सप्तरीमा बाढीले डेढसय घर डुबानमा

RSS
126
Shares

राजविराज । दुई-तीन दिन लगातारको अविरल वर्षाका कारण जिल्लाको विभिन्न खोलमा आएको बाढीले १५० घर डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करिब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या भएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

उनले भने,“तिलाठी कोइलाडी–५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घर डुवानमा परेका छन् । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा पनि पानी पसेको छ ।”

सोही गाउँपालिकाकै– ४ कोइलाडीस्थित भीमा नदीको बाढीले समेत पुलको दक्षिणतर्फको विङवालमा क्षति पुगेको छ । सो वडाको चट्टी टोल, तेलियारीमा समेत जिता नदीको बाढी पसेको जानकारी दिँदै बाढीका कारण यहाँ भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न समस्या उत्पन्न भएको बताए ।

तिलाठी कोइलाडी –८ तोपास्थित उत्तरतिरको टोलमा समेत पानी पसेर घर डुवान भएको बताइएको छ । यस्तै हनुमानगर कङ्कालिनी र राजविराज नगरपालिका क्षेत्र समेत डुबानमा परेको पाइएको छ । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी बस्तीमा बाढी पस्दा बस्ती नै जलमग्न भएका छन्।

हनुमाननगर कङ्कालिनी–३ पोर्ताहास्थित महुली खोलाको बाढीले महुली पुलदेखि पूर्व करिब २० मिटर बाँध भत्काएर बाढी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ । सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न वडामा बाढी र वर्षाको पानीले डुबान गरेको छ ।

राजविराजस्थित सरकारी वकील कार्यालय, जिल्ला अदालतसहितका कार्यालयमा पानी पसेको छ भने सिरहा रोड, खर्साल टोलसहितका ठाउँमा बाढीको भेल बगिरहेको छ । निरन्तरको वर्षाले आएको बाढीले सप्तरीमा आठ चौपाया बगाएको छ । प्रहरीका अनुसार सप्तकोशी नगरपालिका– ९ स्थित कोसी टप्पु वन्यजन्तु आरक्षमा गाईबस्तु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ती चौपाया बगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?