बैंकमा फेरी ब्याजदर द्वन्द्व : आक्रोश पोख्दै ऋणी

कार्तिक लागेसँगै बैंकहरु ब्याजदर वृद्धिमा तँछाड मछाड गर्न थालेका छन् ।

बैंकहरुले कार्तिक १ गते देखि नै लागु हुने गरी धमाधम नयाँ ब्याजदर बढाएका हुन् । केही समय यता बैंकिङ प्रणालीमा तरलता(लगानी योग्य रकम) अभाव भएपछि बैंकहरुले धमाधम ब्याजदर वृद्धि गरेका हुन् । गत आइतवार नेपाल बैंकर्स संघको कार्यसमिति बेठक समेत बसेको थियो ।

सो बैठकमा बैंकहरुले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न ब्याजदर बढाउने भन्ने विषयमा छलफल भएको थियो । ‘ तरलताको समस्या भएकाले संयमित भएर लगानी गरौँ भन्ने कुरा भएको हो । अरु कुनै अन्डरस्ट्यानिङ भएको होइन ’ संघका अध्यक्ष भुवन दाहालले लोकपथसँग भने । बैंकले आवश्यकता अनुसार ब्याजदर बढाएकन उनले बताए ।

पछिल्लो समय ऋणको अत्याधिक माग भएका कारण डिपोजिट आकर्षित गर्न बैंकहरुले धमाधम ब्याजदर बढाएको संघको भनाई छ । माग उच्च भएकाले संयमित भएर ऋण प्रवाह गर्नुको विकल्प छैन’ उनले भने । त्यसले गर्दा व्याजदरमा पनि त्यति चाप नपर्ने दाहालको तर्क छ । तत्काल तरलताको जोहो गर्न बैंकहरुले ऋणपत्र निष्काशन गर्ने,डलरमा ऋण ल्याउन सम्भव छैन ।

यसका लागि लामो प्रक्रिया हुने भएका कारण तत्कालका लागि स्थानीय बचतलाई आकर्षित गर्नुको विकल्पै नभएको नभएको बैंकर्सहरु बताउँछन् । बैंकहरुले छोटो समयको फण्डलाई दिर्घकालिन लगानीका रुपमा प्रयोग गरेका छन् । त्यसैले बजारमा समस्या आइरहेको छ । ‘सर्ट टर्म फण्डले लङ टर्म लगानी गर्ने भन्ने संसारमा कँही न कँही अलिअलि मिक्सम्याच भइहाल्छ,कति छ भन्ने कुरा मात्रै हो ।’ अध्यक्ष दाहालले भने ।

पछिल्लो समय ऋणको अत्याधिक माग भएको र सोही अनुपातमा निक्षेप संकलन नभएकाले समस्या आएको उनको तर्क छ ।
बजारमा तरलता अभाव भएसँगै बैंकहरुले धमाधम दोहोरो अंकमा ब्याजदर बढाएका छन् । बैंकहरुले धमाधम मुद्धति निक्षेपको ब्याजदर वृद्धि गरेका हुन् ।

कार्तिक लागेसँगै नबिल,प्राइम, सिभिल, कृषि विकास बैंक ,एनसिसि, नेपाल बंगलादेश बैंक,एनआईसी, सिद्धार्थ, लक्ष्मी, कुमारी बैंक,हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय बाणिज्य बैंक, एनएमबी बैंक, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू ,सेञ्चुरी बैंक, नेपाल एसबिआई बैंक र सिटिजन बैंक लगायतका १९ वाणिज्य बैंकहरुले व्याजदर बढाएका छन् । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुर्‍याएका छन् ।

एनआइसी एसिया बैंकले सबैभन्दा बढी ब्याजदर बढाएको छ । सो बैंकले कात्तिक महिनामा एक वर्षे मुद्दति निक्षेपमा ११.१० प्रतिशत नयाँ ब्याजदर घोषणा गरेको छ । बैंकले असोजमा सो मुद्धति निक्षेपमा ८.६० प्रतिशत ब्याजदर दिएको थियो । बैंकले एक महिनामै मुद्दति निक्षेपको ब्याजदर २.५ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

एनआइसी एसिया बैंकले बैंकर्सं संघको अनौपचारिक सहमतिलाई समेत लत्याएको छ । विगतमा पनि एनआइसी एसिया बैंकले ब्याजदर संवन्धी संघको निर्णय नमान्दा कारवाही समेत भोग्नु परेको थियो । यसपाली पनि बैंकहरुले बैंकर्स संघको सहमति लत्याउँदै ब्याजदर वृद्धि गरेका हुन् ।

त्यस्तै, लक्ष्मी बैंकले पनि मुद्धति निक्षेपमा ११.०५ प्रतिशत ब्याजदर पु¥याएको छ । त्यस्तै,बचतमा ६.०५ देखि ६.२५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । बैंकले गत असोजमा मुद्धति निक्षेपमा ८.५ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यस्तै,हिमालयन बैंकले पनि ब्याजदर दोहोरो पु¥याएको छ । हिमालयनले मुद्धति बचतको ब्याजदर १०.५० प्रतिशत पु¥याएको छ । त्यस्तै,बचतमा ६.७७ देखि ७.६७ प्रतिशतसम्म नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्धति बचतमा ८.५० प्रतिशत र बचतमा ४.१५ देखि ६.१५ ब्याजदर दिएकोे थियो । त्यस्तै,एनसीसी बैंकले पनि ब्याजदर १० प्रतिशत भन्दा माथि लगेको छ । असोजमा ९.२६ प्रतिशत ब्याजदर थियो ।

व्यवसायी आक्रोशित

पछिल्लो समय ब्याजदर वृद्धि हुँदा आम ऋणी मारमा परेका छन् । कार्तिक लागेसँगै अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका कारण ऋणीहरु अक्रोशित बनेका छन् । बैंकले ब्याजदर बढाएर आयातलाई बढवा दिनुका साथै बजारमा महँगी बढाएको समेत उद्योगी व्यवसायीले आरोप लगाएका छन् ।

‘बैंकले इन्ल्फेसनको रेट भन्दा बढी व्याज दिनु भनेको उपत्पादन लागत बढाउनु हो । यसले आयातलाई पनि बढवा दिन्छ’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भने ।

उत्पादन लागत बढ्नु र आयात वृद्धि हुनु भनेकै उपभोक्तालाई भार पर्नु हो भन्दै यस विषयमा व्यवसायी गम्भीर भएको उनको भनाई छ । बजारमा खाने तेल,विभिन्न कच्चा पदार्थ,दैनिक उपभोग्य वस्तु लगायतकाको मूल्य बढिरहेका बेला बैंकको ब्याजदर वृद्धिले उपभोक्ताले थेग्न नसक्ने गरी महँगी बढ्ने उपाध्यक्ष श्रेष्ठको तर्क छ ।

सरकार,नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायले ब्याजदरमा सन्तुलन ल्याउनुपर्ने उनले बताए । ‘व्यापार व्यवसाय शिथिल बनेका बेला बैंकले ब्याजदर वृद्धि गरेको विषयमा हाम्रो विरोध छ ।’ उनले भने । यस विषयमा महासंघको बैंकिङ कमिटीमा समेत छलफल गर्ने तयारी भइरहेको श्रेष्ठले बताए ।

४४ अर्ब अधिक तरलता

बजारमा तरलता अभाव भएसँगै राष्ट्र बैंकले पटक –पटक तरलता व्यवस्थापनका लागि विभिन्न औजारमार्फत तरलता प्रवाह गरिरहेको छ । बजारमा तरलताको हाहाकार भइरहेका बेला राष्ट्र बैंकले भने वास्तविक रुपमा तरलता अभाव नभएको जनाएको छ । अहिले प्रणालीमा ४४ अर्ब रुपैयाँ अधिक तरलता छ ।

राष्ट्र बैंकका अनुसार छोटो समयको लगानीलाई लामो समयमा परिणत गर्दा अहिले मुख्य समस्या देखिएको हो । राष्ट्र बैंकले ६ सय अर्व बराबरको ओभरनाइट रिपो,१सय अर्ब बरारबको रिपो तथा १सय अर्वकै हारारारीमा एफएलएफ पनि जारी गरिसकेको छ । तर पनि बजारमा तरलता सहज भएको छैन ।

आखिर किन आयो त यस्तो समस्या ? ‘बैंकले लिक्युडिटी मिसम्याच गरे । त्यसैले यस्तो समस्या देखिएको हो ।’ राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले लोकपथसँग भने ।

तरलताको समस्या आउन नदिन बैंकहरुले कुशलता पूर्वक तरल सम्पत्तिको उचित व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । बैंकहरुले १ सय अर्बको हाराहारीमा एसएलएफ प्रयोग गर्नु भनेकै छोटो अवधिको फण्डलाई लामो अवधिका लागि प्रयोग गरेका कारण समस्या निम्तिएर यस्तो भएको हो ।

‘सर्ट टम फण्डिङबाट लङ टर्म इन्भेष्टमेन्ट गरे, त्यसैले यस्तो समस्या आएको हो’ सहप्रवक्ता पोखरेलले भने ।
राष्ट्र बैंकले लामो अवधीका लागि तरलता प्रवाह नगर्ने भएकाले बैंकले संयमपूर्वक तरलता सम्पत्तिको व्यवस्थापन  गर्नुपर्नेमा जोड दिएको छ ।  ।

राष्ट्र बैंकले व्याजदरमा हस्तक्षेप गर्न सक्दैन । तर स्प्रेडका माध्यमबाट बैंकलाई अंकुश लगाउन सक्ने भएका कारण स्प्रेडमा कडाई गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक एक्लैले ब्याजदर सन्तुलनमा ल्याउन सक्दैन । त्यसका लागि बैंकहरु संयम हुनुका साथै सरकारले पनि खर्च बढाउनुपर्नेमा सहप्रवक्ता पोखरेलको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?