देउसी भैलो : हराउँदै मौलिकता

यतिबेला फूलैफूलको पर्व भनेर चिनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । बजारमा फूल र फूलसँग सम्बन्धित चहलपहल सुरु भइसकेको छ ।

तिहारलाई रमाइलो पर्वको रुपमा पनि लिने गरिन्छ । हरेक घरमा देउसी भैलो खेल्दै नाचगान गरिने भएकाले यो बालकदेखि वृद्धसम्मका लागि प्रतीक्षाको पर्व हो ।

बालबालिकादेखि वृद्धसम्म, महिला पुरुष सबै मिलेर रमाइलो गर्ने यो पर्व र यसको महिमाको इतिहास धेरै लामो छ ।

तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको पूजालगायत भाइटीका नै हो । तिहारका ५ दिन नै अलग–अलग पूजा गरिने हुँदा सबै दिनको विशेष महत्व छ ।

अझ देउसी भैलोको रमाइलो त धेरै नै छ । लक्ष्मीपूजाको दिन साँझमा घर–घरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ । भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्दछन् । त्यसको भोलिपल्ट भने देउसी खेलिन्छ ।

गोवर्द्धन पूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ ।

तर पछिल्लो समय सहरदेखि गाउँसम्म देउसी भैलोको रौनक हराउँदै गएको बताउँछन् ८५ वर्षीय प्रेमध्वज राई ।

‘हामी सानो हुँदा त देउसीको लागि भनेर एक–दुई महिनाभन्दा पहिलेबाट मादल बजाउन र गीत गाउन अभ्यास गथ्र्यौँ । तिहार सकिनेबित्तिकै अर्को तिहारको दिनगन्ती सुरु हुन्थ्यो तर अहिले कसैलाई वास्ता छैन, बाध्यताले मात्र देउसी खेल्छन्’, उनले भने ।

यस्तै अनुभव छ ७४ वर्षीया हरिमाया बस्नेतको पनि । उनी भन्छिन्, ‘त्यतिबेला सधैँ काम हुने र रमाइलो गर्ने कुनै ठाउँ नहुँदा त्यही चाडपर्वको पर्खाइ हुन्थ्यो । सबै जना मिलेर मादल बजाउने, गाउने, नाच्ने गरिन्थो । टाढाटाढासम्म पनि नाचगान हेर्न गइन्थ्यो । अरु नि आउँथे । तर अहिले समय फेरिएको छ । मनोरञ्जनका लागि सबैका घर–घर र हात–हातमा रेडियो, टेलिभिजन, मोबाइल छन् । त्यसैले देउसीभैलोमा धेरैको रहर घटेको छ ।’

तिहारका अवसरमा खेलिने देउसी–भैलोले नेपाली संस्कृतिमा विशेष महत्व राख्छ । पहिले–पहिले देउसी खेल्दा परम्परागत वेशभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाइन्थ्यो तर हिजोआजको देउसी भैलोमा यस्ता पहिरन देखिंदैनन् । दाजुभाइ र दिदी–बहिनीबीचको मिलनको पर्व रूपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा आदि परम्परागत बाजा बजाई देउसी भैलो खेल्ने परम्परा रहेकोमा आजभोलि हिन्दी तथा अंग्रेजी गीतको बाहुल्यता देखिन थालेको छ ।

देउसी भैलो यसरी सुरु भयो

देउसी र भैलो किन खेलिन्छ भन्ने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथनअनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो ।

आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएका हुन् ।

यसैले देउसीभैलोमा बलिराजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाउने गरिएको हो । धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारको महत्व धेरै नै छ ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ । भैली गाउँदा कतै लेग्रो तानेर भइलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी हो भनेर खेल्ने चलन छ । यस्तै देउसी खेल्दा पनि कतै देउसी रे, कतै देउसीराम त कतै देउसु रे भनेको पनि पाइन्छ । जे भए पनि देउसी र भैलो गाउँदा ठाउँअनुसारका लोकगाथाहरू पनि जोडिने हुँदा भने यसको महत्व अझ बढेको छ ।

विकृति बढ्दै

ठाउँ र समुदायअनुसार तिहारमा खेलिने देउसी र भैलीको आफ्नै महत्व र मान्यता भए पनि हिजोआज यी संस्कृतिमा विकृति भित्रिन थालेका छन् ।

मदिरा सेवन गरी देउसी भैलो खेल्ने तथा समूह–समूहबीच हुने झगडामा समेत वृद्धि हुन थालेको छ । पहिले–पहिले यमपञ्चकको पाँच दिनमध्ये पछिल्ला ३ दिन देउसी भैलो खेलिन्थ्यो तर हिजोआज तिहार सुरु हुनु अगावैदेखि पछिसम्म पनि देउसी भैलो खेल्न थालिएको छ, त्यो पनि संस्कृति संरक्षणको नाउँमा पैसा कुम्ल्याउन । कतिपय संघ–संस्था एवं समूहले त पार्टी प्यालेसमा देउसी भैलोको आयोजना गरेर तिहारको परम्परामाथि चोट पुर्‍याउनेसम्मको गतिविधि समेत गर्ने गरेका छन् ।

तिहारको समयमा गाइने र बजाइने मौलिक गीतहरु हराउन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले अहिले देउसी भैलोमा हिन्दी, अंग्रेजी र नेपाली पनि पप र र्‍याप मात्र गीत बज्नु तिहारको विकृति भएको बताउँछन् संस्कृतिविद् जगमान गुरुङ । आधुनिकतालाई अँगाल्दा पुरानो संस्कृतिलाई छोड्नै पर्ने नभएको उनको बुझाइ छ । हाम्रा पुराना संस्कृति र मान्यतालाई बचाउँदै आधुनिकतालाई अँगाल्न सबैलाई उनले अनुरोध समेत गरे ।

पटाका, भुइँचम्पा पड्काउँदै आधुनिक ड्रमसेटहरुको तालमा रक्सी खाएर होहल्ला गर्ने र यसैलाई देउसी खेलेको भन्नेहरुको जमात पनि समाजमा बढेको छ । यसले नयाँ पुस्तालाई देउसी भैलोको परिभाषा नै गलत तरिकाले परिभाषित गरिदिने चिन्ता बढेको छ ।
खासमा यो देउसी हुँदै होइन । उफ्रिनु र नाचगान गर्नुमात्र देउसी भैलो नभएर यो एउटा संस्कृतिको निरन्तरता र त्यो संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने महान अभियान भएको बताउँछन् समाजशास्त्री नवराज बस्नेत ।

‘लामो समयदेखि चल्दै आएका सामाजिक सद्भावका यस्ता पर्व र संस्कृति हामीले जस्ताको तस्तै भावी पुस्तालाई हस्तान्तरण गर्नु नै हाम्रो कर्तव्य र धर्म हो’, उनले भने ।

धेरै पैसा उठाउनलाई देउसी खेल्ने, जबर्जस्ती पैसा असुल्न, देउसीकै नाममा विभिन्न असुहाउँदिला, उच्छृङ्खल हर्कतहरु गर्नाले समाजमा विकृति भित्रिरहेको छ । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड समेत हुन थालेको छ । जसले धेरै पैसा दिन सक्छ, उसको घरमा मात्र जाने चलन पनि बढ्दो छ ।

त्यसैले संस्कृतिविद्हरु पनि यस विषयलाई लिएर चिन्तित भएको संस्कृतिविद् डा. देवमणि भट्टराईले बताए । उनी भन्छन्, ‘हाम्रो संस्कृति विकृतिमा परिणत नहोस् भन्ने हाम्रो इच्छा हो ।’

केही राम्रा काम

देउसी भैलो रमाइलोका लागि मात्र नभएर कतिपय ठाउँमा राम्रो कामका लागि पनि प्रयोग गरिएको छ । कतिपय ठाउँमा विकृति भए पनि कतिपय समूह र संगठन मिलेर देउसीबाट प्राप्त भएको रकमलाई सामाजिक र कल्याणकारी कामका लागि प्रयोग गर्दै आएका पनि पाइन्छ । यस्ता कामले भने व्यक्ति र समाज दुवैलाई फाइदा हुन्छ ।

देउसी र भैलीलाई यिनीहरुको महत्व झल्किने गरी गाउन सके तिहारको महत्व पहिलेको जति नै हुनेछ । अन्यथा विकृति भित्रिएर आगामी दिनमा अझ समस्या निम्तिने पनि हुन सक्छ । यसर्थ देउसी भैलोलाई भावी सन्ततीले पनि मौलिकता जोगाउन सक्ने गरी मनाउनु अहिलेको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?