मोदी नेपाल आउँदा यी सवालमा वार्ता गर्दैछन् ओली

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबारदेखि नेपालको भ्रमण गर्दैछन् । 

मोदी शुक्रबार बिहारको पटना हुँदै प्रदेश नम्बर २ को राजधानी जनकपुर आइपुग्ने तालिका छ । मोदीले नेपालमा रहँदा जानकारी मन्दीरमा पूजापाठ गर्नुका साथै रामयण सर्किटको घोषणा पनि गर्ने कार्यक्रम छ । यस्तै  जनकपुर अयोध्याबीच सीधा सुरुवात, बाह्रबिघा र काठमाडौंमा नागरिक अभिनन्दनका साथै मुस्ताङको मुक्तिनाथमा पूजाआजा गर्न पनि पुग्नेछन् । उनले काठमाडौंमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । मोदी र समकक्षी ओलीबीचको भेटवार्ताका क्रममा उल्लेखित सवालहरुमा छलफल हुनुका साथै महत्वपूर्ण सम्झौता पनि हुने ठानिएको छ । 

नेपालले उठाउने एजेण्डा के ?

मोदीको भ्रमणमा केपी शर्मा ओली नेतृत्वको सरकारले  विगतका सहमति सम्झौता कार्यान्वयनमा जोड दिने भएको छ ।  यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको  भारत भ्रमणका क्रममा भएका वार्ताका बुँदामा केन्द्रीत रहेर मोदीसँग फेरि  छलफल गर्ने तयारीमा पनि सरकार रहेको छ । यद्यपी सरकारले अहिलेसम्म मोदीको भ्रमणका क्रममा उठाउने एजेण्डाका विषय बाहिर ल्याएको छैन । 
प्रधानमन्त्री कार्यालय निकट स्रोतले दुई देशबीच सम्बन्ध विस्तार, तराईमा देखिएको डुबानको समस्या, विराटनगरको चेकपोस्ट, पेन्सन वितरण कार्यालय र विगतका सहमति सम्झौता कार्यन्वयन गर्ने सन्दर्भमै केन्द्रीत रहेर छलफल गर्ने तयारी भएको जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीले सोहि अनुसारको एजेण्डा तय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको पनि बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ गतेदेखि भएको भारतको तीन दिवसीय राजकीय भ्रमणका क्रममा  भारतसँग जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने महत्वपूर्ण समझदारी भएको थियो । रक्सौल–काठमाण्डौं जोड्ने रेलमार्ग विस्तारमा सहमति भएपनि दुबै देशबीच हस्ताक्षर हुन बाँकी थियो ।  परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मोदी नेपाल भ्रमणका आएकै दिन काठमाडौंमा तीनवटै सहमति भएका योजनामा हस्ताक्षर हुने दाबी गरेका छन् । 

भ्रमणलाई ऐतिहासिक र सफल बनाउन तथा दुई देशबीचको सम्बन्धलाई उचाईमा र्पुयाउन केही ठोस सम्झदारीहरुमा हस्ताक्षर हुने सरकारको भनाई छ । 

यसैबीच परराष्ट्रपति प्रदीप कुमार ज्ञवालीले अघिल्ला सम्झौताहरुको कार्यान्वयनमा नेपालको प्राथमिकता रहने बताएका छन्। उनले जलमार्ग, रेलमार्गदेखि कृषिमा साझेदारीसम्मका सबै विषयमा छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?