नेताका कुरा, किन हुँदैनन् पूरा ?

  • भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासन आउँछ : कांग्रेस
  • नेपाललाई स्वीजरल्याण्ड बनाउँछौँ : पुष्पकमल दाहाल (प्रचण्ड)
  • नेपालमा पानीजहाज र रेल कुदाउँछौँ : केपी शर्मा ओली
  • नेपाललाई सिंगापुर बनाउँछौँ : डा. बाबुराम भट्टराई
  • १० वर्षमा चीनलाई उछिन्छौँ : वामदेव गौतम

प्रजातन्त्र पुनर्बहालीपछि २०४८ सालमा सत्ता आरोहण गर्दादेखि नै कांग्रेसले गरिबी उन्मुलन, सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने बताउँदै आएको हो । प्रजातन्त्र प्राप्तिपछि धेरै पटक कांग्रेस सत्तामा पुगेको छ । तर आम जनतालाई दिएको त्यो आश्वाशन पूरा हुने दिन कहिल्यै आएन ।

अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा बहालवाला प्रधानमन्त्री छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन् भने गौतम राष्ट्रियसभाका सदस्य हुन् । यी तीनै जना नेताका यी अभिव्यक्तिहरू ‘चिनारी’ हुन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकार बने नेपालमा कुपोषण र भोकमरी निर्मूल हुने भन्दै आश्वासन बाँड्दै आएको वर्षौँ भयो । देउवाले अहिले पाँचौँ पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका छन् । तर देउवा आफैँ अझै पनि जनता भोकभोकै मर्न बाध्य भए भनेर भाषण दिँदै हिँडेका छन् । नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने देउवाको लक्ष्य कहाँ पुग्यो ?

माओवादी केन्द्रका अध्यक्ष दाहालले स्वीजरल्याण्डको सपना बाँडेको दशक भयो । यसबीचमा उनी दुई पटक प्रधानमन्त्री पनि बने । अहिले उनले एमाले अध्यक्ष ओलीका कारण नेपाललाई स्वीजरल्याण्ड बनाउने सपना साकार नभएको बताउन थालेका छन् ।

भारतले नाकाबन्दी लगाएकै समयमा एमाले अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री बने । विनाशकारी भूकम्प र नाकाबन्दीका कारण आक्रान्त जनतालाई ओलीले विकास निर्माणका थुप्रै सपना बाँडे । तीमध्ये घर-घरमा पाइपबाट ग्यास ल्याउने, रेल र पानीजहाज चलाउने सपना चर्चित बन्यो । ओलीले यी चर्चित सपना बाँडेको ५ वर्ष भयो । यो बीचमा ओली फेरि दोस्रो पटक प्रधानमन्त्री बने । तर ती केही पनि पूरा भएनन् ।

नेपाललाई सिंगापुर बनाउने उद्घोष गरेका पूर्वप्रधानमन्त्री भट्टराईले अझै पनि बारम्बार आफ्नो भनाइ दोहोर्‍याउँदै आएका छन् ।
देशकै नेतृत्व गरेका प्रमुख दलका प्रमुख नेताहरू । उनीहरूमा परिपक्वता छैन भन्न पनि मिल्दैन, न त उनीहरूमा अनुभवकै कमी छ । न त यस्ता सस्ता कुराले उनीहरूलाई दीर्घकालीन लाभ नै मिल्छ । तर पनि उनीहरू एकपछि अर्को पपुलिस्ट एजेण्डा फ्याँकिरहेका हुन्छन् । आखिर किन ?

जनता नै आश्वासनको पछि लागे : विश्लेषक

कार्यकर्ता र जनताको न्यून चेतनास्तरको फाइदा उठाउन नेताहरूले यस्तो अभिव्यक्ति दिनेगरेको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ । विश्लेषक डा. विष्णु दाहालको टिप्पणी छ, ‘नेताहरूले आश्वासन देखाउँछन् भन्दा पनि आश्वासन सुन्न नपाएर जनता छट्पटाउँछन् ।’
आश्वासन बाँड्न सक्ने नेताकै चर्चा बढी हुने भएकाले एकपछि अर्को आश्वासन बाँड्ने काम भइरहेको दाहालको भनाइ छ ।

जनता नै आश्वासनमा लोभिने भएपछि नेताहरूले पनि कामलाई भन्दा पनि नयाँ-नयाँ आश्वासन बाँड्नमा तल्लीन देखिएको उनको बुझाइ छ ।पछिल्लो समय कम्युनिस्ट नेताहरूमा यस्तो प्रवृत्ति हाबी देखिएको उनको तर्क छ, ‘अधिकांश कम्युनिस्ट नेताहरू पपुलिस्ट एजेण्डा बाँडेर मत प्रभावित पार्नमा अग्रसर देखिएका छन ।’

अर्का विश्लेषक मुमाराम खनाल पनि नागरिकको स्तर अनुसार नेताहरूले अभिव्यक्ति दिने गरेको बताउँछन् ।‘नेताले कुन आधारमा अभिव्यक्ति दिँदै छन् भनेर नागरिकले हेर्न जरुरी छ, तर नेपाली समाजमा त्यो हुन सकेको छैन’, उनले भने ।

पछिल्लो समय पार्टीका कार्यकर्ताहरूका कारण पनि नेताहरूमा यस्तो मनोवृत्ति हाबी भएको भन्दै उनी भन्छन्, ‘सस्तो र आधारहीन कुरालाई पनि पार्टीका एउटा ठूलो जमातले यस्तो गरी प्रचारप्रसार गरि दिन्छन् कि त्यो कुरा आधारहीन होइन सत्य नै हो भन्नेजस्तो बनाइदिन्छन् ।’
नेताले जीवनभर ढाँटेर राजनीति गर्दा पनि पत्याउने वर्ग भएकाले यस्तो अभिव्यक्तिले प्रश्रय पाइरहेको छ ।

अझ कतिपय अभिव्यक्ति यति धेरै लज्जास्पद हुन्छन् कि त्यो तर्कले उनीहरू स्वयंलाई गिज्याइरहेको हुन्छ । ‘हिजो आफैँले विरोध गरेको कुरालाई आज समर्थन जनाइरहेको हुन्छन्, हिजो समर्थन जनाएको कुरालाई आज विरोध जनाइरहेका हुन्छन्’ खनालको टिप्पणी छ ।

नेताहरूको यस्तो अभिव्यक्ति जनताप्रतिको हेपाहा प्रवृत्ति पनि हो । हामीले जे गरे पनि त्यसको प्रतिवाद गर्ने कुनै विकल्प जननतासामु छैन भन्ने मनोविज्ञान नेताहरूमा हाबी देखिन्छ । तर यस्तो झुटा आश्वासनले स्वयम्लाई क्षति पुग्ने विश्लेषक खनाल बताउँछन् ।

‘यस्तो झुटा आश्वासनले ठूलो व्यक्तित्व निर्माण हुन्छ भन्ने उनीहरूलाई लाग्छ तर उल्टो उसको व्यक्तित्वमा असाधारण स्खलन आएको पत्तो पाउँदैनन्’, खनाल भन्छन् । नेताहरूले सपना देख्नु राम्रो कुरा भए पनि सपना पूरा गर्नतिर अग्रसर नदेखिनु गलत भएको आम विश्लेषण छ ।

नेताको विश्वसनीयतामाथि नै प्रश्न : समाजशास्त्री

आकर्षक नारा र आश्वासन परम्परागत चुनावी एजेण्डा बन्नेगरेको समाजशास्त्रीहरूको तर्क छ । यस्तो अभिव्यक्तिहरूले नेताहरूको विश्वसनीयता र प्रणालीमाथि नै प्रश्न उठ्ने बताउँछन्, समाजशास्त्री डा. मृगेन्द्र कार्की ।

‘यसखाले अभिव्यक्ति र आश्वासनले नेताको विश्वसनीयता र प्रणालीमाथि नै प्रश्न उठ्छ, उनी भन्छन्, ‘यसले समग्र राजनीति, नेता र प्रणालीमै असर पुर्‍याउँछ ।’

राजनीतिलाई धर्म मान्ने आम समुदायका कारण पनि नेताहरूमा यस्तो मनोवृत्ति देखिएको डा. कार्कीको भनाइ छ । दलको काम हेरेर भोट हाल्ने प्रवृत्तिको विकास हुनसके यस्ता आश्वासनको बाढी नआउने उनको बुझाइ छ ।

‘यहाँ एक जनाले आजन्म एउटै पार्टीलाई भोट हाल्ने चलन छ, यसले गर्दा पनि नेताहरूलाई जे पनि बोल्न प्रोत्साहन मिलेको हो’, डा. कार्कीले भने ।

यस्तो अग्रगामी छलाङ हुनेखालका अभिव्यक्ति दिने प्रवृत्ति अहिले मात्रै होइन पहिलेदेखि नै थियो । राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा यस्ता आश्वासनका थुप्रै पोकाहरू बाँडिए तर जनताको हातमा लाग्यो शून्य ।

विभेदको जरो उखेल्ने भन्दै १७ हजारको ज्यान जाने गरी जनयुद्ध भयो तर अझै पनि मन्दिर पसेको निहुँमा व्यक्ति हत्या भइरहेको छ ।

गरिबीमाथि भुलभुलैया : मनोविद्

एकपछि अर्को नेताले एकपछि अर्को आश्वासन बाँड्नुलाई अशिक्षित र गरिब जनतामाथि भावनात्मक ‘ब्ल्याकमेल’ भएको बताउँछन् मनोविद््हरू । अभाव र अशिक्षित समाज, आश्वासनमा चाँडै विश्वास गर्छन् ।

नेताहरूले यही भावनामाथि राजनीति गरिरहेको बताउँछन्, मनोविद् गोपाल ढकाल । ‘अभाव र अशिक्षित समाजलाई आश देखाएर मत जित्ने रणनीतिका रूपमा यस्ता अभिव्यक्तिहरू आउने गर्छन्’, उनले भने ।

मनोविद् ढकाल सपना देख्नु गलत नभएको तर सपनाकै लागि मात्रै सपना देख्नुचाहिँ स्वयंका लागि पनि गलत हुने बताउँछन् ।
‘नेताले सपना देख्नुपर्छ, सयौं वर्षको सपना देख्नुपनि स्वभाविक हो तर त्यो पूरा गर्नका लागि अग्रसर पनि हुनुपछ’, उनले भने । चुनावी नाराका लागि बुनेका सपना केवल तुच्छ राजनीति भएको उनको टिप्पणी छ ।

पछिल्लो समय नेताहरूप्रति जनताको आवेश र घृणा यसकै उपज भएको मनोविद् ढकालको तर्क छ । ‘अहिले नेताहरूमाथि विभिन्न किसिमबाट प्रहार हुनु यसकै उपज हो’, उनले भने ।

कुराभन्दा काम धेरै गर्नुपर्नेमा काम भन्दा कुरा धेरै गरेकै कारण नेताप्रति जनतामा वितृष्णा बढेकोे उनको बुझाइ छ । यस्ता सस्ता र चिल्ला आश्वासनहरू जनताका लागि मात्रै नभएर नेता स्वयंका लागि पनि घातक हुने उनी बताउँछन् । ‘यस्तो अभिव्यक्तिले झट्ट हेर्दा नेताले फाइदा लिएजस्तो लागे पनि दीर्घकालीन रूपमा उनी स्वयंलाई घातक साबित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?