बाढी पहिरोबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी शुक्रबार साँझसम्म यस प्रदेशमा ३४ जनाको मृत्यु भएको हो ।

विपद्बाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । जिल्लामा १६ जनाको मृत्यु भएको छ । बझाङमा नौ, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । बझाङमा २० र बैतडी, कैलाली, एक–एक बेपत्ता रहेका हुन् । यस्तै विपदमा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक–एक जना घाइते भएका हुन् ।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन् । पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । बाढी, पहिराकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौँको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ । अहिले यहा“को जनजीवन सामान्य बन्दै गएको छ ।

एकद्धार प्रणालीबाट राहात वितरण गरिने

सुदूरपश्चिम प्रदेश सरकारले एकद्धार प्रणालीबाट राहात सामाग्री वितरण गर्न निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको संयोजकत्वमा वर्षाले पुर्याएको क्षतिमा राहत उपलब्ध गराउने सम्बन्धमा गैरसरकारी संस्था तथा अन्य सरोकारावालाहरुसंग मन्त्रालयमा बसेका बैठकले सो निर्णय गरेको हो ।

‘संघ संस्थाहरुबाट प्रदान गर्न सकिने राहात सामाग्री उपलब्ध गराउदा मन्त्रालयलाई सम्पर्क गर्नुपर्ने र प्रदान गर्दा नजिकको सरकारसँग समन्वय गर्नुपर्ने छ’ सो निर्णयमा भनिएको छ । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा मानिवय तथा भौतिक क्षति भएको छ । अहिले पनि प्रदेशमा २२ जना बेपत्ता रहेका छन भने हजारौ घरपरिवार विस्थापित रहेका छन्।

विस्थापित तथा प्रभावित परिवारलाई राहात पुर्याउने उद्देश्यले विभिन्न संघ/संस्था तथा राजनीतिक दलका कार्यकर्ताहरुले आफु खुशी राहत वितरण गरिरहेका छन । ‘आफुखुशी राहात वितरण गर्दा विभेद बढ्ने देखिएको छ’ मन्त्री जोशीले भनिन् –‘सबै वर्गलाई न्यायोचित होस र सरकार, संघ÷संस्था पीडितका पक्षमा काम गरिरहेको देखाउन पनि राहात वितरणमा सबैले सरकारसंग समन्वय गर्नुपर्छ ।’ उनका अनुसार अहिले केहीले चार वटा त्रिपाल पाएर घरभित्रै थन्काउने र कसैले नपाउने गरेको गुनासो आइरहेको छ ।
मन्त्री जोशीले भनिन् –‘सरकार आफ्नै ढंगले र संघ÷संस्था आफ्नै ढंगले अघि बढ्दा एक अर्कातर्फ आलोचना बढेको छ ।’ उनले सरकार पीडितका पक्षमा गम्भिर भएर लागिरहेको बताइन् ।

बैठकमा सहभागि सरोकारवालाहरुले प्रदेशमा वेमौसमी अविरल वर्षाले मानविय तथा भौतिक क्षति पुर्याएको गुनासो गरेका थिए ।
फाया नेपालका धनपति ढुंगेलले भने –‘बाढी पहिरोले प्रदेशका बासिन्दा निकै कष्टकरमा छन । अब सरकारले राहात वितरण र पुर्नस्थापनामा जोड दिनुपर्छ ।’ उनले सरकारले समयमै चलाएको कदमले धेरै मानविय क्षति हुनबाट सुरक्षित भएको बताए ।

याक नेपालका प्रदिप कुमार चौधरीले वर्षाका कारण धानमा अत्याधिक क्षति पुर्याएको बताए । उनले भने –‘अहिले दशैं सकिएको छ । तिहार नजिकिएकोले प्रदेशका बासिन्दालाई खाद्य अभावको महसुस हुन नदिन प्रदेश सरकारले पीडितहरुलाई पर्याप्त खाद्यान्न उपलब्ध गराउनुपर्ने छ ।’

दलित महिला अधिकार मञ्चकी संयोजक सावित्रा घिमिरेले अविरल वर्षाबाट निम्तिएको बाढी पहिरोका कारण ज्येष्ठ नागरिक, महिला तथा बालबालिका बढी प्रभावित भएको बताइन । उनले भनिन्–‘उनीहरुका लागि पनि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको छ ।’
सरोकारवाला सबै संघ÷संस्थाका प्रतिनिधीहरुले सरकार र संघ/संस्था पीडितको राहातका लागि संगसंगै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

शनिबारदेखि पूर्ण राहात प्याकेज वितरण गर्दै प्रदेश सरकार

बाढी पहिरोमा परी बिस्तापित भएका परिवारलाई सुदूरपश्चिम सरकारले शनिबारदेखि पूर्ण राहात प्याकेज वितरण गर्न लागेको छ ।
प्रदेशका पहाडी सात जिल्ला सडक मार्ग सञ्चालन हुन नसकेपछि शनिबारदेखि हेलिकोप्टरमार्फत पूर्ण राहात प्याकेज बोकेर वितरण गर्न लागेको हो ।

शनिबार प्रदेश सरकारले बैतडी, डोटी र बझाङ जिल्लामा सो राहात सामाग्री वितरण गर्न लागेको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री पूर्णा जोशीले बताइन् ।

उनले भनिन्– ‘जिल्लामा पुगेर बढी समस्यामा परेको बर्गलाई राहत उपलब्ध गराउने छौं ।’ उनका अनुसार कुन ठाउ“मा के आवश्यक छ तथ्याकं प्रदेश सरकारले संकलन गरिसकेको छ ।

प्रदेशका बाढी तथा पहिरो पीडित प्रभावित घरधुरीलाई राहात, उद्दार तथा खोजी गर्नका लागि प्रदेश सरकारले विपद कोषमा २५ करोड रकम जम्मा गर्ने निर्णय गरिसकेको थियो ।

शुक्रबार सरोकारवालाहरुसंग छलफल गर्दै मन्त्री जोशीले भनिन –‘संघ/संस्थाहरुले कसले के सहयोग गर्न सक्छन जानकारी पाऊ । अहिले हामीले कोषबाटै राहात सामाग्री खरिद गरि वितरण गर्न लागेका छौं ।’ मन्त्री जोशीले बाढी तथा पहिरो पीडितलाई राहात उपलब्ध गराउन इच्छुक नागरिकलाई आग्रह गरेका छन । उनले भनिन –‘रकम सहयोग गर्न चाहानेले कोषमा जम्मा गर्नु होला र खाद्यान्न तथा अन्य सामाग्री सहयोग गर्न चाहनेले मन्त्रालयमा सम्पर्क गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?