तहसनहस खेलकुद क्षेत्र : साँढे ३ वर्षमा ५ मन्त्री, उपलब्धि शून्य

काठमाडौं । नेपालमा २०७४ को आम निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँगको वाम गठबन्धनपछि झण्डै दुई तिहाई बहुमत सहितको बहुमतको सरकार बन्यो र २०७४ साल फागुन ३ गते ओली प्रधानमन्त्रीमा नियुक्त भए ।

‘समृद्ध नेपाल सुखि नेपाली ’को नारासहित अघि बढेको सरकार पार्टीभित्रकै आन्तरिक कलहका कारण ४० महिनामा ढल्यो । गत असार २९ मा ओली सरकार ढलेपछि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार छ । २०७४ सालदेखी अहिलेसम्म आइपुग्दा युवा तथा खेलकुद मन्त्रालयमा ५ मन्त्री फेरिएका छन् ।

५ जना मन्त्री फेरिए पनि खेल जगतका समस्या र गर्नुपर्ने कामहरु ज्यूँका त्यूँ छन् । मन्त्रीहरुकेही समय मन्त्री पदमा बसे, रमाए, तर खेल क्षेत्रमा भने केही उल्लेखनिय काम भने हुन सकेन । मन्त्री भएकाहरुले पूर्व मन्त्रीको ‘ट्याग’ त लगाए तर आफू मन्त्री हुँदा यो परिवर्तन वा काम गरेँ भन्ने ल्याकत राख्दैनन् ।

विगत साँढे ३ वर्षदेखी खेलकुद क्षेत्र दिशाहीन छ । जति जना मन्त्री फेरिएपनि खेल क्षेत्रको विकासमा कसैको ध्यान जान सकेन । खेल क्षेत्र बुझेको योग्य र दक्ष व्यक्ति मन्त्री नबन्दा खेलकुदको विकास हुन नसकेको विज्ञहरु बताउँछन् ।

राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र जस्तै बनाएर लथालिङग बनाइएको खेलक्षेत्र अब कसरी उकास्ने भन्ने कुरा सोच्ने बेला आइसकेको उनीहरुको भनाई छ ।

साढे ३ वर्षमा को को भए मन्त्री ?

जगतबहादुर विश्वकर्मा :

२०७४ को आम निर्वाचनपछि जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी आफ्नो कार्यकालमा खासै सक्रिय देखिएनन् ।

उनको कार्यकालमा नेपालमै १३ औं दक्षिण एशियाली खेलकुदप्रतियोगिता (साग) सम्पन्न भएको थियो । तर खेलकुद मन्त्री विश्वकर्मा भएपनि प्रतियोगिता आयोजना र सफलताको श्रेय भने सदस्य सचिव रमेशकुमार सिलवालले पाएका थिए । विश्वकर्माले २०४६ को खेलकुद ऐनलाई प्रतिस्थापन गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बनाएर कार्यान्वयनमा ल्याए । जुन स्वागत योग्य छ । तर तत्कालिन नेकपाभित्रको किचलोका कारण उनको मन्त्री पद फुस्कियो ।

दावा लामा : 

तत्कालिन माओवादी नेता दावा लामाले माओवादी परित्यग गरी केपी ओलीलाई साथ दिएपछि उनले मन्त्री पद पाएका थिए । मन्त्रीभए लगत्तै लामाले खेलाडीको भविष्य सुनिश्चित गर्न दीर्घकालिन योजना ल्याउँने प्रतिवद्धता जनाएका थिए । करिब ५ महिना मन्त्री बनेका दावाले मन्त्रीको नम्बर प्लेट भएको चिल्लो गाडी मात्रै चढेर आफूलाई असफल मन्त्री भन्ने सावित गरे । उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठक एक पटक पनि राख्न सकेनन् ।

ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि लामाले मन्त्रीपद पाएका थिए । तर सर्वाेच्च अदालतले गैर सांसदलाई मन्त्री बनाएको भन्ने रिटमा सुनुवाई गर्दै तत्कालिन ७ मन्त्रीको नियुक्ति बदर गरेको थियो । लामा पनि त्यसमा परेका थिए । त्योसँगै ओलीलाई साथ दिएर पाएको लामाको मन्त्री पद पनि चट् भएको थियो ।

एकवाल मिया : 

तत्कालीन नेकपाको विवाद चुलिँदै गर्दा तत्कालिन प्रधानमन्त्री ओलीले सरकारमा आफू टिक्न जनता समाजवादी पार्टी जसपा लाई सरकारमा समावेश गरेका थिए । जसपाको महन्थ ठाकुर पक्षले ओलीको सरकार टिकाउन समर्थन गरेपछि जसपाबाट एकवाल मियाँ खेलकुद मन्त्रीमा नियुक्त भए । तर उनी १८ दिनका लागि मात्रै मन्त्री भए ।

मन्त्री नियुक्त भएको १८ दिनमा उनले के उल्लेखनीय काम गर्नु ? उनले १८ दिन मन्त्री हुँदा सबैको बधाई पनि राम्ररी लिन पाएनन् । सर्वाेच्च अदालतले संसद विगठन गर्दै मन्त्री परिषद् विस्तार गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै मियाँ सहित तत्कालीन २० मन्त्री पदमुक्त भएका थिए ।

कृष्णगोपाल श्रेष्ठ : 

कृष्णगोपाल श्रेष्ठ तिनै मन्त्री हुन् जसले खेलकुद मन्त्रीको जिम्मेवारीमात्र पाएनन् । उनले एकैपटक ५ वटा मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

सर्वाेच्ले अदालतले २० जना मनत्रीलाई पदमुक्त गरिदिएपछि तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको थियो । आफ्नै मन्त्रालयमा कुनै उल्लेखनीय काम गर्न नसकेका श्रेष्ठको काधमा खेलकुद लगायत ५ वटा मन्त्रालयको जिम्मेवारी परेपछि त उनले कुनै कामै देखाउन सकेनन् ।

५ वटा मन्त्रालय सम्हालेका श्रेष्ठले राष्ट्रिय खेलकूद परिषदको बोर्ड बैठकको आह्वान भने गरेका थिए । बोर्ड बैठकको आह्वान गरेका श्रेष्ठ भने आफै बैठकमा सहभागी हुन पाएनन् । बैठक बस्नु एक दिन अघि नै सर्वाेच्चले दोस्रो पटक संसद विगठन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णयलाई असंवैधानिक ठहर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्‍यो । सर्वाेच्चको आदेशपछि ओली प्रधानमन्त्री पदबाट पदमुक्त भए । उनीसँगै मन्त्रिपरिषद्का सबै सदस्य स्वतः पदभमुक्त भए ।

महेश्वर गहतराज : 

सर्वाेच्चको परमादेशबाट गत असार २९ मा शेर बहादुर देउवा प्रधानमन्त्री बने । देउवा पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्री बने । तर पाँच दलको समर्थनबाट बनेको सरकारमा कुन मन्त्रालय कसलाई दिने भन्ने भागबन्डा र पार्टीभित्रकै आन्तरिक कारण प्रधानमन्त्री देउवाले झण्डै ३ महिनासम्म सरकारलाई पूर्णतादिन सकेका थिएनन् ।


गत असोज २२ गते सरकारले पूर्णता पाएसँगै माओवादी केन्द्रका महेश्वर गहतराजले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए । गहतराजले आफ्नो जिम्मेवारीमा कतिको निष्ठा देखाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?