काठमाडौं–एकता प्रक्रियाको निकटमा पुगेको भनिएको बेला एकाएक एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको सम्बन्धमा खटपट देखिएको छ । खटपटको कारण के भन्ने स्पष्ट नभएपनि राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेकाहरुले एकता प्रक्रियामा रहेको विवाद भएको ठानेका छन् ।
एमाले र माओवादी केन्द्रबीच एकताका सन्दर्भमा जनयुद्ध, भागबण्डा, चुनाव चिन्ह झण्डा, पार्टीको मार्गदर्शक सिद्धान्तलगायतका विषयमा विवाद रहेको ठानिएको छ । एकताका प्रक्रियाका क्रममा धेरै प्रयास गर्दा पनि दुई नेताबीच आ–आफ्नो अडानमा अड्डी लिँदा खटपट देखिन आएको एक एमाले नेता बताउँछन् ।
सुरुमा एकता संयोजन समितिको बैठकबाट दुई पार्टीबीचको एकताबारे छलफल हुँदै आएकोमा चैतको अन्तिम सातायता ओली र प्रचण्डबीचमात्रै छलफल हुँदै आएको छ । ओली र प्रचण्डबीच हुँदै आएको एक्लाएक्लै वार्ताबाट कुनै प्रगति हुन नसकेपछि समस्या उत्पन्न भएको नेताहरु बताउँछन् ।
एकता प्रक्रियामा कुनै प्रगति नआइरहँदा ओलीले एकाएक प्रचण्डलाई लक्षित गरी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि दुई पार्टी बृत्तमा हलचल मच्चिएको छ । ओलीले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा आफू विकास र समृद्धिको एजेण्डामा हिँडिरहेको भन्दै आफ्नो दुनो सझ्याउन समीकरण फेरबदलमा बानी परेकालाई यसमा अरुचि भएको हुनसक्ने भन्दै प्रचण्डलाई संकेत गरेका थिए ।
उनले भनेका थिए–हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।
उनले यो लेखेसँगै प्रचण्डसँग उनको सम्बन्धमा दरार आएको संकेत मिल्छ ।
यही विषय प्रचण्डले आजको पार्टी संसदीय दलको बैठकमा समेत उठाएपछि राजनीतिक बृत्त थप तरंगित भएको छ ।
प्रचण्डले ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि मात्रै जनाएरनन् त्यो आफूप्रति नै लक्षित भएको बताएका थिए ।
सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे गम्भीर छलफल समेत गर्ने बताएका छन् ।
बैठकमा सहभागि एक नेताका अनुसार ओलीको उक्त ट्वीटले निकट भविष्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए ।
त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।
यतिमात्रै नभई प्रचण्डले पनि सोमबारको पार्टी निकट एक कार्यक्रमममा एकताका लागि तीन सर्त अघि सारेका थिए ।
काठमाडौमा माओवादीको भातृृ संगठन वाइसीएलको केन्द्रीय स्कुल विभागले गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा उनले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डालाई छोडेर पार्टी एकता हुन नसक्ने थिए ।
‘ज जसले जे जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले माओवादी एकता हुन सक्दैन, हामी यी तीन विषयमा कम्परमाइज गर्न सक्दैनौ’ प्रचण्डको भनाई थियो,‘परिवर्तनका एजेण्डामा एमाले नेताहरु सहमत हुन जरुरी छ ।’
उनले माओवादी आन्दोलन र एजेण्डालाई अपमान गर्न खोजिए देश दुर्घटनामा पर्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा पनि जोड दिएका थिए ।
पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी विवाद देखिएपछि अब एकता प्रक्रियाले कुन रुप लिनेछ भन्नेमा धेरैको चासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया