नेपाल चिनी उत्पादक संघले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन निकासी वा पैठारीका लागि बनाइएको अध्यादेश खारेज भएपछिको अन्यौल फुकाइदिन आग्रह गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा अध्यक्ष शशिकान्त अग्रवालको नेतृत्वमा उपाध्याक्ष राजकुमार अग्रवाल तथा सदस्यहरू शिखर श्रेष्ठ, विरेन्द्र कनौडिया र विमल केडियाले अब चिनी मिल सञ्चालन गर्नका लागि एक महिना मात्रै बाँकी रहेकाले आध्यादेश राखेज भएपछिको अन्यौलता फुकाइदिन आग्रह गरेको हो । यसभन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यो अध्यादेश आएको ६ महिनासम्म संसद्मा पेस नभएकाले स्वतः खारेज भएको थियो ।
अध्यादेश खारेज भएपछि त्यसअनुरुप बनेको कार्यविधि स्वतः खारेज भएको र पुरानो कार्यविधि अनुरुप चिनी निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा कम्तिमा दुई महिना लाग्ने भन्दै अन्यौलता फुकाइदिन गृहमन्त्री खाणलाई आग्रह गरेको टोलीमा सहभागी सदस्य श्रेष्ठले जानकारी दिए ।
टोलीको माग सुनेपछि मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नयाँ कार्यविधि बनाउने विषयमा शुक्रबार सरोकारवाला पक्षसँग मन्त्रालयले छलफल आयोजना गरेको र त्यो छलफलबाट टुंग्याउने जानकारी दिए ।
गृहमन्त्री खाणले अन्यौलता हटाउन तत्काल पहल गर्न प्रवक्ता पोखरेललाई निर्देशन दिए ।
कार्यविधि नहुँदा चिनी बनाउन अत्यावश्यक पर्ने कच्चा पदार्थ ‘सल्फर’ आयात गर्न कठिन हुने टोलीको भनाइ थियो । ‘सल्फर’ भारतबाट ल्याउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया