतबाट फिल्मको पहुँचमा दर्शक छन् ।

‘डर नै थियो, फिल्म हेर्ने बानीमा परिवर्तन आएको छ । महामारीको थ्रेट पनि हटिसकेको छैन । जतिसुकै राम्रो फिल्म भए पनि दर्शक आउँदैनन कि भन्ने थियो । पाइरेसीको पनि सुविधा छँदै छ । जसले गर्दा दर्शक आउँदैनन् कि भन्ने थियो त्योचाहिँ चिरियो, माहोल बन्यो’, तिमल्सेनाले भने ।

नेपाली निर्माताले दशैँ तिहारको माहोल मिस गरेको हल सञ्चालक तथा वितरक गोपालकाजी कायस्थ बताउँछन् ।

‘दशैँमा राम्रो मौका गुमाएको हो । सो समयमा फिल्म मारामार चल्थ्यो । दशैँको ठूलो मौका छोड्यो । हामीले त चल्छ भनेका हौँ आँट्नै सकेनन्’, उनले लोकपथसँग भने ।

‘सूर्यवंशी भयंकर चलेको छ । लगभग हलहरू हाउसफुल छ । नेपाली फिल्महरू डराइरहेका थिए के होला के होला भन्दै । सबै जना माहोल बनोस् भनेर बसेका छन् । हाम्रोमा यस्तो अवस्थामा फिल्म लगायो भने घरखेत नै जान्छ भन्ने छ । सूर्यवंशी चलेपछि भटाभट डेट हाल्न खोजिरहेको छ । लगानीको ग्यारेन्टी चाहियो भन्दै निर्माताहरू आलटाल गरेर बसे’, उनले थपे ।

प्रदर्शनको संघारमा रहेको ‘म यस्तो गीत गाउँछु’ फिल्म प्रदर्शनमा आयो भने विकास बोर्डबाट ५० लाख हल सञ्चालहरूले पनि केही सहुलियत उपलब्ध गराउने भनिएको थियो । तर फिल्म युनिटले लाग्दै नलाग्ले ३ करोडको बजेट देखाएर अड्को थाप्यो । डेढ करोडसम्मको फिल्म थियो । डबल मूल्य तोकेर निर्माताले फण्डा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?