आज धनतेरस : यसरी मनाइँदै छ

काठमाडौं। हिन्दुहरूको दोस्रो महान् चाड तिहार नेपालीको घरदैलोमा आइसकेको छ ।
हिन्दु धर्मअनुसार कात्तिक महिनालाई भगवान् विष्णुको महिना मानिन्छ । यो महिना सबैभन्दा शुभ र फलदायक महिनाका रूपमा हिन्दुहरूले मान्ने गरेका छन् ।

यस महिनामा हिन्दु धर्मावलम्बीहरूले विभिन्न दान धर्म आदि गर्ने चलन छ । यस महिनामा भगवान् विष्णु निद्राबाट जाग्ने परम्परागत मान्यता रही आएको छ । भगवान् विष्णु निद्राबाट जागेपछि विभिन्न प्रकारका मांगलिक कार्य सुरु गर्ने मान्यता छ । तिहारको सुरुवात नै धनतेरसबाट हुन्छ ।

कागतिहारको दिन धनतेरस पर्व मनाइन्छ । तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ ।सुरुको दिन कागतिहारकै दिन धनतेरस पर्व मनाउँदै तिहारको सुरुवात गरिन्छ । यस दिन विभिन्न पूजा सामग्री, फलफूल, चाँदी, तामा, पित्तल तथा माटोलगायतका सामग्री राखी धुमधामसँग माता लक्ष्मी र कुबेरको पूजा गरिन्छ ।

औँशीका दिन माता लक्ष्मीको पूजा गर्दै माता लक्ष्मीलाई आ–आफ्नो घरमा बास गर्न आह्वान गरिन्छ । मानिसहरूले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका लागि धन त्रयोदशीका दिन आफ्ना घरबाहिर यमराजलाई बाटो छेक्न दियो बाल्ने चलन छ ।

आर्य संस्कृतिअनुसार स्वास्थ्यलाई धन सम्पत्तिभन्दा महत्वपूर्ण वस्तुका रूपमा लिइन्छ । त्यसैले धनधान्य र सम्मृद्धिकी देवी माता लक्ष्मीको पूजा तथा उपासनासँगै यमराजको पनि उपासना र पूजा समेत गरिन्छ ।

चाँदीको कारोबार उच्च 

धनतेरसमा अधिकांशले सुनचाँदी, तामालगायतका पूजासम्बन्धी सामग्री खरिद गर्ने भएकाले यस अवधिमा चाँदीको कारोबार उल्लेख्य रूपमा हुने गर्दछ । भूकम्पअघि पनि २ हजारदेखि २ हजार ५ सय केजीको हाराहारीमा चाँदीको कारोबार हुने गथ्र्याे । अहिले पनि चाँदीको कारोबारमा भने खासै असर नपरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसपालि धनतेरसमा २ हजार ५ सयको हाराहारीमा चाँदीको कारोबार हुने आकलन गरिएको महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।

कोरोना संक्रमणका कारण सुन व्यवसायमा जस्तो निराशाजनक कारोबार चाँदीमा नभएको संस्थापक अध्यक्ष शाक्यको भनाइ छ । पछिल्लो समय सुन महँगो भएकाले अधिकांश ग्राहकले चाँदी खरिद गर्नेगरेको उनको भनाइ छ ।

धनतेरसमा के–के किन्ने ?

धनतेरसका दिनमा चाँदीका सिक्का, पाला, गणेश लक्ष्मीको मूर्ति, भाँडाकुँडा, चाँदी, तामा, फलाम तथा माटोका भाँडाकुँडा, घण्ट, धनयन्त्र, श्रीयन्त्रलगायत खरिद गर्ने गरिन्छ । यी सामग्री किन्न घरमा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । साथै यस्ता सामान खरिद गर्दा लक्ष्मी प्रसन्न हुने तथा धनवर्षा गरिदिने मान्यता रही आएको छ ।

साथै यसो गर्दा सम्पूर्ण परिवारको सुख, शान्ति र स्वास्थ्य हुने विश्वास गरिन्छ । यसो गर्दा माता लक्ष्मी तथा कुवेर प्रसन्न हुने र धनवर्षा हुने जनविश्वास रहँदै आएको छ । पछिल्लो समय कम्प्युटर, मोबाइल, क्यामेरा मोटर, वाहनलगायतका विलासिताका वस्तुहरू पनि यसै दिनमा किन्ने गरिन्छ ।

आयातित संस्कृति 

विगतका वर्षहरूमा नेपालमा धनतेरस पर्व मनाइँदैनथ्यो । यो पर्व खासगरी माडवारी समुदायले मनाउने पर्वको रूपमा चिनिन्छ । यो भारतीयहरूले मनाउने पर्व हो । नेपालमा भारतीय नागरिकको पनि बसोबास छ । नेपाल र भारतबीच खुला सीमा भएका कारण पनि सीमा क्षेत्रका नेपालीहरूले यो पर्व मनाउने गर्छन् ।

त्यस्तै, कयौँ वर्षदेखि माडवारी समुदायहरू नेपालका काठमाडौँ, पोखरा, विराटनगर, नारायणगढलगायतका विभिन्न ठूला सहरहरूमा व्यवसाय गर्दै आएका छन् । उनीहरूबाट आएको यो संस्कृति अहिले नेपालभरि फैलिँदै छ । उनीहरूले मनाउने गरेको यो पर्व अहिले नेपालीहरू (मुख्य गरेर सहरमा बस्नेहरू)ले पनि मनाउँदै आएका छन् ।

भारत र नेपालको धर्म र संस्कृति मिल्ने भएकाले पनि आजभोलि नेपालीहरूले पनि धनतेरस पर्व मनाउने गरेका हुन् ।

यस्तो छ, धनतेरससम्बन्धी रोचक कथा

धनतेरसलाई धन्वन्तरीको नामले पनि चिनिने पौराणिक कथामा उल्लेख छ । यस कथामा देवता र असुरहरूद्वारा गरिएको समुद्र मन्थनका क्रममा धन्वन्तरीको उत्पत्ति भएको मान्यता छ ।

उनी समुन्द्रबाट आफ्नो हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरी’ पनि हो भनेर उल्लेख गरिएको छ । उनलाई भगवान् विष्णुको अवतार मानिन्छ ।

त्यस्तै, धनतेरसका दिन सन्ध्याकालमा घरको मूलढोकामा यमराजलाई खुशी पार्न दियो बाल्ने चलन छ । यमराजलाई खुशी बनाउँदै कसैको घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नदिन अनुरोध गर्दै पूजा गर्ने चलन रही आएको छ ।

धनतेरसको साइत 

धनतेरस आयातित संस्कृति हो । यो हाम्रो छिमेकी राष्ट्र भारतबाट आएको हो । नेपालमा यसको अभ्यास खासै गरिएको छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि पछिल्लो समय यो तिथिमा धनतेरस पर्छ भन्ने मात्रै समावेश गर्ने गरेको छ । धनतेरसको साइत कतिबेला हो भन्ने नभएको समितिका पूर्वसदस्य ज्यो. प्रध्यापक सूर्यप्रसाद ढुंगेलले बताए ।

यस दिन सुन, चाँदी, तामा, पित्तललगायतका भाँडाकुँडा किन्ने र लक्ष्मीपूजाका दिन पूजा गर्ने चलन नेपालमा भएकाले यसको खासै साइत हेर्नु नपर्ने ढुंगेलले बताए । सामान्य तथा लक्ष्मीको पूजा साँझपख गर्ने भएकाले धनतेरसको पूजा गर्नेले पनि साँझतिर गर्दा राम्रो हुने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?