पहिरोको कारण बेँसीशहर–चामे सडक अवरुद्ध

RSS
0
Shares

लमजुङ । लमजुङ मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ ।

सोमबारदेखि परेको अविरल वर्षाले आज यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए।

उनले भने, “नियाँलो भन्ने ठाउँमा सडक नै बगाएको छ । खोत्रोमा सडक माथिबाट आएका पहिराले अवरुद्ध बनाएको छ भने दाना क्युमासमेत सडक बगाएको छ ।” खरखरे भिर, रामबजार, घोप्टेभिरलगायत स्थानमा सानासाना पहिरा खसिरहेका छन् । विभिन्न ठाउँमा पहिराले अवरुद्ध बनाएकाले कुन ठाउँमा कति क्षति बनाएको भनेर सबै स्थानमा पुग्न नसकेको उनको भनाइ छ ।

पानी निरन्तर परिरहेकाले अवरुद्ध सडक खुलाउन अप्ठयारो भएको छ । सडक अवरुद्ध हुँदा सवारी आवागमनमा बाधा पुगेको छ भने आन्तरिक तथा बाह्य पर्यटक समेत अलपत्र परेका छन् । यसअघि असार १ गते आएको बाढीपहिराले दशैँअघि मात्रै सवारीसाधन सञ्चालनमा आएको थियो । सवारीसाधन सञ्चालनमा आएको हप्ता १० दिनमै पुन यस सडक अवरुद्ध हुँदा यात्रुहरु बढी मर्कामा परेका छन् । यस सडकमा वर्षेनी बर्खायाम र वर्षा भएका बेलामा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?