मोदीको अभिनन्दनका लागि चालीस वटा बस र पाँच हजार नगद

-एसपी यादव

सर्लाही । यहि बैशाख २८ गते शुक्रवार प्रदेश नं.२ को राजधानी एवम् धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा छिमेकी राष्ट्र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको हुने आगमनलाई भव्य बनाउनका निम्ति सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको प्रमुख आतिथ्यमा बुधबार जिल्ला समन्वय समितीको हलमा एक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले समाननीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको हुने आगमनलाई भव्य बनाउन हामी सबै लाग्नुपर्ने धारणा राखे । उनले भने, 'हामीसँग समयको अभाव छ, तसर्थ अहिले नै परिचालन समिति बनाएर जिम्मेवारी बाँडफाँड गरी अगाडि बढन सुझाए । सर्लाहीबाट उल्लेख्य उपस्थिति कसरी हुन सक्छ? अहिले देखि नै कसरत थाल्नुपर्ने धारणा व्यक्त गरे ।

मन्तव्यकै क्रममा सर्लाही निर्वाचन क्षेत्र नं. ३ `क´ का प्रदेश सभाका सांसद सञ्जय यादवले बैशाख २८ गते प्रदेश नं.२ को राजधानी एवम् धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा छिमेकी राष्ट्र भारतका समाननीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको हुने आगमनलाई भव्य बनाउनका निम्ति प्रदेश सरकारले सर्लाही जिल्लाको व्यवस्थापकीय जिम्मेवारी आफुलाई दिएको जानकारी गराए । सर्लाहीका जनतालाई जनकपुर जान र आउनका लागि ४० वटा बस उपलब्ध गराइएको छ । साथै खाजाका लागि प्रति बस ५ हजारका दरले नगद समेत दिने गरिएको उनले बताए ।

कार्यक्रम सर्लाहीका प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका ससदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा सदस्यहरु, २० वटै स्थानीय तहका प्रमुखहरु तथा उप प्रमुखहरु, नागरिक समाज, मानव अधिकारवादी, विभिन्न संघ संस्थाका प्रमुखहरु, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?