दुहवी ग्रिडमा पानी जम्दा सात जिल्लाको विद्युत् सेवा अवरुद्ध

लोकपथ
1.1k
Shares

सुनसरी । लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिए । पानी जमेकाले विद्युत् आउने सम्भावना तत्काल कम रहेको र बिहीबारसम्ममा आउने उनले जानकारी दिए ।

ग्रीडमा पानी पसेका कारणले विद्युत् अवरुद्ध भएको र पानी पस्नेक्रम जारी रहेकाले विद्युत् सञ्चालनमा समस्या भएको दुहबीमा रहेको प्राधिकरण दुहबी ग्रीडका प्रमुख राजेश रेग्मीले जानकारी दिए।

बास्ता र टेग्रा खोलाको पानी पसेकाले सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, खोटाङ र झापासहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको रेग्मीले जानकारी दिए । दुहबीको १३२ केभी प्रसारण लाइन नै डुबानमा परेकाले विद्युत् पूर्ण अवरुद्ध भएको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?