आधुनिक मसालाले विस्थापन गर्दै परम्परागत भाइमसला

काठमाडौं। पछिल्ला केही वर्षयता आयातित भाइमसलाले बजार लिन थालेको छ ।नेपालीहरूको शोखिन बानीबेहोराका कारण भाइमसलाको प्रयोग बढ्न थालेको छ । बजारमा जता हे¥यो त्यतै आयातित मसलाको बिगबिगी छ । पछिल्लो समय आम उपभोक्ताले आयातित (विदेशी) भाइमसला मात्रै किन्ने गरेका छन् । परम्परागत भाइमसलालाई बढ्दो आधुनिकताले चुनौती दिएको छ ।

यसरी बढ्यो प्रयोग 

नेवारी समुदायमा दाजुभाइको पूजा गरेपछि विभिन्न मिठाइ तथा विभिन्न काजु, बदामसहितको पोका दिने चलन छ । नेवारी समुदायले ल्वाङ, सुकमेल, काजु, बदाम, चकलेट मिस्री, मखना, छोकडा, किसमिस, ओखर, खुर्पानी, दालचिनी, सुपारी, अन्जिरलगायतका विभिन्न १६ थरीका वस्तुहरू मिलाएर दाजुभाइलाई दिने चलन छ ।

पहिले–पहिले यी मसला छुट्टाछुट्टै किन्ने चलन थियो । तर पछिल्लो समय व्यापारीहरूले यसलाई व्यापारीकरण गर्दै सबै मसला समेटेर विभिन्न साइजमा एउटै प्याकेटमा उपलब्ध गराए । जसले गर्दा उपभोक्तालाई पनि खरिद गर्न सजिलो भयो ।

जब व्यापारीहरूले नेवारी परम्परा र संस्कृतिलाई पच्छ्याउँदै व्यापारीकरण गरे, त्यसपछि बजारमा भाइमसलाको प्रयोग उच्च रूपले बढ्यो । पेस्ता, काजु, छोकडालगायत नेपालमा उत्पादन नहुने भएकाले सर्वसाधारणको पहुँचमा हुँदैनथ्यो । त्यसैले प्रयोग पनि कम हुने गथ्र्याे । तर पछिल्लो समय भएको व्यवसायीकरण कारण अहिले भाइमसलाको प्रयोग उच्च रूपले भएको छ । विभिन्न देशबाट प्रशस्त मात्रामा भाइमसला आउने गरेको छ ।

परम्परागत मसला विस्थापित हुँदै

पछिल्लो समय आयातित मसलाको प्रयोग बढेसँगै पराम्परागत भाइमसला विस्थापित हुन थालेका छन् । गाउँदेखि सहरसम्म प्रयोग हुँदै आएका सेल, फिनी, फलफूल, बिमिरो, कटुस, अर्सा, अनरासा, चिनीरोटीलगायतका परम्परागत भाइमसला विस्थापित हुने चरणमा पुगेका छन् ।

पछिल्लो समय आधुनिकतासँगै आयातित संस्कृतिको अनुसरण गरेकाले आयातित मसलाले परम्परागत भाइमसला विस्थापित गर्न लागेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए । सरकार र जनता कसैमा पनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने इच्छा नभएकाले हरेक वस्तु विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।‘सरकार र जनतामा स्वेदेशी उत्पादनलाई प्रवद्र्धन गरौँ भन्ने भावना नै छैन’, तुलाधरले भने ।

व्यापार नहँदा तनावमा व्यापारी 

नेपालमा कोरोना संक्रमण सुरु भएसँगै सम्पूर्ण व्यापार व्यवसाय पूर्ण रूपमा ठप्प भए । गत वर्षको तिहारमा कोरोनाकै कारण भाइमसला बिक्री भएन । यसपालि पनि राम्रो कारोबार हुनेमा आंशका छ व्यपारीहरूलाई ।

विगत पाँच वर्षदेखि असनमा भाइमसला बेच्दै आएका काभ्रेका सन्तोष गौतम यसपालि ग्राहक कुरिरहेका छन् । अघिल्ला वर्षहरूमा यतिबेला खचाखच हुने असन बजार अहिले खुला र सुनसान छ । गत वर्ष नभएको कारोबार यसपालि हुन्छ कि भन्ने आस पनि छ । तर कोरोनाका कारण धेरै व्यापार व्यवसाय खस्किएकाले त्रासमा पनि छन् व्यापारीहरू ।‘अहिले पनि व्यापार हुन्न कि भनेर टेन्सन भएको छ’, गौतमले भने ।

त्यस्तै, असनमै विगत ४० वर्षदेखि पसल गर्दै आएकी मोटीमाया डंगोल पनि व्यपार नहुने हो कि भन्ने तनावमा छिन् । विगतका वर्षहरूमा भ्याइनभ्याइ हुने व्यापार अहिले ग्राहक कुरेर बस्नुपरेको डंगोल बताउँछिन् । काभ्रेका गौतम र काठमाडौंकी डंगोल मात्रै होइनन् अहिले व्यापार नभएर यस्ता हजारौँ खुद्रा तथा ठूला व्यापारीहरू तनावमा छन् । कोरोनाका कारण कयौँ खुद्रा व्यापारी पलायन समेत भएका छन् ।

यस्तो छ प्रतिकेजी मूल्य
सुकमेल– ४२००, ल्वाङ– १८०० देखि १९०० सम्म, पिस्ता– १७०० देखि १८०० सम्म, अन्जिर– १६०० देखि १८०० सम्म, काजु– १५०० देखि १६०० सम्म, आल्मोन्ड– १३००, सुपारी– १००० देखि १२०० सम्म, अलैँची– १००० देखि १२०० सम्म, मखना– १२००, खुर्पानी– १०००, किसमिस– ५०० देखि ६०० सम्म, ओखर– ५०० देखि ५५०, दालचिीनी– ५५०, नरिवल– ४७० देखि ५००, छोकडा– २४० देखि २६० सम्म र मिश्री २२० रुपैयाँ बजार मूल्य तोकिएको छ ।

बढ्दो आयातले व्यापारघाटा बढाउँदै 

पछिल्लो समय आयातित भाइमसलाको प्रयोग बढेपछि आयात पनि उही रूपमा हुनेगरेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने भाइमसलाको आयातमा डरलाग्दो हिसाबले वृद्धि भइरहेको छ । गत तीन महिनाको अवधिमा ४ अर्ब ४ करोड ८ लाख रुपैयाँबराबरको भाइमसला नेपाल भित्रिएको दखिन्छ । यस अवधिमा १ करोड ५८ लाख ५३ हजार केजी मसला नेपाल भित्रिएको हो ।
तिहारका लागि मात्रै साढे ८१ करोड रुपैयाँभन्दा बढी मूल्यको भाइमसला आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार असोज महिनामा मात्रै ८१ करोड ६९ लाख रुपैयाँबराबरको ३४ लाख १३ हजार केजी भाइमसला आयात भएको देखिएको छ ।

भाइमसला अत्याश्यक वस्तुमा नपर्ने भए पनि अर्बाैँ रुपैयाँबराबरको आयात हुन थालेपछि व्यापारघाटामा यसले पनि टेवा पु¥यायो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार व्यपारघाटा ७०.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो ।

तिहारको लागि प्रयोग हुने केही मसलाबाहेक अरु नेपालमा उत्पादन हुँदैनन् । त्यसैले विदेशका विभिन्न स्थानहरूबाट आयात गरिन्छ । भारत, चीन, कतार, थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया भियतनाम, अफगानिस्तानलगायतका मुलुकबाट आयात गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?