सरकारको बजार अनुगमन : अधिकांशमा भेटिन्छ कैफियत

काठमाडौँ । अधिकांश फर्म तथा व्यवसायीले मापदण्ड नै पूरा नगरेको पाइएको छ ।

कमजोर कानुनी व्यवस्था र सरकारको फितलो अनुगमनका कारण अधिकांश फर्म तथा व्यवसायले मापदण्ड पूरा नगरेको पाइएको हो । सरकारले निरन्तर रूपमा प्रभावकारी ढंगले बजार अनुगमन गर्दैन । त्यसैले अधिकांश फर्म तथा व्यवसायीहरूले मापदण्ड नै पूरा नगरी व्यवसाय गरिरहेका छन् ।

सरकारले चाडबाडलक्षित अनुगमन गर्दै आएको छ । अन्य समयमा अनुगमन सुस्ताउँछ ।  यही चाडबाडलक्षित अनुगमनका क्रममा पनि बजारमा धेरै कैफियत देखिने गरेको छ । चाडबाडबाहेक अन्य समयमा पनि अनुगमन प्रभावकारी बनाउने हो भने उपभोक्ता मारमा पर्नु पर्दैनथ्यो । तर सरकारले चाडबाडमा मात्रै अनुगमनलाई लक्षित गर्नेगरेको छ ।

सकारले गर्नेगरेको चाडबाडलक्षित बजार अनुगमनका क्रममा अधिकांश उद्योग, फर्म, तथा पसलहरूमा कैफियत भेटिने गरेको छ ।‘अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको छ’, उद्योग आपूर्ति तथा वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईँले भने ।

ठूलो कैफियत भेटिएकोलाई जरिवाना गर्नेगरेको र सानोतिनो कैफियत भएकालाई खबरदारी तथा सुधारात्मक कारबाही छाड्ने गरेको प्रवक्ता सेढाईँले बताए । सरकारले बजार अनुगमनका साथै कारबाहीको दायरा समेत बढाइएको उनले बताए ।

कति परे कारबाहीमा ?

विभागका अनुगमन शाखा अधिकृत धनेश्वर पौडेलका अनुसार असोज महिनामा मात्रै विभागले ५४३ वटा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये २ सय ६६ वटा फर्मलाई २४ लाख ८३ हजार रुपैयाँ जरिवाना गरेको शाखा अधिकृत पौडेलले बताए ।

विभागले दशैँलगत्तै उपत्यकाका विभिन्न दुध डेरीहरूमा पनि अनुगमन थालेको छ । साथै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई काराबाही गर्न समेत सिफारिस गरेको उनले बताए

महानगरको तिहारलक्षित अनुगमन

यता काठमाडौँ महानगरपालिकाले पनि तिहारलक्षित अनुगमन थालेको छ । महानगरको अनुगमन टोलीले चावहिलका २ वटा मिठाइ पसललाई जरिवानासहित कारबाही गरेको छ । अनुगमनका क्रममा मिठाइ पसलहरूले भान्छाको सरसफाइ नगरेको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरेको, कोभिडको स्वास्थ्य मापदण्ड पूरा नगरेकोे, अनुमति नलिई मिठाइजन्य खानेकुरा प्याकेजिङ गरेको लगायतका कैफियत भेटिएको महानगरले जनाएको छ ।

त्यस्तै, कतिपय पसलहरूले पसल दर्ता नगरेको, नवीकरण नै नगरेको, गुणस्तरसम्बन्धी मापदण्ड पूरा नगरेको लगायत कैफियत देखिएको छ ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

बजारमा गुणस्तरहीन खाद्यवस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा चरम लापरबाही भएको छ । सरकारको प्रभावकारी अनुगमन र कडा कानुनी कारबाही नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको छ । बजार अनुगमनका क्रममा अधिकांश गुणस्तरहीन खाद्यवस्तु फेला परेको उपभोक्ताकर्मी माधव तिम्सिनाले बताए ।

अघिल्लो वर्ष लकडाउनताका ल्याएका खाद्यवस्तु, जो म्याद गुज्रिएका छन् । त्यस्ता वस्तुहरू बिक्री गरेर आम उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको फेला परेको उनले बताए ।
एकातिर बजारमा गुणस्तरहीन वस्तुको बिगबिगी अर्कातिर महँगी वृद्धिले उपभोक्ता आहत भएका छन् ।

दशैँताका दैनिक उपभोग्य वस्तु तरकारी, फलफूल, दाल, चामल, गेडागुडी, खानेतेल, लत्ता कपडालगायतको मूल्य वृद्धि उच्च रूपले भएको थियो । खुद्रा पसलेहरूले पसलैपिच्छे फरक–फरक मूल्य लिएर उपभोक्ताको ढाड सेक्ने काम गरे । हरियो तरकारीमा लगभग दोब्बरले मूल्य वृद्धि भयो । जसले गर्दा उपभोक्तालाई मूल्य वृद्धिको भार उठाउनै धौधौ भयो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भए पनि तथा मूल्य वृद्धिले ढाड सेके पनि सम्बन्धित निकाय भने अझै गम्भीर बन्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?