बजारमा तरलता संकट चुलिँदै : किन ल्याउँदैनन् बैंकले डलरमा ऋण ?

काठमाडौं ।पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानी योग्य रकम) अभाव चुलिँदै गएपनि बैंकहरुले भने डलरमा ऋण ल्याउन सकेका छैनन् ।

प्रक्रिया लामो र झण्झटिलो भएको भन्दै बैंकहरुले डलरमा ऋण ल्याउन नसकेका हुन् । पटक –पटक प्रणालीमा तरलता देखिएपछि तरलताको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई डलरमा विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । तर राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउन बाटो खोले पनि बैंकहरुले भने प्रशस्त मात्रामा लगानीका लागि बाह्य स्रोतबाट ऋण ल्याउन सकेका छैनन् ।

किन आएन बाह्य ऋण ? 

बजारमा तरलताको अभाव भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई डलरमा ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको सो व्यवस्था अनुसार केही वाणिज्य बैंक,विकास बैंक तथा लघुवित्त कम्पनीहरुले समेत डलरमा ऋण त भित्र्याए । तर प्रणालीमा दवाव परेका बेला भने बैंकहरुले प्रशस्त मात्रामा तत्काल ऋण ल्याउन सकेनन् ।

डलरमा ऋण ल्याउँदा विभिन्न प्रक्रियागत झण्झट हुने,लामो समय लाग्ने तथा ब्याज पनि महँगो पर्ने भएकाले बैंकहरु सकेसम्म विदेशबाट ऋण ल्याउन खासै चासो राख्दैनन् । सकेसम्म आन्तरिक स्रोतबाटै लगानी जुटाउन चाहान्छन्,बैंकहरु । ‘विदेशबाट ऋण ल्याउन त्यति सहज छैन ।’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अनिल शर्माले भने ।

ऋण ल्याउने प्रक्रिया लामो हुने,प्रक्रिया झण्झटिलो हुने भएकाले पनि चाहेको बेलामा तत्काल ऋण ल्याउन संभव नभएको उनको भनाई छ । साथै विदेशबाट डलरमा ल्याउने ऋणको ब्याज पनि तुलनात्मक रुपमा यहाँको भन्दा महँगो पर्छ । ९ प्रतिशतको हाराहारीको व्याजदरमा ल्याएको ऋण लगानी गर्दा अझै महँगो पर्र्नेे भएकाले बैंकर्सले त्यसतर्फ चासो देखाउने गर्दैनन् ।

अहिले बजारमा तरलता संकटका कारण बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा व्याजदर वृद्धि गरेका छन् । अहिले संचालनमा रहेका कुल २७ वटा वाणिज्य बैंकमध्ये १९ वटा बैंक तथा केही विकास बैंक र वित्त कम्पनीहरुले धमाधम व्याजदर वृद्धि गरेर निक्षेप खोसाखोस गरेका छन् ।

बैंकहरुले दिर्घकालीन लगानीका लागि स्रोत जुटाउन नसक्दा बजारमा तरलताको संकट चुलिँदै गएको हो । तर बैंकहरुले भने आन्तरिक निक्षेप संकलनमा मात्र जोड दिँदा बजारमा तरलताको संकट झनै चुलिँदै गएको छ ।

कति आयो डलरमा ऋण ?

राष्ट्र बैंकले डलरमा ऋण ल्याउन पाउने व्यवस्था गरेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुकले ऋण ल्याएका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हालसम्म २४ अर्ब रुपैँया भित्रिएको छ ।

 

व्याजदर ,हेजिङ लगायतका कारणले विदेशी मुलुकहरुले हाम्रो देशका बैंक तथा वित्तीय संस्थाहरुलाई नपत्याउँदा बैंकहरुले सहजै ऋण ल्याउन सकेका छैनन् । ‘व्याजदर,हेजिङ लगायतका कारणले गर्दा बैंकले रिक्स लिंदैनन्’राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने ।

यीनै कारणले डलरमा आउने ऋण नबढेको उनले स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?